+
+

एसियन कप छनोट : दीपले पेनाल्टी बचाए पनि जोर्डनसँग नेपाल पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २६ गते ६:३५

२६ जेठ, काठमाडौं । एएफसी एसियन कप २०२३ को अन्तिम चरणको छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको छ ।

समूह ए अन्तर्गत कुवेतको जाबिर अल अहमद स्टेडियममा बुधबार राति भएको खेलमा नेपालले दुवै गोल दोस्रो हाफमा खाएको थियो । जोर्डनले अन्तिम २१ मिनेटमा दुई गोल गरेको थियो ।

जोर्डनसँग नेपाल पराजित भएको यो चौथो पटक हो । अहिलेसम्मको पाँच भेटमा नेपालले जोर्डनलाई एक पटक मात्र बराबरीमा रोक्न सकेको छ ।

यसै खेलमार्फत राष्ट्रिय टिममा डेब्यु गरेका गोलकिपर दिप कार्कीले उत्कृष्ट प्रदर्शन गरे पनि नेपालले हार रोक्न सकेन । दिपले पहिलो हाफमा पेनाल्टी बचाएका थिए । तर दोस्रो हाफमा जोर्डनले अर्को पटक पेनाल्टी पाउँदा गोल गर्‍यो ।

खेलाडी प्रशिक्षक विवादका कारण नियमित कप्तान किरणकुमार लिम्बुसहित ११ सिनियर खेलाडी बिना कुवेत पुगेको नेपालका लागि नवयुग श्रेष्ठले यसै खेलबाट कप्तानी डेब्यु गरे ।

यस्तै गोलकिपर दिपसँगै डिफेण्डर विकास तामाङले पनि सिनियर टिममा डेब्यु गरे । तर पहिलो हाफमा विकासले जोर्डनलाई पेनाल्टीको अवसर दिंदा दिपले त्यसलाई बचाउँदै नेपालको संकट टारेका थिए । त्यसबाहेक पनि उनले केही उत्कृष्ट बचाउ गरे ।

४३औं मिनेटमा नेपालका विकास तामाङले मोहमद फैसल जारिकलाई फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो । तर माउसा मोहमद सुलेमानको पेनाल्टी प्रहार नेपालका गोलकिपर दिप कार्कीले उत्कृष्ट डाइभ गर्दै बचाए ।

विकास त्रिभुवन आर्मी फुटबल क्लब र दिपले हिमालयन शेर्पा क्लबबाट खेलेका थिए ।

११ सिनियर खेलाडीविना उत्रेको नेपालले पहिलो हाफमा डिफेन्सिभ खेल्दै जोर्डनलाई बराबरीमा रोक्न सफल भयो ।

दिपले राष्ट्रियमा टिममा यसअघि परे पनि डेब्यु गर्न पाएका थिएनन् । विकासले भने पहिलो पटक राष्ट्रिय टिममा पर्दा नै पहिलो रोजाइमा खेल्दै डेब्यु गरे ।

जोर्डनविरुद्ध पहिलो रोजाइमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले डेब्यु गराएका दिप र विकासहसित ६ खेलाडी थिए । उनले यसअघि डेब्यु गराएका गौतम श्रेष्ठ, मनिष डाँगी, आयुष घलान र सुरज ज्यु ठकुरी पनि जोर्डनविरुद्ध पहिलो रोजाइमा खेलेका थिए ।

दोस्रो हाफमा सुरुवातमा पनि नेपालले रक्षात्मक खेल्दै जोर्डनलाई गोल गर्न दिएको थिएन । तर ६९औं मिनेटमा अली इयाद ओलवानले गोल गर्दै जोर्डनलाई अग्रता दिलाए । ओलानले सुलेमानको पासमा गोल गरे ।

दोस्रो हाफमा जोर्डनले अर्को पेनाल्टी पायो । तर यस पटक भने जोर्डनका हम्जा अलदरादेह चुकेनन् । उनले ८१औं मिनेटमा प्राप्त पेनाल्टीमा सहजै गोल गर्दै जोर्डनलाई २-० को अग्रता दिलाए ।

जितपछि जोर्डनले ३ अंक जोड्दा नेपालले हारबाट सुरुवात गरेको छ ।

बुधबार भएको यस समूहको पहिलो खेलमा घरेलु टोली कुवेत इन्डोनेसियासँग २-१ ले पराजित भएको थियो । नेपालले समूहको दोस्रो खेल २८ जेठमा कुवेतसँग खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?