+
+

भारतबाट फर्किएका युवकको कैलालीमा मृत्यु, सँगै आएका ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २९ गते १४:४६

२९ जेठ, धनगढी । भारतबाट अछाम फर्किएका एक युवकको कैलालीमा मृत्यु भएको छ । मुम्बईबाट फर्किएका चौरपाटी गाउँपालिका–१ का अन्दाजी ३२ वर्षीय धनबहादुर शाहको मृत्यु शंकास्पद रहेको भन्दै आफन्तले अनुसन्धानको माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले शाहको शव सेती प्रादेशिक अस्पतालमा राखिएको जानकारी दिए । उनका अनुसार घटनाको अनुसन्धानका लागि शाहसँगै घर फर्किरहेका तीन जनालाई नियन्त्रणमा लिइएको छ ।

शाहका आफन्तले भने भारतबाट फर्किँदा उनीहरुले गरगहना र नगद चोरी गरेको ल्याएको र भागवण्डामा कुरा नमिलेपछि हत्या गरेको दाबीसहित किटानी जाहेरी दिएको तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेको आरोप लगाएका छन् ।

मृतकका आफन्त रवीन्द्र शाहले भारतको मुम्बईबाट उनीहरुले ठूलो मात्रामा नगद र गरगहना चोरी गरेर ल्याएको हुन सक्ने भन्दै लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको हुनसक्ने बताए ।

‘उनीहरु काम गर्ने घरबाट नगद र गरगहना चोरी भएको भन्ने कुरा आएको छ । सीसीटीभी फुटेज हेर्दा बाहिरबाट खाली हात भित्र प्रवेश गरेका उनीहरुले सामान बोकेर बाहिर आएको दृष्य छ,’ शाहले अनलाइनखबरसँग भने, ‘त्यहाँ भएका हाम्रा दाजुभाइहरु फुटेज लिएर घर फर्किदै हुनुहुन्छ ।’

रवीन्द्रका अनुसार भारतबाट फर्किएका धनबहादुरसहित चार जना २६ जेठमा धनगढी बसपार्कस्थित होटलमा बसेका थिए । धनबहादुर बिरामी भएपछि माया मेट्रो अस्पतालबाट औषधी किनेर खुवाएका थिए तर स्वस्थ नभएपछि २७ गते पुनः सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

ठीक भएपछि अछामतिर लागेका उनीहरुले पछि फेरि धनबहादुर बेहोस भएको भन्दै माया मेट्रो अस्पतालमा लगेका र अस्पतालले उनलाई मृत घोषणा गरेको आफन्त रवीन्द्रले बताए । घटनाबारे आफूहरुलाई ढिलो खबर गर्नुले पनि आशंका भएको उनी बताउँछन् ।

‘बेहोस भएपछि मृतकसँगै रहेका खडकबहादुर शाह र कृष्णबहादुर शाह कैलालीको खानीडाँडाबाट धनगढी फर्किएको देखिन्छ भने पदम साउद भन्ने व्यक्तिले झोला लिएर अछामतर्फ गएका रहेछन्’, उनले भने ।

जिल्ला प्रहरी कार्यालयले शव परीक्षणपछि मात्र किटानी जाहेरी दर्ता गर्न सकिने बताएपछि मृतक परिवारले जाहेरी दर्ताअघि परीक्षण गर्न नदिने अडान लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?