+
+

घरबाट सुरु गरौं फोहोर व्यवस्थापन

घरधनीले घरबाटै कुहिने र नकुहिने फोहोर व्यवस्थापन गरे आधाभन्दा बढी समस्या आफैं समाधान हुने विज्ञहरु बताउँछन् । ‘हामीले फोहोरलाई फाल्ने चिजका रुपमा मात्रै हेर्‍यौं, यसका फाइदाबारे कहिल्यै सोचेनौं । यसमा मोहोर खोज्ने प्रयास नै गरेनौं,’ वातावरणविद् भुषण तुलाधर भन्छन् ।

अंगद सिंह अंगद सिंह
२०७९ जेठ २८ गते १९:२७

२८ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर फाल्न थालिएको सिसडोल ल्याण्डफिल साइट १७ वर्षमा भरियो । अब यसको पोष्टक्लोज गर्नुपर्ने हुन्छ । काठमाडौंबाट जाने फोहोरलाई भने बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फाल्न थालिएको छ ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार कुहिने र नकुहिने फोहोर छुट्याउने हो भने बञ्चरेडाँडा ल्याण्डफिल साइटले १०० वर्षसम्म धान्न सक्छ । तर सिसडोलमा झै कुहिने र नकुहिने सबै फोहोर छ्यासमिस पारेर थुपार्ने हो भने २०/२५ वर्षमै भरिन्छ ।

२० वर्षमै भर्ने कि १०० वर्षसम्म धान्ने बनाउने ? यो सरकार, काठमाडौं महानगरपालिका मात्र होइन, उपत्यकाका हरेक घर परिवारमा भरपर्छ ।

‘सरसफाइ सबैलाई चाहिन्छ । काठमाडौंलाई स्वच्छ–सफा राख्न सबैले एकजुट भई लाग्नुको विकल्प छैन,’ काठमाडौं महानगरपालिका वातावरण विभागका पूर्वप्रमुख रविनमान श्रेष्ठ भन्छन्, ‘सरसफाइ महानगरलाई मात्रै होइन, काठमाडौंका हरेक नागरिकलाई चाहिन्छ । यसका लागि हरेक नागरिक आफैं सचेत हुनुपर्छ ।’ अर्थात कुहिने र नकुहिने फोहोर घरघरबाट छुट्याउन सुरु गर्नुपर्छ ।

काठमाडौं महानगरपालिकाले आगामी १ साउनबाट घरबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन सर्वसाधारणलाई आग्रह गरेको छ । नछुट्याएको फोहोर नउठाउने मात्र होइन, नियम पालना नगर्नेलाई दण्ड जरिवाना समेत गर्ने महानगरपालिकाले बताएको छ ।

महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईका अनुसार कुहिने र नकुहिने फोहोर उठाउने गाडी छुट्टाछुट्टै दिन पारेर गाडी पठाउने तयारी छ । भान्साबाट निस्किने ६० प्रतिशतभन्दा बढी फोहोर कुहिने हुँदा कम्पोस्ट मल पनि बनाउन सकिन्छ ।

‘हामीले महानगरबासीलाई फोहोरबाट मुक्ति दिलाउन खोजिरहेका छौं । फोहोरमैला व्यवस्थापनका लागि महानगरले गर्न सक्ने सबै काम गर्छ’, उनले भनिन्, ‘घरको फोहोर सडकमा ल्याएर राख्नु कानुनी रुपमा अपराध हो । अब सडकमा फोहोर फाल्न पाइँदैन ।’ काठमाडौंमा कोठा भाडामा लिएर बस्ने कतिपयसँग छुट्टाछुट्टै डस्बिन राख्ने अवस्था नहुनसक्छ । यसमा सम्बन्धित घरधनीले अग्रसरता देखाउनु पर्ने उनी बताउँछिन् ।

वातावरणविद् भुषण तुलाधर घरबाटै फोहोर व्यवस्थापन गर्ने महानगरको निर्णय सही भएको बताउँछन् । घरधनीले घरबाटै कुहिने र नकुहिने फोहोर व्यवस्थापन गरे आधाभन्दा बढी समस्या आफैं समाधान हुने उनको भनाइ छ । ‘हामीले फोहोरलाई फाल्ने चिजका रुपमा मात्रै हेर्‍यौं, यसका फाइदाबारे कहिल्यै सोचेनौं । यसमा मोहोर खोज्ने प्रयास नै गरेनौं,’ तुलाधर भन्छन्, ‘घरबाट निस्किने दुई तिहाइ फोहोर कुहिने हो, जसलाई मलका रुपमा प्रयोग गर्नुका साथै ग्यास निकाल्न र बेच्नसमेत सकिन्छ ।’

काठमाडौं महानगरपालिका वातावरण विभागका पूर्व प्रमुख इन्द्रमान सिंह सुवाल महानगरमा संकलन हुने फोहोरमध्ये ६६ प्रतिशत कुहिने रहेको बताउँछन् । घरबाटै फोहोर वर्गीकरण गर्ने विधि उपयुक्त भएको भन्दै यसबारे सर्वसाधारणलाई जागरुक बनाई निरन्तरता दिनुपर्ने उनको भनाइ छ । ‘फोहोर व्यवस्थापनको सुरुवात घरबाटै गर्नुपर्छ’, उनी भन्छन्, ‘यसका लागि स्थानीय जनप्रतिनिधि र महानगरपालिका सक्रिय रुपमा लाग्नुपर्छ ।’

अहिले फोहोर उठाएवापत महानगरपालिकालाई निश्चित शुल्क तिर्नुपर्छ । सर्वसाधारणले कुहिने फोहोरबाट मल बनाए त्यसलाई महानगरपालिकाले खरिद गरिदिएर महानगरपालिका जिम्मेवार र उत्तरदायी रहेको महसुस गराउन सकिने सुवाल बताउँछन् ।

उनका अनुसार महानगरपालिकाले कागज, कम्पोस्ट मल, फलाम, सीसाजस्ता सामग्री किन्न सक्छ । ‘फोहोरको पैसा आएपछि सर्वसाधारणले घरमै फोहोर व्यवस्थापन गर्न सुरु गर्छन् । बानी पर्दै गएपछि यो समस्याबाट पार पाउन सकिन्छ,’ उनले भने ।

वातावरणविद् सनोत अधिकारी घरबाटै फोहोर अलग गर्नुपर्ने महानगरले राम्रो निर्णय गरेको बताउँछन् । ‘काठमाडौंको फोहोरमैला व्यवस्थापन गर्ने उत्तम विधि भनेको घरबाटै व्यवस्थापन गर्नु हो,’ उनी भन्छन्, ‘घरधनीको इच्छाशक्ति र राज्य तथा महानगरपालिकाले नीति नियममा कडाइ गर्ने हो भने यो समस्या समाधान हुन्छ ।’

काठमाडौं महानगरपालिकाका पूर्व वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठ भने पहिलेपनि घरबाट फोहोर छुट्याउन भन्दा प्रभावकारी हुन नसकेको सम्झिन्छन् ।

महानगरले जनचेतना जगाउने कामलाई निरन्तरता दिनुपर्ने भन्दै उनले भने, ‘सर्वसाधारणको बानी सुधार्न र व्यवहारमा परिवर्तन ल्याउन पनि महानगर कठोर बन्न जरुरी छ । अब महानगरले अनुगमन गरेर नियम पालना नगर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?