+
+
बालेनलाई खुला पत्र :

अरु बालेन जन्मिने बाटो बन्ध्याकरण नहोस्

सन्देश पौडेल सन्देश पौडेल
२०७९ जेठ २५ गते १०:४३

आदरणीय मेयरज्यू,

काठमाडौं महानगरपालिका

सर्वप्रथम त नेपाली राजनीतिमा धेरैवटा ‘ग्लास सिलिङ’ तोडेर एउटा नयाँ आयाम सुरु गर्न तपाईंले देखाउनुभएको साहस र त्यसलाई निष्कर्षमा पुर्‍याउनुभएकोमा हार्दिक बधाई। साथै एउटा युगान्तकारी कार्यकालका लागि हार्दिक शुभकामना।

मतगणनाको बेला म राष्ट्रिय सभागृहमा नै थिएँ। छ छाप सूर्य, रुख, हँसिया हतौडा, हलोमा आउँदा पनि एउटा तपाईंकोमा आएको छ। ‘बालेन को हो?’ भन्ने प्रश्नबाट ‘बाबा बालेनले पो जित्ने भो’ भन्ने चरणसम्मको साक्षी म पनि हुँ।

देश विकासको इतिहासहरू साक्षी छन्, कुनै एउटा पुस्ताको पहलकदमी, त्याग र दृढताले मात्र परिवर्तनतर्फको यात्रा तय गर्न सकिन्छ। त्यो पहलकदमीको सुरुवातको रूपमा पनि तपाईंको यात्रा सफल रहोस् भन्ने कामना गर्दछु।

चुनौतीका चाङको बारेमा मभन्दा तपाईं नै बढी जानकार हुनुहुन्छ, आशा छ त्यसलाई कसरी पन्छाउने र जनताले देखाएको विश्वासलाई कसरी सही सावित गर्ने भन्नेमा पर्याप्त गृहकार्य गर्नुभएको छ। परम्परागत राजनीतिक शक्तिहरूलाई नयाँ ढङ्गले सोच्न बाध्य बनाउनुका साथै विजयसम्मको तपाईंको यो यात्राले मुख्यत: दुईवटा स्थापित मान्यतालाई तोडी आमूल परिवर्तनतर्फ संकेत गरेको मैले पाएको छु। एक- राजनीति कसरी गर्नुपर्छ भन्ने नयाँ मान्यता स्थापित हुने क्रममा छ। दुई- नेता कस्तो हुनुपर्छ भन्ने पुरानो मान्यता भत्किएर नयाँ मान्यता स्थापित हुँदैछ।

एउटा तितो कुरा यहाँ गर्नैपर्ने हुन्छ। तपाईंको विजय जति तपाईं र तपाईंको समूहको क्षमता र इच्छाशक्तिका कारणले हो, त्यति नै स्थापित राजनैतिक दलप्रतिको आम वितृष्णाको प्रतिबिम्व पनि हो। यो समीक्षालाई आत्मसात् गर्दा तपाईंको कार्यकाल अझ गतिशील, स्पष्ट र सफल हुन्छ भन्ने लागेको छ।

देशको राजधानीको शक्तिशाली प्रमुखको रूपमा तपाईंले जितिरहँदा परिवर्तन सम्भव छ भनी लागिरहेको युवाको हिसाबले मभित्र दुईवटा अवस्था समानान्तर रूपले अगाडि आएको छ। पहिलो- युवाले नेपाली राजनीतिमा लिएको सकारात्मक पहलकदमी सफल भएमा त्यसले निर्माण गर्ने भाष्य र त्यसले ल्याउने राजनैतिक परिवर्तन सम्झिएर उत्साहित छु।

दोस्रो- तपाईं कथंकदाचित असफल हुनुभएमा युवा र स्वतन्त्र प्रति पैदा हुने सम्भावित प्रतिगमनकारी वितृष्णासँग डर लागिरहेको छ। दुःखका साथ भन्नुपर्छ अघिल्लो चुनावमा विवेकशील पार्टीले देखाएको आशा र समयक्रमसँगै त्यसले भोगेको विसर्जनले युवा र राजनीति भन्ने विषयलाई नराम्रो धक्का दिइसकेको छ। त्यस अर्थमा तपाईंको कार्यकाल सफल हुनु र नहुनु अब तपाईंसँग मात्र सीमित नभएर यो समग्र राजनैतिक सफलता, असफलतासँग जोडिएको छ।

मेयरज्यू,

अब तपाईंको सुरुवाती दिनका कार्यको समीक्षातर्फ मोडिन चाहें। फोहोर व्यवस्थापन, पूर्वाधारको अवस्था सुदृढीकरण र सुशासनतर्फ तपाईंले देखाउनुभएको प्रयास सराहनीय छ। कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण गर्ने तपाईंको चुनावी एजेण्डा कार्यान्वयनप्रति मेरो केही टिप्पणी छैन। बैठक पारदर्शी बनाउने सोच मूलत: सही छ तर त्यसमा निम्न कुराहरू विचारणीय हुन्छन् जस्तो लाग्छ-

१. सुरुवाती बैठकले कता इङ्गित गरेको छ भने बालेनको विचारमा सहमत नहुने प्रतिनिधिहरू जनताको नजरमा खलपात्रको रूपमा स्थापित हुनेछन्। यो तपाईंले गर्ने कुनै कुराले भन्दा पनि सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरूले देखाएको छ। बैठक हो। धेरै विषयमा मतान्तर हुन्छ। उद्देश्य एकै भए पनि काम गर्ने तरिका फरक हुन सक्छन्। कतै प्रत्यक्ष प्रसारण गर्नाले सौहार्द तरिकाले हुनुपर्ने छलफललाई निषेध त गर्दैन? आखिरमा कार्यपालिकाका अन्य सदस्यहरू पनि जननिर्वाचित प्रतिनिधि नै हुनुहुन्छ।

कार्यपालिकामा हुने छलफलमा सबै विचार ससम्मान समेट्न सक्नुपर्छ। कसैलाई उद्वेलित वा लघुताभास गराउने होइन। बैठक पारदर्शी बनाउने तर सौहार्दपूर्ण वातावरणको विकास गरी। यसतर्फ ध्यान दिनु जरूरी देखिन्छ।

२. बैठक प्रत्यक्ष गर्दा कतै निर्णयहरू ‘पपुलिस्ट’ मात्र हुने त होइन भन्ने विषयमा पनि त्यति नै ध्यान दिनुपर्ने देखिन्छ। यसो हुँदा अल्पकालीन लाभमा ध्यान केन्द्रित भई दीर्घकालीन रणनीति अख्तियारीमा बाधा पुग्न सक्ने कुरालाई पनि मध्यनजर गर्नुपर्छ होला।

होला स्वतन्त्र जनप्रतिनिधिका रूपमा तपाईंलाई एजेण्डा पास गराउन गाह्रो छ। यही सन्दर्भमा बैठकको प्रत्यक्ष प्रसारण गर्नुभएको देखिन्छ। यो कदमले बैठकको उद्देश्य र यहाँ हुनुपर्ने अर्थपूर्ण छलफल प्रभावित नहोस् भन्ने सवालमा ध्यान दिनु पनि उत्तिकै जरूरी हुन्छ।

अब म केही मेरा राजनैतिक अनुभव तपाईंसँग प्रस्तुत गर्न चाहन्छु-

१. शक्तिसँग निकट रही आफ्ना अभीष्ट पूरा गर्न खोज्ने एउटा ठूलै जमात रहेको पाएको छु। कतिपय अवस्थामा नजानिंदो ढङ्गले उनीहरूले तपाईंलाई परिचालन पनि गर्न खोजिरहेका हुनसक्छन्। त्यसतर्फ ध्यान दिनुभएकै होला। सधैं दिनुहोला।

२. स्वतन्त्र भएको हिसाबले पार्श्वशक्ति नभएको ठानी र अनुभवहीन सोची धेरैले त्यसको फाइदा उठाउन अवश्य खोज्नेछन्। आशा छ- यसलाई प्रतिकार गर्नको लागि आफ्नो तर्फबाट प्रयासहरू गरिरहनुभएकै होला। महानगरका कार्यविधि, पुराना माइन्युट, पुराना बजेट र कार्यान्वयनको प्रगति विवरण, पुराना नगर सभाका प्रतिवेदनको मिहिन ढङ्गबाट अध्ययन र विश्लेषण जरूरी हुनेछ।

३. काम गर्न गाह्रो अवश्य पर्नेछ। तपाईंमा नैराश्यता आउन सक्छ। अलमल हुन सक्छ तर कुनै पनि समयमा आफूलाई कमजोर नठान्नुहोला। तपाईंले प्राप्त गरेको जनमत र जनमत बाहिरको पनि सहयोग तपाईंको शक्ति हो र यसमा तपाईं दृढ रहेसम्म तपाईंको समर्थन हुनेछ।

४. नेतृत्व गर्दा कहिलेकाहीं दीर्घकालीन फाइदाका लागि अल्पकालीन रूपमा अप्रिय निर्णय लिनुपर्ने पनि हुन्छ। त्यस्तो निर्णय किन लिनुपर्‍यो भन्ने व्याख्या विश्लेषणसहित त्यस्ता निर्णय गर्न पनि पछि नपर्नुहोला।

मेयरज्यू,

अब म तपाईंको ध्यान चर्चामा नआएका तर केही गम्भीर मुद्दातर्फ आकृष्ट गराउन चाहन्छु-

१. घरबारविहीन सुकुम्बासीहरूको निकै बाक्लो बस्ती काठमाडौंका धेरै स्थानमा रहेको छ। त्यहाँको जीवनस्तर निकै दयनीय अवस्थामा छ। एकल प्रयासले नहोला तर सुकुम्बासीहरूको जीवनस्तर उकास्न तथा कम्तीमा उहाँहरूको बसाइलाई मर्यादित बनाउन केही ठोस कदम चाल्नैपर्ने देखिन्छ।

२. सुकुम्बासी जस्तै समस्या स्ववासी र शहरी गरिबीको चपेटामा परेका दाजुभाइ दिदीबहिनीहरूको छ। यसमा पनि एकल प्रयासले केही गर्न नमिल्ने भए पनि जीवनस्तर उकास्न केही अवश्य गर्न सकिन्छ।

३. महानगर मातहतमा हुने ठेक्का प्रक्रियाहरू अझ पनि पारदर्शी बन्न सकेका छैनन्। ठेक्का तथा निर्माण प्रक्रिया अझ पारदर्शी र जवाफदेहीपूर्ण बनाउन आवश्यक छ।

४. तपाईंको एजेण्डामा महानगरको पञ्च-वर्षीय आवधिक योजना बनाउने समावेश हुनुपर्ने हो जस्तो लाग्छ। आवधिक योजनाले एक तपाईंलाई कामको स्पष्ट र वैज्ञानिक खाका दिन्छ भने कार्यपालिकाको स्वामित्व हुने गरी बनेको आवधिक योजनाले सबैलाई समान लक्ष्यतर्फ काम गर्न र जवाफदेही बनाउन मद्दत गर्नेछ।

५. सामुदायिक कुकुर र चौपायाले आम काठमाडौंवासी असुरक्षित छन् र यसका कारणले धेरै सवारी लगायत दुर्घटना पनि हुने गरेको छ। यो विषय एजेण्डामा समेटिएको देखिएन।

मेयरज्यू, यतिबेला नेपाल र नेपाल बाहिरका नेपालीको ध्यान तपाईंतर्फ गहिरो गरी आकृष्ट भएको छ। धेरैपछि धेरैको आशाको विन्दु बन्न पुग्नुभएको छ। घरको कोठादेखि, चियापसल, भट्टीदेखि राजनैतिक दलका औपचारिक अनौपचारिक कार्यक्रममा तपाईंकै चर्चा छ। तपाईंको साहस, आँट, इच्छाशक्ति र तत्परताले सृजना गरेको यो अवस्थालाई सही मानेमा सदुपयोग गर्नुहुनेछ भन्नेमा पूर्ण विश्वस्त छु। अर्थशास्त्र र लेखाको विद्यार्थीको हिसाबले मेरो तर्फबाट हुनसक्ने जुनसुकै सहयोग गर्न म तयार छु। तपाईंलाई कार्यगतिका क्रममा रोक्ने अड्चनहरू मेरा पनि समस्या हुन्, तपाईंलाई निरुत्साहित गर्ने शक्ति मेरा पनि दुश्मन हुन्।

काठमाडौं हामी सबैको शहर बनोस्, हामी सबैले गर्व गर्न मिल्ने शहर बनोस्। यसपटक उत्कृष्ट काम गरी अर्को चुनावमा पनि बालेनहरूलाई जित्ने वातावरण बनोस्, मेरो अन्तर्मनबाट शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?