+
+

कांग्रेसको रणनीति : चुनावसम्म जसरी पनि गठबन्धन

६० प्रतिशत उम्मेदवार कांग्रेसले लिने र ४० प्रतिशत अरु दललाई दिने गरी सहमति हुनसक्छ-एनपी साउद

लिलु डुम्रे लिलु डुम्रे
२०७९ जेठ २२ गते २०:२७

२२ जेठ, काठमाडौं । स्थानीय तहको मत परिणामलाई सन्तोषजनक रुपमा लिएको नेपाली कांग्रेसले संघ र प्रदेशको निर्वाचनमा पनि सत्ता गठबन्धनलाई कायम राख्ने भएको छ । सत्तारुढ गठबन्धनमा रहेका दलभित्र आश्चर्यजनक परिस्थिति नआए यही गठबन्धनले निरन्तरता पाउने नेताहरु बताउँछन् ।

कांग्रेस र माओवादी केन्द्रले स्थानीय तह निर्वाचनको नतिजालाई ‘सन्तोषजनक’ रुपमा लिएका छन् । सत्ता घटककै अर्को दल एकीकृत समाजवादीले भने तुलनात्मक रुपमा नतिजालाई सहर्ष स्वीकार्न सकेको छैन ।

तथापि, एकीकृत समाजवादीले स्थानीय तह निर्वाचनमा कम सिट प्राप्त भएकै आधारमा गठबन्धन तोड्ने पक्षमा देखिएको छैन । ‘निश्चित उद्देश्य सहित’ गठबन्धन बनेकाले उद्देश्य पूर्तिका लागि कम्तीमा पनि संघ र प्रदेशको निर्वाचनसम्म सहकार्य गरेरै जानुपर्ने नेताहरुको प्रारम्भिक प्रतिक्रिया छ ।

स्थानीय तह निर्वाचनबाट कांग्रेस पहिलो दल बनेको छ भने तेस्रो दलमै यथावत रहे पनि माओवादी केन्द्रले पहिले भन्दा धेरै स्थानीय तहको नेतृत्व जितेको छ ।

यद्यपि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पहिलो दल हुनुमा गठबन्धनका अन्य दलको साथलाई मात्र पूर्ण सत्य मान्दैनन् । कांग्रेस पहिलो दल बन्नुमा तालमेललाई उनी दोस्रो कारण मान्छन् ।‘कांग्रेस पहिलो दल बन्न कुनै न कुनै रुपमा माओवादीसँग सहकार्य गर्नुपर्छ भन्ने मान्यतालाई स्वीकार्न सकिन्न । निर्वाचन अघि देखिएको दृश्य के हो भने पहिलो दलका रुपमा कांग्रेस आउँदैछ भन्ने नै थियो,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘त्यही सम्भावनालाई अझ बलियो बनाउनका लागि तालमेल गरिएको हो । माओवादीलाई पनि हामीसँग मिलेर लाभ नै भएको छ ।’

मूलतः कांग्रेस र माओवादी केन्द्र गठबन्धनलाई थप कसिलो बनाउने प्रयत्नमा देखिएका छन् । त्यसै अनुरुप संघ र प्रदेशमा आफ्नो हैसियत थप बढाउन आन्तरिक रणनीति समेत बनाउन थालेका छन् ।

माओवादीलाई एमालेतिर ढल्किन नदिने

स्थानीय तहको निर्वाचनको आधारमा विश्लेषण गर्दा कांग्रेस पहिलो दल हुनका लागि पनि माओवादीसँगै एकीकृत समाजवादीको मत निर्णायक देखिएको छ ।

एकीकृत समाजवादीका कारण ५४ वटा पालिकाको नेतृत्व गुमाएकोे एमालेको निश्कर्ष छ । त्यस अवस्थामा अर्को कम्युनिस्ट दल माओवादीले साथ दिएका कारण कांग्रेस पहिलो दल बनेको हो । निकट विगतको अवस्था बुझेको कांग्रेसले माओवादीलाई हरसम्भव एमालेतिर ढल्कन नदिने रणनीति अपनाउने भएको छ ।

माओवादीलाई साथमै राख्दा दुईवटा लाभ हुने कांग्रेसको विश्वास छ । कम्युनिस्टको मत काटेर पहिलो दल हुने आकांक्षा राखेको कांग्रेसलाई माओवादीको साथकै कारण सत्ताको नेतृत्व पुनः प्राप्त हुने अवस्था बन्नसक्छ ।

अहिलेको मिश्रित निर्वाचन प्रणाली अनुसार प्रतिनिधिसभामा एउटै दलले बहुमत ल्याउन सक्ने अवस्था नभएकाले तालमेल अनिवार्य रहेको कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले बताए ।

संघ तथा प्रदेशमा एमालेलाई कमजोर बनाई बढी सिट हात पार्न सहकार्यका लागि कांग्रेसले पहिलो प्राथमिकतामा माओवादी केन्द्रलाई राखेको छ । कांग्रेसका एक नेताका अनुसार एमालेलाई कमजोर बनाउन माओवादीसँगको सहकार्य अपरिहार्य बनेको छ ।

उनका अनुसार निर्वाचन पश्चात् एमाले र माओवादी केन्द्र सम्मिलित सरकार बन्नै नसक्ने गरि चुनावी तालमेलको वातावरण कांग्रेसले बनाउनेछ । ‘चुनावमा एमाले कमजोर त हुन्छ नै । निर्वाचन पछि माओवादी कुनै कारणले एमालेतिर गएर सरकार बनाउन सम्भव नहुने गरी चुनावी तालमेल हुन्छ’, ती नेता भन्छन्, ‘अरु दल जोडिँदा पनि एमालेको सरकार बन्ने अवस्था नहुने गरी चुनावी तालमेल हुन्छ ।’

सरकार बनाउनका लागि प्रतिनिधिसभाको बहुमत अर्थात् १३८ सांसदको समर्थन आवश्यक पर्छ । एमाले र माओवादी केन्द्र मिल्दा पनि यो संख्या पुग्न नसक्ने अवस्थाको निर्माण हुने ती नेताको दाबी छ ।

१६५ स्थानमै उम्मेदवारी दिएर कम स्थान जित्नु भन्दा तालमेल गरेर कम स्थानमा उम्मेदवारी दिने तर बढी स्थान जित्ने ध्याउन्नमा कांग्रेस छ । कांग्रेसका शीर्ष तहका एक नेता भन्छन्, ‘१६५ स्थानमा उम्मेदवारी दिएर कम सिट जित्नु भन्दा ९० जना उठाएर ९० जना नै विजयी हुनु ठीक भयो नि ।’

स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने वा नगर्ने विषयमा केन्द्रीय समितिमा छलफल हुँदा केन्द्रको भागवण्डाको पनि सामान्य चर्चा भएको थियो । तत्कालीन समयमा छलफलका क्रममा तालमेल हुँदा कांग्रेसले बढीमा ९० जना उम्मेदवार पाउने व्रिफिङ भएको थियो ।

६० प्रतिशत सत्ता नेतृत्वकर्ता दल र ४० प्रतिशत अन्य दलले पाउने गरी भागवण्डा गर्ने पक्षमा कांग्रेस देखिएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति देउवा निकट केन्द्रीय सदस्य साउद भन्छन्, ‘६० प्रतिशत उम्मेदवार कांग्रेस र अरुलाई ४० प्रतिशत गरी सहमति हुनसक्छ ।’

साउदले भने अनुसार सहमति बनेमा ९९ उम्मेदवार कांग्रेसको भागमा पर्नेछ । कांग्रेसको उक्त प्रस्ताव अन्य दलले स्वीकारे भने ती दलले ६६ जना उम्मेदवार भाग लगाउनुपर्ने हुन्छ ।

कांग्रेसप्रति प्रचण्ड आशंका

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत बुधबार (जेठ १८ )मा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित प्रमुख र अध्यक्षलाई भने, ‘कांग्रेसले प्रदेश र संघमा पनि माओवादीलाई ठेगान लगाउने भन्यो भने हामीले एमालेलाई ठेगान लगाएजस्तै कांग्रेसलाई ठेगान लगाउने दिन नआओस् ।’ यो आक्रोशयुक्त अभिव्यक्तिलाई कांग्रेसका नेताहरु प्रचण्डको रणनीतिका रुपमा बुझेका छन् ।

यो भनाइ आगामी निर्वाचनमा आफ्नो हैसियत बढाउन कांग्रेससँग ‘बार्गेनिङ टुल’ को रुपमा आएको कांग्रेसका नेताहरु बताउँछन् । स्थानीय तहको निर्वाचनमा आफ्नो हैसियत सुधार गरेको माओवादीले त्यसकै आधारमा संघमा बढी उम्मेदवार खोज्न चेतावनीको भाषा बोलेको कांग्रेसको बुझाइ छ ।

प्रचण्डको बोली आएको केहीबेरमा कांग्रेस नेता रामचन्द्र पौडेलले उनको बोलीको प्रतिवाद गरेका थिए । ‘इतिहासमा कांग्रेसले धेरै हार व्यहोरेर पनि देश र जनता बचाउने काम गरेको छ ।’ प्रचण्डलाई मेन्सन गर्दै सामाजिक सञ्जालमा उनले लेखेका थिए, ‘त्यसैले, हामी हार व्यहोर्न तयार छौं तर राष्ट्र, जनता र न्यायको पक्षमा लड्न छाड्ने छैनौं !’

आफ्नो अभिव्यक्तिलाई ‘वार्गेनिङ टुल’ का रुपमा बुझेको प्रचण्डलाई त्यति मन परेको छैन । विगतमा आफूले प्रधानमन्त्री पद नै अस्वीकार गरेको उदाहरण उनी दिन्छन् ।

‘बार्गेनिङ टुल बनाउन खोजेको भए २०७४ को निर्वाचनपछि म पाँचै वर्ष प्रधानमन्त्री हुन्थें । प्रधानमन्त्री मुख्य होइन, जनता मुख्य हो भनेर प्रधानमन्त्री बनिनँ,’ अनलाइनखबरसँगको संवादमा उनले भनेका छन्, ‘जनतासँग जे प्रतिबद्धता गरियो, त्यसप्रति नैतिक रूपले कायम रहन बाध्य छु । मलाई प्रधानमन्त्री चाहिएन भन्या होइन मैले ? यो त सबैलाई थाहा छ नि !’

एमाले अध्यक्ष केपी शर्मा ओलीमा देखिए जस्तै अंहकार र दम्भ कांग्रेसमा नदेखिओस् भनि सचेत मात्रै गराएको प्रचण्डको स्पष्टोक्ति छ ।

निर्वाचन अघि माओवादी र एकीकृत समाजवादी गठबन्धनबाट नबाहिरिनेमा कांग्रेस ढुक्क जस्तै छ । कांग्रेसलाई विश्वस्त हुने थप आधार समेत माओवादी र एकीकृत समाजवादीका अध्यक्षद्वयले दिइसकेका छन् । एमालेबाट प्रधानमन्त्रीको आश्वासन आए पनि गठबन्धन टुटाउने पक्षमा नरहेको प्रचण्ड र माधवकुमार नेपालले सार्वजनिक रुपमा भनिसकेका छन् ।

गठबन्धन नटुट्ने र कायम रहिरहने भन्दै प्रचण्डले कांग्रेसलाई विश्वास दिलाएका छन् । ‘गठबन्धन केही हुँदैन, अघि जान्छ । प्रदेश, संघको निर्वाचन र त्यसपछि पनि जान्छ, तर हामी कोही पनि अहंकारी र दम्भी बन्नुहुँदैन’ प्रचण्डले अनलाइखबरसँगको संवादमा भने ।

कांग्रेसभित्रको एक पक्ष तालमेलको विपक्षमा रहेकाले संघीय निर्वाचनमा समस्या आउने हो कि भन्ने आशंका प्रचण्डमा देखिएको छ । कांग्रेसको संस्थापन पक्ष तालमेलको पक्षमा छ भने संस्थापनइतरका नेता डा. शेखर कोइराला पक्षधर तालमेल भन्दा पार्टीको आन्तरिक एकता मजबुत बनाउनुपर्ने मान्यतामा छ ।

संस्थापनइतरको आशय बुझेका प्रचण्ड भन्छन्, ‘शेरबहादुरजी र उहाँ वरिपरिको टिम चाहिं गठबन्धनप्रति दृढ छ र इमान्दार पनि देख्छु । तर केही साथीले गठबन्धनबाट फाइदा पनि लिनुभएको छ, गठबन्धनको खण्डन पनि गरिराख्नुभएको छ ।’

कांग्रेस नेता डा शेखर कोइरालाले निर्वाचनको परिणाम आउने क्रममै गठबन्धन नभएको भए थप पालिका जित्ने दाबी गरेका थिए ।

र्वाचन अघि भरतपुरको चुनावी सभामा कोइरालालाई प्रचण्डले देख्न चाहेका थिए । तर उनी विराटनगरको कार्यक्रम छोडेर आएनन् । ‘हिजो गठबन्धन बन्दै गर्दा केही नेताहरूले भन्नुभयो, माओवादी हात्तीको कानमा चमेरो । कति हेपेर भनेको त त्यो ?’ कोइराला पक्षधर नेताहरुको टिप्पणीप्रति चित्त दुखाएका प्रचण्ड भन्छन्, ‘अहिले पनि एक जना नेताले त गठबन्धन नगरेको भए योभन्दा बढी जित्थ्यो कांग्रेसले भन्नुभएछ । मैले कांग्रेसमा अहंकार देखियो भनेर शेरबहादुरजी र उहाँको टिमलाई भन्दा पनि त्यो प्रवृत्तिलाई भनेको हुँ ।’

गठबन्धनको संस्कृतिप्रति असन्तुष्ट कोइराला पक्षलाई साथमै लिएर तालमेललाई अघि बढाइने नेता साउद बताउँछन् । देउवा नेतृत्वको सरकार बनाउने बेलामा नै केन्द्रीय निर्वाचनसम्म तालमेल गर्ने निर्णय भएकाले सहकार्यमा विरोध गर्न नहुने नेता साउद बताउँछन् ।

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?