+
+

दुई सातामा ‘कबड्डी ४’ले कमायो १८ करोड ७८ लाख ग्रस

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १६:१७

काठमाडौं । दयाहाङ राई स्टारर ‘कबड्डी’को चौथो श्रृंखलाले घरेलु बक्स अफिसमा उछाल कमाइ गरेको छ । दुई सातामा फिल्मले १८ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ ।

१४ दिनमा फिल्मले काठमाडौं उपत्यकामा ९ करोड ९८ लाख र मोफसलमा ८ करोड ८० लाख ग्रस कमाएको छ । डेढ सय बढी हलबाट प्रदर्शन भएको फिल्मको कमाइमा हलिउड र बलिउड रिलिजको खास प्रभाव छैन ।

आज शुक्रबारदेखि तेस्रो साता प्रवेश गर्दै ‘कबड्डी ४’ले अकुपेन्सीमा केही ड्रप भए पनि स्थिर कमाइलाई निरन्तरता दिने देखिएको छ । तेस्रो सप्ताहन्तमा फिल्मले २० करोड ग्रसको आँकडा पार गर्ने प्रक्षेपण गरिएको छ ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्समा मात्र दुई सातामा फिल्मले ५ करोड ६३ लाख ग्रस कमाएको छ । आईएनआईमा मात्र ३ करोड १० लाख ग्रस कलेक्सन छ ।

निर्माता तथा निर्देशक रामबाबु गुरुङ र वितरक मनोज राठीले दोस्रो साता कलेक्सनको आँकडालाई पुष्टि गरे । ‘कबड्डी’को कमाइलाई विश्लेषण गर्दा मोफसलमा फिल्म बजारको आकार विस्तार भएको देखिन्छ ।

विगतमा काठमाडौंलाई फिल्मको ७५ प्रतिशत बजार मानिने गरे पनि मोफसलमा बढ्दो जनसंख्या र आधुनिक फिल्म हलको विस्तारसँगै बक्स अफिस आकार पनि बढेको अनुमान छ ।

अमेरिकाबाटै ४ करोड, विदेशबाट १० करोड ग्रस

‘कबड्डी ४’ले स्वदेश मात्र होइन, विदेशमा समेत कीर्तिमानी कमाइ गरिरहेको छ । फिल्मले अमेरिकाबाटै ४ करोड ग्रस कमाइ गर्ने जानकारी वितरकले दिएका छन् ।

शो संख्या र डलरको मूल्य विश्लेषण गर्दा त्यहाँको कमाइ त्यति प्रक्षेपण गरिएको जनाइएको छ । अष्ट्रेलियामा लाइफटाइम कलेक्सन डेढ करोड ग्रस पुग्ने अनुमान छ । जापानमा ७० लाख प्रक्षेपण छ ।

निर्देशक गुरुङले अस्ट्रेलिया, अमेरिका र जापानमा कीर्तिमानी कमाइ भएको बताए । गुरुङका अनुसार विदेशको राइट बिक्रीबापत निर्माताले २ करोड २१ लाख रुपैयाँ नेट प्राप्त गरेका छन् ।

भारतमा जुन १७ तारिखमा फिल्म प्रदर्शनको तयारी छ । ‘कबड्डी ४’ले विदेशबाट कुल १० करोड ग्रस कमाउने प्रक्षेपण गरिएको छ । नेपालमा चाहिं यो फिल्म जेठ १३ गते रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?