+

‘जथाभावी खाने र व्यायाम नगर्ने बानीले मधुमेहको जोखिम बढ्यो’

२०७९ जेठ  २४ गते १२:३० २०७९ जेठ २४ गते १२:३०
‘जथाभावी खाने र व्यायाम नगर्ने बानीले मधुमेहको जोखिम बढ्यो’

२४ जेठ, काठमाडौं । सुगर भनौं वा मधुमेह, यो रोगलाई अहिले विश्व स्वास्थ्यकै चुनौतीको रूपमा हेरिन्छ । नेपालमा पनि मधुमेह तीव्र रुपमा फैलिरहेको छ । पछिल्लो समय युवाहरूमा पनि मधुमेह देखिन थालेको छ । यो रोग यसरी फैलिरहेको छ कि प्रायः घरमा एक जना सुगरको बिरामी भेटिन्छन् ।

यसरी फैलिरहेको सुगरलाई कसरी नियन्त्रण गर्ने भन्ने विषय महत्त्वपूर्ण छ । एक्कासी सुगर लेभल किन बढ्छ ? एक्कासी सुगर लेभल बढे के हुन्छ ? लगायतका विषयमा केन्द्रित रहेर मधुमेह रोग विशेषज्ञ डा.ज्योति भट्टराईसँग गरिएको कुराकानी :

मान्छेको सुगर लेभल तलमाथि वा घटबढ भइरहन्छ ?

मधुमेहको रोग नभएको व्यक्तिमा सुगर लेभल सन्तुलित नै रहन्छ । तर मधुमेहको बिरामीहरूमा भने सुगर लेभल घटबढ भइरहन्छ । मधुमेह भएका व्यक्तिले यसको सन्तुलन मिलाउन नजानेको खण्डमा यो घटबढ हुन्छ ।

मधुमेहका बिरामी, सुगर लेभल बढाउने औषधि सेवन गरेको अवस्थामा, खानामा अन्नको मात्रा बढी भयो भने र चिनी तथा चिनीजन्य पदार्थको बढी सेवन गर्‍यो भने सुगर लेभल बढ्न सक्छ ।

सुगर लेभल कति हुनुपर्छ ?

मधुमेहको रोग नभएका व्यक्तिको सुगर लेभल खाना खानुअघि ८० देखि १०० हुनुपर्छ भने खाना खाएपछि १२० देखि १४० हुनुपर्छ ।

के कस्तो अवस्थामा सुगर लेभल बढ्न सक्छ ?

मधुमेहका बिरामी, सुगर लेभल बढाउने औषधि सेवन गरेको अवस्थामा, खानामा अन्नको मात्रा बढी भयो भने र चिनी तथा चिनीजन्य पदार्थको बढी सेवन गर्‍यो भने सुगर लेभल बढ्न सक्छ ।

अचानक बढेको सुगर लेभल आफैं नियन्त्रणमा आउँछ कि त्यसका लागि औषधि वा उपचार गर्नुपर्छ ?

अचानक बढेको सुगर लेभल आफैं नियन्त्रणमा आउन गाह्रो नै हुन्छ । चिकित्सकको सल्लाह अनुसार खानपानमा नियन्त्रण गर्ने, व्यायाम गरेर शरीरको तौल नियन्त्रण गर्ने गर्दा भने सुगर लेभल बिस्तारै कम हुन्छ । चिकित्सकको सल्लाह अनुसार नै औषधि उपचार पनि गर्नुपर्छ ।

वंशाणुगत कारणले पनि सुगर लेभल बढ्छ अर्थात् मधुमेह हुन्छ ?

जेनेटिक कारणले पनि सुगर लेभल बढ्ने वा मधुमेह हुने सम्भावना धेरै हुन्छ । तर कति प्रतिशत सम्भावना हुन्छ भनेर यकिन रूपमा भन्न भने सकिंदैन ।

कोभिडपछि मधुमेहका बिरामीको संख्या बढेको छ भनिन्छ, त्यस्तो हो ?

कोभिडको तनावले, कोभिडको औषधि प्रयोग र कोभिड संक्रमित भएको व्यक्तिमा इन्सुलिन निकाल्ने प्यानक्रियाजलाई असर गर्छ भनिएको छ । त्यसैले कोभिडपछि धेरैलाई यो समस्या देखिएको छ ।

सुगर लेभल बढ्नुमा हाम्रो खानपान कति जिम्मेवार छ ?

अहिले जीवनशैली एकदमै परिवर्तन भएको छ । हाम्रो खानपान पनि परिवर्तन भएको छ । जंकफुड र प्याकेट फुड खाने चलन बढेको छ । त्यसलाई पचाउन व्यायाम गर्ने समय छैन । कोक, फ्यान्टा जस्ता सुगर बढी भएका पेय पदार्थ सेवनले पनि सुगर लेभल बढाउन भूमिका खेलेको छ ।

कस्तो खानपानले सुगर लेभल बढ्छ ?

कस्तो खानपानले सुगर लेभल बढ्छ भनेर त धेरै चिकित्सकहरूले भन्दै आएका छन्, तर कार्यान्वयन भने भएको छैन । भनेर मात्र हुँदैन त्यो कुरा लागू पनि हुनुपर्छ । जंकफुड, प्याकेट फुड, कोक फ्यान्टा जस्ता खानेकुराको सेवनले सुगर लेभल बढ्छ ।

चिनी वा अन्य गुलियोजन्य पदार्थ र कार्बोहाइड्रेटयुक्त खानेकुरा खाँदा सुगर लेभल बढ्छ भनिन्छ, के यो साँचो हो ?

एकदमै साँचो हो । चिनी, गुलियोजन्य वा कार्बोहाइड्रेटयुक्त खानेकुरा खाँदा सुगर लेभल बढ्छ । कार्बोहाइड्रेटयुक्त खाना पनि पछि सुगरमा नै परिणत हुने हो, त्यसैले चिनी र गुलियोजन्य खानेकुरासँगै कार्बोहाइड्रेटयुक्त खानेकुराले सुगर लेभल बढ्छ ।

सुगर लेभल नियन्त्रणका लागि कस्तो खानपान जरुरी हुन्छ ?

हाम्रो नेपालमा अन्नले मात्र पेट भर्ने चलन छ । तर यो गलत हो हामीले यस्तो चलन हटाएर मिक्स खानेकुरा खानुपर्छ । अन्नको मात्रा अलि घटाउनुपर्छ र तरकारी, फलफूल, गेडागुडी माछामासु जस्ता प्रोटिन र रेसायुक्त खानेकुराको मात्रा बढाउनुपर्छ ।

सुगर लेभल कस्तो अवस्थामा हुँदा औषधि खानुपर्ने हुनसक्छ ?

सुगर लेभल खाना खानुअघि ८० देखि १०० भन्दा माथि र खाना खाएपछि भने १२० देखि १४० एमजी÷डीएल भन्दा माथि छ भने औषधि खानुपर्छ । सुगर लेभल एकदमै बढेर अस्पताल नै भर्ना हुनु परेको छ वा गर्भवती महिलामा सुगर लेभल बढेको छ भने इन्सुलिन नै चलाउनुपर्छ ।

औषधि जीवनभर खानुपर्छ कि निश्चित अवधिसम्म खाए हुन्छ ?

मधुमेहलाई नियन्त्रणमा राख्न जीवनभर नै औषधि खानुपर्ने हुनसक्छ । तर केही यस्ता केसहरू पनि छन्, जसले आफ्नो जीवनशैली र खानपिनमा सुधार गरेर औषधि छाडेका पनि छन् । औषधि छोड्न मिल्छ भनेर चिकित्सकको सल्लाहबिना आफूखुसी औषधि छाड्न भने मिल्दैन, यसले झन् नराम्रो असर गर्न सक्छ ।

मधुमेह हुनै नदिन के गर्ने ?

विभिन्न देशमा धेरै खानेकुरामा सुगर ट्याक्स लगाइन्छ । त्यसको प्रयोग कम होस् भनेर । त्यसैले हाम्रो देशमा पनि त्यस्ता खानेकुरालाई सुगर ट्याक्स लगाउनुपर्छ । यसले गर्दा समुदायमा नै मधुमेहको जोखिम कम हुन्छ ।

व्यायाम गर्ने, उचाइ अनुसार तौल कायम गर्ने, स्वास्थ्य खानपानमा ध्यान दिने, धुम्रपान मद्यपान नगर्ने र प्रशस्त मात्रामा सागसब्जी, फलफूल र रेसादार खानेकुरा खाने आदि कुरामा ध्यान दिन सकियो भने मधुमेहको जोखिम कम हुन्छ ।

डा.ज्योति भट्टराई मधुमेह सुगर स्वास्थ्य
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय