+
+
Shares

मध्यपूर्व तनावको असर : मुख्य सिजनमै पोखरामा घटे पर्यटक

कोभिड महामारीपछि विस्तारै लयमा फर्किंदै गएको नेपालको पर्यटन व्यवसाय मध्यपूर्वमा बढ्दो तनावले प्रभावित हुने हो कि भन्ने चिन्तामा व्यवसायीहरु छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १० गते ९:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मध्यपूर्वमा जारी तनावका कारण युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबियामा समस्या भएपछि पोखरामा पर्यटक आगमन घटेको छ।
  • पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले मध्यपूर्वको तनावले नेपालको पर्यटन क्षेत्र प्रभावित भएको बताउनुभयो।
  • होटल एशोसिएशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अमेरिकाले नेपालमा असुरक्षा बताउने एड्भाइजरी जारी गरेपछि अमेरिकी र युरोपेली पर्यटकको संख्या न्यून भएको जानकारी दिनुभयो।

काठमाडौं । मध्यपूर्वमा जारी तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घटेको छ ।

खासगरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरेबिया युद्धबाट प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको हो ।

पोखरा आउने पर्यटकहरुले धमाधम होटल, ट्राभल र टे«किङ बुकिङ रद्ध गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले जानकारी दिए । मध्यपूर्वको तनावका कारण युरोप र अमेरिकाबाट आउने पर्यटकहरु आउन नसकेको बताउँदै उनले भने, ‘मध्यपूर्वमा बढेको तनावले नेपालको पर्यटन क्षेत्र समेत प्रभावित भएको छ ।’

नेपाल आउने प्रायजसो पर्यटकले कतार, दुवई लगायतका क्षेत्र नै ट्रान्जिट बनाएर आउने भएको कारण अहिले समस्या भएको उनको भनाइ छ । युद्धको कारण ग्याँस र इन्धन अभावले पनि समस्यामा परेको उनले बताए ।

यसैगरी होटल एशोसिएशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठूलो सिजनमा समेत अपेक्षाकृत पर्यटकहरु नआएको बताए ।

‘अन्नपूर्ण पदयात्रामा जाने दोस्रो ठुलो सिजन मार्च, अप्रिल, मे महिनामा हो भनेर हामी लिन्छौँ । तर अहिले मध्यपूर्वको जुन अवस्था छ त्यसले गर्दा नेपालमा आउने धेरै युरोपियन पर्यटकहरु जो नेपालमा पदयात्राका लागि आउनुहुन्छ उहाँहरु आउन सक्नुभएको छैन,’ उनले भने ।

उनले थपे, ‘अमेरिकाले पनि आफ्ना नागरिकलाई अहिले नेपालमा असुरक्षा छ भन्ने खालको एड्भाइजरी जारी गरेको कारणले अमेरिकन पर्यटकहरु एकदमै न्युन र युरोपियन पर्यटकहरु पनि सोचेजस्ता संख्यामा आउन सकिरहनुभएको छैन ।’

भारतीय र आन्तरिक पर्यटकको आगमन भने विगतको जस्तै राम्रो भएको उनले जानकारी दिए ।

पर्यटक व्यवसायी नेत्र पौडेलले इजरायल, अमेरिका र इरान बीचको युद्धका कारण पोखरामा पर्यटकीय गतिविधिका लागि हुने अग्रिम बुकिङहरु रद्ध भइरहेको बताए ।  ‘पछिल्लो समय इजरायल, अमेरिका र इरानबीच भइरहेको लडाईंका कारण पोखरामा टे«किङ लगायतका लागि भएका बुकिङहरु धमाधम रद्ध हुने कार्य जारी छ । त्यसकारण हाम्रा होटल, ट्राभल र टे«किङका बुकिङहरु पनि रद्द हुने क्रम बढेको देखिन्छ । समग्रमा जुन किसिमले यो समयमा पर्यटकहरु हुनुपर्ने हो त्यो किसिमले आएका छैनन्,’ पौडेलले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?