+
+

भाजपा नेताको विवादित अभिव्यक्ति : कतार र कुवेतले भारतसँग जनाए विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते ८:१६
नुपुर शर्मा

२३ जेठ, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) की नेतृ नूपुर शर्माले पैगम्बर मोहम्मदप्रति गरेको विवादास्पद टिप्पणीलाई लिएर कतार र कुवेतले विरोध जनाएका छन् ।

कतार र कुवेतले आ–आफ्नो विदेश मन्त्रालयमा भारतीय राजदूतहरुलाई बोलाएर विरोध प्रकट गरेका हुन् । कतारका विदेशमन्त्री सुल्तान विन साद अल मुराइखीले भारतीय राजदूतलाई औपचारिक पत्र दिएका थिए । विदेशमन्त्री मुराइखीले भारत सरकारले सार्वजनिक माफी र भाजपा नेताको अभिव्यक्तिको निन्दाको अपेक्षा पनि गरेको जानकारी गराएका थिए ।

त्यसपछि कतारस्थित भारतीय दूतावासका प्रवक्ताले अपमानजनक टिप्पणी गर्ने शर्मालाई पहिले नै कडा कारबाही गरिसकेको प्रतिक्रिया सार्वजनिक गरेका छन् । भाजपाको राष्ट्रिय प्रवक्ता शर्माले विवादित अभिव्यक्ति दिएपछि भाजपाले उनलाई पार्टी सदस्यबाट समेत निलम्बन गरिसकेको छ । अर्का नेता नवीनकुमार जिन्दललाई पार्टीबाट निष्कासित गर्ने निर्णय भाजपाले गरेको छ ।

यसैबीच कुवेतको विदेश मन्त्रालयले पनि भारतीय राजदूतलाई बोलाएर नूपुर शर्माको अभिव्यक्तिप्रति औपचारिक रुपमा आफ्नो विरोध प्रकट गरेको थियो । कुवेतको विदेश मन्त्रालयका एशिया मामिलाका सहायक सचिवले पैगम्बर मोहम्मदविरुद्ध भारतमा सत्तारुढ पार्टीका एक अधिकारीले दिएको बयानको कडा शब्दमा निन्दा गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

यही प्रकरणमा कतार र कुवेतको विरोधपछि अर्गनाइजेसन अफ इस्लामिक कोअपरेशन (ओईसी) ले पनि भाजपाका नेताहरुको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

एक टेलिभिजन अन्तर्वार्ताको क्रममा शर्माले पैगम्बर मोहम्मद र कुरानको नाम लिंदै अपमानजनक अभिव्यक्ति दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिको सर्वत्र विरोध भएको छ । त्यसपछि भाजपाले विज्ञप्ति जारी गर्दै सबै धर्मको सम्मान गर्ने र कुनै पनि धार्मिक महापुरुषको अपमानको कडा शब्दमा निन्दा गर्ने स्पष्टीकरण दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?