+
+

वाम गठबन्धनको पक्षमा उभिए झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २३ गते २१:२८

२३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने केपी शर्मा ओलीको असंवैधानिक निर्णयप्रति असहमति जनाएर नेकपा एमालेबाट अलग हुन पुगेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा एकीकृत समाजवादीको संस्थागत निर्णयहरूमै असन्तुष्ट देखिन थालेका छन् ।

‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी अनुमोदन गर्ने सत्ता गठबन्धन र एकीकृत समाजवादीको संस्थागत निर्णयमा पूर्वप्रधानमन्त्री खनालले चर्को असन्तुष्टि जनाए । गएको १५ फागुनमा एमसीसी अनुमोदन हुँदा खनालले पार्टी निर्णय विपरीत विपक्षमा मतदान गरे । विना संशोधन एमसीसी अनुमोदनको विपक्षमा उनी थिए, तर एकीकृत समाजवादीका सांसदहरू सहितको बहुमतबाट अनुमोदन भयो ।

एमसीसी अनुमोदनपछि सत्तारुढ दलहरुले गठबन्धन गरी महानगर र उपमहानगर सहित प्रमुख शहरी क्षेत्रमा साझा उम्मेदवार उठाए । संभव भएसम्म गठबन्धनको साझा उम्मेदवार बनाउन पटकपटक बालुवाटारबाट निर्देशनात्मक बक्तव्य जारी भयो ।

सत्तारुढ दलबीच भएको गठबन्धनको निर्णयप्रति पनि खनालको असहमति रह्यो । ‘गठबन्धन हामीसँग, भोट चाहिँ कांग्रेसले एमालेलाई हाले । कांग्रेससँग तालमेल गर्ने निर्णय एकदम कठिन रहेछ’, खनालले भन्ने गरेका छन् । स्थानीय चुनावमा अपेक्षित नतिजा नआएपछि अध्यक्ष माधवकुमार नेपालले पनि गठबन्धनमा धोका भएको बताएका थिए ।

तर पनि अध्यक्ष नेपाल गठबन्धन जोगाएरै जाने पक्षमा छन् । १९ जेठमा सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रधानमन्त्रीकै अफर आएपनि गठबन्धनकै पक्षमा उभिने बताए । ‘वाम गठबन्धन र एमालेसँग एकीकरणको चर्चा चलेपनि तत्काल यो दुवै सम्भावना छैन’, अध्यक्ष नेपालको भनाइ थियो ।

खनाल भने अहिलेकै गठबन्धन गरेर आगामी चुनावमा भाग लिन नहुने पक्षमा उभिएका छन् । उनी निकट एक नेताका अनुसार, आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावमा वाम–लोकतान्त्रिक नभएर वाम गठबन्धन गर्नुपर्ने पक्षमा खनाल छन् । ‘झलनाथ कमरेडले राजनीतिक विषय उठाउनुभएको छ । प्राविधिक र व्यक्तिगत कुराले वाम आन्दोलन अगाडि बढ्दैन भन्ने कुरामा प्रष्ट हुनुहुन्छ’, ती नेता भन्छन् ।

शनिबारदेखि सुरु भएको पार्टी सचिवालय बैठकमा पनि पूर्वप्रधानमन्त्री खनालले वाम गठबन्धनको प्रस्ताव राखेको ती नेताले बताए । ‘केपी ओली र एमाले सिध्याउने भनेर मात्रै हुदैन, वाम आन्दोलन कसरी लैजाने भन्ने पनि हो । उहाँ (खनाल) वाम आन्दोलन जोगाउन वाम गठबन्धन गर्नुपर्ने पक्षमा हुनुहुन्छ’, ती नेता भन्छन् ।

वाम गठबन्धनको निष्कर्षमा पुग्नुमा भने खनालले स्थानीय चुनावको नतिजालाई आधार मानेका छन् । ‘गठबन्धन सफल भएको भए हामीले ५० सिट भन्दा बढी जित्नुपर्ने होइन र ! तर, अत्यन्तै कम जित्यौं’, स्थानीय चुनावपछि आफू निकट नेताहरुसँग खनालको भनाइ थियो, ‘पूँजीवादी वर्गको प्रतिनिधित्व गर्ने कांग्रेसले ठूलो सफलता पायो ।’

अब आउने चुनावमा पनि अहिलेकै गठबन्धन कायम राख्दा कांग्रेसले ठूलो सफलता पाउने, तर कम्युनिष्टहरूको अवस्था भने थप कमजोर भएर जाने खनालको विश्लेषण छ । खनालको तर्क छ– केपी ओली दक्षिणपन्थी भए पनि तलका (एमालेका) कार्यकर्ता त हामीले नै बनाएको हो नि ।

तर कांग्रेससँग गठबन्धन गरेर अगाडि बढ्दा दक्षिणपन्थी अवसरवादबारे आफ्नै (एकीकृत समाजवादी) कार्यकर्तालाई समेत बुझाउन नसकिएको उनको बुझाइ छ । ‘चुनावमा अन्तर्घातको कुरा गरिदैँछ । त्यो त चरम अवसरवाद हो नि ! तर हामीले त्यसलाई प्रमाणित गर्नेगरी दस्तावेज बनाउन सकेका छैनौं’, खनालले उनी निकटस्थहरुसँग भन्ने गरेका छन् ।

१४ सांसदको पद गुम्न सक्ने डरकै कारणले मात्रै कांग्रेस नेतृत्वमा गठबन्धन भन्नु प्राविधिक कुरा मात्रै भएको खनालको तर्क छ । उनको भनाइ छ– वाम आन्दोलन सांसदको पद भन्दा धेरै विषय हो । सांसद, मन्त्री र प्रधानमन्त्री हुनलाई मात्रै वामपन्थी आन्दोलनमा लागेको होइन भन्नेमा प्रष्ट हुनुपर्छ ।

तर अध्यक्ष नेपालले भने दक्षिणपन्थी अवसरवादमा डुबेको ओली र एमाले सिध्याउन अहिलेको गठबन्धन अपरिहार्य रहेकोमा अडिग छन् । ओली सिध्याउनेमा नेपालसँग सहमत भएपनि दीर्घकालीन उद्देश्य समाजवाद भएकाले सानोतिनो उल्झनमा अडिन नहुने खनालको तर्क छ ।

‘समाजवाद तर्फको यात्रा तय गर्न पहिलो विकल्प भनेको वाम गठबन्धन नै हो । कांग्रेसलाई भोट हाल्न कार्यकर्तालाई निर्देशन दिएर त्यसतर्फको यात्रा तय हुँदैन भन्नेमा उहाँ प्रष्ट हुनुहुन्छ’, खनाल निकट स्रोत भन्छन् । तर अहिले नै एमालेसँग एकताको पक्षमा भने खनाल नरहेको बताउने ती स्रोत भन्छन्, ‘केपी ओलीकै नेतृत्व रहेसम्म पार्टी एकता सम्भव छैन भन्नेमा पनि उत्तिकै प्रष्ट हुनुहुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?