+
+
आर्थिक सूचक  :

अप्ठ्यारोमै छ अर्थतन्त्र

अच्युत पुरी अच्युत पुरी
२०७९ जेठ २७ गते २०:३९

२७ जेठ, काठमाडौं । अर्थतन्त्र संकटोन्मुख रहेको भन्दै नेपाल राष्ट्र बैंकले गत २१ चैतमा बैंक तथा वित्तीय संस्थाहरुलाई आयातको प्रतीत पत्र (एलसी) खोल्न मौखिक रुपमा रोक लगायो । तर, केन्द्रीय बैंकको मौखिक निर्देशनको फाइदा उठाउँदै केही ठूला घरनाले विलासी वस्तुको आयातलाई निरन्तरता दिए ।

अर्बाैं रुपैयाँ बराबरको सवारी साधन, मदिरादेखि चकलेटसम्मको आयातलाई सरकार र केन्द्रीय बैंकले व्यापारीको प्रलोभनमा परेर खुल्ला नै राखे । अझ सरकारले त एक कदम अघि बढेर उक्त आयातलाई १३ वैशाखको राजपत्रमार्फत स्वीकार नै गर्‍यो । राजपत्रले केही वस्तुलाई असार समान्तसम्म आयातमा रोक लगाए पनि सुन लगायतका वस्तुको आयात भने खुला गर्‍यो । सरकारको यस्तो नीतिले अर्थतन्त्र संकटोन्मुख नरहेको संकेत गर्छ तर केन्द्रीय बैंकको १० महिनाको तथ्याङ भने फरक छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को १० महिनाको आर्थिक तथा वित्तीय सूचकांकले मुलुकको अर्थतन्त्र थप दबावमा रहेको संकेत गरेको छ ।

खासगरी बाह्य क्षेत्रमा मुद्रास्फीतिको तीव्र दबाव परेको छ । जसले गर्दा शोधनान्तर स्थिति (नेपालमा भित्रने र नेपालबाट बाहिरिने रकमको अन्तर)उच्च घाटामा पुगेको छ भने व्यापार घाटा चुलिएको छ । विप्रेषण आय कम हुँदा विदेशी विनिमयको सञ्चिति समेत कम भएको छ । जसले गर्दा वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता कमजोर बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलनमा कमी आउँदा तरलता अभाव चुलिएको छ ।

पर्यटक आगमन बढ्न थालेपछि भ्रमण आय केही बढे पनि समग्र सेवा आय उच्च घाटा देखिएको छ । अमेरिकी डलरसँग नेपाली रुपैयाँ अवमूल्यन भएको छ । सरकारको पूँजीगत खर्च कमजोर बन्दा त्यसको असर वित्तीय क्षेत्रमा समेत नकारात्मक बनेको छ । सरकारले खर्च बढाउन नसक्दा सरकारका खातामा नगद मौज्दात बढेको छ । खर्चमा प्रदेश सरकारहरु समेत कमजोर बन्न पुगेका छन् । सेयर बजार निरन्तर घटिरहेको छ भने ब्याजदरले समेत आकाश छोएको छ । यसरी नेपाल राष्ट्र बैंकले सूचकांकमार्फत समग्र अर्थतन्त्र अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको संकेत गरेको छ ।

विदेशी मुद्राको सञ्चिति झनै घट्यो

सरकारले विलासिताका वस्तु आयातमा गरेको कडाइका बाबजुत विदेशी मुद्रा सञ्चितिमा कमी आएको छ । नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चिति वैशाख मसान्तसम्म ११४६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति ११६७ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो । यस्तो सञ्चितिले ७.३४ महिनाको वस्तु आयात र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुन्छ । २०७८ असार मसान्तसम्म १३९९ अर्ब ३ करोड रुपैयाँ बराबरको कुल विदेशी विनिमय सञ्चिति रहेको थियो ।

पछिल्लो १० महिनामा विदेशी मुद्रा सञ्चितिमा १८ प्रतिशतले कमी आएको छ । चैत महिनासम्म रहेको विदेशी मुद्रा सञ्चितिले ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था देखिएको थियो । १० औं महिनासम्म आउँदा सञ्चिति अझ कम भएको छ ।

शोधनान्तर स्थिति २८८ अर्ब घाटामा

मुलुक भित्रने भन्दा बाहिरिने रकम बढी हुँदा मुलुकको शोधनान्तर स्थित (नेपालमा भित्रने र नेपालबाट बाहिरिने रकमको अन्तर) चालु आर्थिक वर्षको १० महिनामा २८८ अर्ब ५० करोड रुपैयाँ घाटामा पुगेको छ ।

यो आवको पहिलो वर्षबाटै उच्च आयात, निर्यातको हिस्सा कम, विप्रेषण आप्रवाहमा कमी तथा पर्यटक आगमन कम हुँदा मुलुक भित्रने रकमको कमी भइरहेको छ । जसले गर्दा शोधनात्मक स्थिति निरन्तर घाटामा गएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ को यसै अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोड रुपैयाँ बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाख बचतमा रहेकोमा यस वर्ष २ अर्ब ४१ करोड डलरले घाटामा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यस अवधिमा चालु खाता ५४७ अर्ब ३६ करोड रुपैयाँले घाटामा रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्ष यसै अवधिमा चालु खाता २५१ अर्ब २९ करोड रुपैयाँ घाटामा रहेको थियो । यसअवधिमा पूँजीगत ट्रान्सफरमा ४१.३ प्रतिशतले कमी आई ७ अर्ब ९९ करोड रुपैयाँ कायम भएको छ । तर, खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने १८.२ प्रतिशतले वृद्धि भई १६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको यसै अवधिमा वैदेशिक लगानी १४ अर्ब ८ करोड रुपैयाँ मात्र रहेको थियो ।

लक्ष्यभन्दा धेरै माथि मुद्रास्फीति, महँगियो भान्सा

चालु आर्थिक वर्षको १० महिनामा उपभोक्ता मुद्रास्फीति ७.८७ प्रतिशत पुगेको छ । चालु आर्थिक वर्षमा सरकारले मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको थियो ।

मुद्रास्फीतिमा अन्तर्राष्ट्रिय रुपमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले ठूलो भूमिका खेलेको छ । यसले नेपालमा बढी आयात हुने पेट्रोलियम पदार्थको मूल्य उच्च दरले बढ्न पुगेको छ । गत आवको १० महिनामा मूद्रास्फीति ३.६५ प्रतिशत मात्र रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१३ र गैर खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.४५ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । २०७८ वैशाखको तुलनामा यो वैशाखमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तेलको मूल्य २४.८६ प्रतिशतले बढेको छ ।

फलफूल १२.६१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको मूल्यवृद्धि ११.३० प्रतिशत छ । यस्तै दाल तथा गेडागुडीको मूल्यवृद्धि १०.५३ प्रतिशत हुँदा सुर्तीजन्य पदार्थको मूल्यवृद्धि ९.७० प्रतिशत छ । गैर खाद्य तथा सेवा उपसमूह अन्तर्गत यातायातमा २१.८१, शिक्षामा ११.६४ र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति ८.२१ प्रतिशत पुगेको छ ।

समीक्षा अवधिमा तराई क्षेत्रमा मूल्य आकाशिएको केन्द्रीय बैंकले जनाएको छ । चालु आवको १० महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.३९ प्रतिशत, तराईमा ८.१५ प्रतिशत र पहाडमा ७.८९ प्रतिशत छ । यस्तै हिमाल क्षेत्रमा मुद्रास्फीति ८.२१ प्रतिशत पुगेको छ ।

चुलियो व्यापार घाटा 

१० महिनाको अवधिमा व्यापार घाटा उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कुल वस्तु आयात १६ खर्ब ४ अर्बको हुँदा निर्यात १ खर्ब ७३ अर्ब रुपैयाँको मात्र भएको छ ।

यसबाट व्यापार घाटा १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको हो । निर्यात–आयातको अनुपात १०.८ प्रतिशत रहेको छ । व्यापार घाटा २१.५ प्रतिशतले बढेको छ ।

नेपालमा आयात हुने कुल वस्तुमध्ये ३६.८ प्रतिशत अन्तिम उपभोग्य वस्तु हुन् । पूँजीगत वस्तुको आयात १०.४ प्रतिशत मात्र रहेको छ ।

विप्रेषण आयमा भने सुधार

वैशाख महिनासम्म आइपुग्दा रेमिट्यान्स आप्रवाहमा केही सुधार देखिएको छ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै लगातारजसो रेमिट्यान्स आउने क्रममा गिरावट देखिएको थियो ।
गत फागुन महिनादेखि केही सुधार हुन थालेको रेमिट्यान्स आप्रवाहको वृद्धिदर वैशाख महिनामा आएर ‘पोजेटिभ’ बिन्दुमा पुगेको छ ।

२०७८ साउनदेखि २०७९ वैशाखसम्मको विप्रेषण आप्रवाह ०.२ प्रतिशतले बढेर ८११ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा हेर्दा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कम भएर ६ अर्ब ७६ करोड डलरमा छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

साउनदेखि वैशाखको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत (नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या पनि बढेको छ । यो अवधिमा २ लाख ७८ हजार २९८ जनाले विदेश जान नयाँ श्रम स्वीकृति लिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेसिने नेपालीको संख्या ५४.० प्रतिशतले घटेको थियो ।

पर्यटक बढ्दा भ्रमण आयमा सुधार

पछिल्लो समय पर्यटक आगमनमा सुधार भएको तथ्यांकहरुले देखाएका छन् । यसको सकारात्मक प्रभाव भ्रमण आयमा देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण आयमा २५९.९ प्रतिशतले वृद्धि भएको छ । १० महिनामा भ्रमण आय २२ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो आवको यसै अवधिमा भ्रमण आय मात्र ६ अर्ब २४ करोड रुपैयाँ रहेको थियो ।

शिक्षामा विदेशिने रकमका कारण भ्रमण व्ययको हिस्सा भने उच्च छ । यस वर्ष १० महिनामा शिक्षाका लागि मात्र ५१ अर्ब ३४ करोड रुपैयाँ विदेशिएको छ ।

पूँजीगत खर्च मात्र ३१ प्रतिशत, सरकारी खातामा थुप्रियो नगद

आर्थिक वर्षको १० औं महिना पूरा भइसक्दा पूँजीगत खर्च मात्र ३१ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म ३१.३ प्रतिशत पूँजीगत खर्च भएको छ । यस अवधिमा मा १ खर्ब १८ अर्ब रुपैयाँ पूँजीगत खर्च भएको छ ।

नेपाल सरकार तथा प्रदेश सरकारहरुले समेत लक्ष्य अनुसार खर्च गर्न नसक्दा नेपाल सरकारको नाममा रहेका विभिन्न खातामा नगद मौज्दात थुप्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म नेपाल राष्ट्र बैंकमा रहेका सरकारका खातामा ३२५ अर्ब रुपैयाँ नगद मौज्दात रहेको छ । गत असार मसान्तसम्म यस्तो रकम १९८ अर्ब ७६ करोड रुपैयाँ मात्र थियो ।

ब्याजदर आकाशियो

अघिल्लो वर्ष २०७८ सालको वैशाखमा ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.२८ प्रतिशत थियो । यस्तो ब्याजदर चालु आवको वैशाख मसान्तसम्म ८.३० प्रतिशत पुगेको छ ।

कर्जाको ब्याजदर अघिल्लो वर्ष ८.५३ प्रतिशत रहेकोमा यस वर्ष ११.४२ प्रतिशत पुगेको छ । निक्षेपको ब्याजदर अघिल्लो वर्ष ४.८१ प्रतिशत रहेकोमा यस वर्ष बढेर ७.२५ प्रतिशत पुगेको छ । आधार दर ६.८३ प्रतिशतबाट बढेर ९.३० प्रतिशत पुगेको छ । अन्तर बैंक ब्याजदर समेत ४.१२ प्रतिशतबाट बढेर ६.९९ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

उच्च बिन्दुबाट झरेको सेयर बजार निकै खस्कियो

२०७८ साल वैशाख मसान्तमा २६८४.१ विन्दुमा रहेको नेप्से सूचकांक २०७९ वैशाखमा २३५०.४ विन्दुमा झरेको छ । यो विन्दु त्यसपछि पनि निरन्तर घटिरहेको छ । शुक्रबार सेयर बजार २०४८.१६ बिन्दुमा झरेर रोकिएको छ ।

१० महिना अगाडि ३७ खर्ब २४ अर्ब रुपैयाँ रहेको बजार पूँजीकरण वैशाख मसान्तसम्म ३३ खर्ब ४३ अर्बमा झरिसकेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?