
१९ जेठ, काठमाडौं । नेपाल उद्योग परिसंघले भारतीय र बंगलादेशी पर्यटकलाई लक्षित गरी ‘समर टुरिजम क्याम्पेन’ सुरु गरेको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले क्याम्पेन सुरु भएको घोषणा गरेका हुन् ।
कोभिड–१९ महामारी पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत विस्तारै बाहिर निस्कन थालेकोले उनीहरुलाई नेपालमा आकर्षित गर्न यो अभियान सञ्चालन गरिएको उनले बताए ।
हाल भारत एवं बंगलादेशमा निकै गर्मी छ । गर्मी मौसममा उनीहरु बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने उनको विश्वास छ ।
यो अभियानले भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष राजबहादुर शाहले भारत र बंगलादेशको उच्च गर्मीबाट शीतलता खोजिरहेका भारतीय र बंगलादेशी पर्यटकका लागि नेपालको मौसम अनुकूल रहेकाले यो अभियानले उनीहरुलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे ।
परिसंघका महानिर्देशक दीपकराज जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रवर्द्धन गरिने बताए ।
परिसंघको पर्यटन समिति सभापति पम्फा धमलाले नजिकको छिमेकीबाट यो अभियान सञ्चालन गर्न लागिएको जानकारी गराइन् ।
प्रतिक्रिया 4