+
+

नम्बर तीन पोजिसनमा जम्दै देव खनाल

पारस पुस्ता सकिएपछि अहिले राष्ट्रिय टिममा नयाँ पुस्ताको बाहुल्य छ । दीपेन्द्र सिंह ऐरी र रोहित पौडेल राष्ट्रिय टिमको मुख्य हिस्सा बनिसक्दा ओपनिङमा कुशल र आसिफले आफ्नो स्थान बनाइसकेका छन् । यसमा अब थपिएका छन् देव खनाल ।

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ जेठ ३० गते १८:२१
अमेरिकामा घरेलु टोलिवरुद्धको खेलमा देव ।

३० जेठ, काठमाडौं । सन् २०१७ मा विश्वकप क्रिकेट लिग अन्तर्गत केन्या विरुद्ध कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेल तत्कालीन कप्तान पारस खड्काले चोटका कारण खेलेनन् । उनी टिममै थिए तर डगआउट मै बसेर खेल हेरे ।

पारस नहुँदा नयाँ खेलाडीले डेब्यु गर्ने अवसर पाए । त्यसबेला दीपेन्द्रले पारसकै स्थान चौथो नम्बरमा ब्याटिङ गरे । दीपेन्द्रसँगै डेब्यु गरेका सुनिल धमलाले ज्ञानेन्द्र मल्लसँग ओपनिङ गरेका थिए भने सागर पुनले वान डाउनमा खेलेका थिए ।

पारसको पुस्ता अब लगभग सकिएको छ । पारसले सन्यास नै लिइसके भने त्यसपछि कप्तान बनेका ज्ञानेन्द्र मल्ल पनि पछिल्लो समय टिममा पर्न छाडिसके । सुरुमा तेस्रो नम्बरमा ब्याटिङ गरेका ज्ञानेन्द्रले पछिल्ला केही वर्ष ओपनिङ समेत गरे ।

ओपनिङमा कुशल भुर्तेल र आसिफ शेखको जोडी जमेपछि ज्ञानेन्द्र फेरि नम्बर तीनमै पुगेका थिए । तर कप्तानबाट हटाइएपछि एउटा शृंखला मात्र खेलेका ज्ञानेन्द्र गत चैतमा घरेलु मैदानमा भएको पपुवा न्यु गिनीसँगको एकदिवसीय तथा पपुवा न्यु गिनी र मलेसिया विरुद्धको टी-२० त्रिकोणात्मक शृंखलामा टिममा परेनन् ।

जसरी पारसले नखेल्दा नयाँ खेलाडीले अवसर पाएर आफूलाई प्रमाणित गरेका थिए, अहिले ज्ञानेन्द्र टिममा नहुँदा ठिक त्यसैगरी नयाँ खेलाडीले नम्बर तीनमा ब्याटिङ गर्ने अवसर पाएका छन् । उनी हुन् रुपन्देहीका १७ वर्षीय युवा ब्याटर देव खनाल । पीएनजीसँगको एकदिवसीय शृंखलाबाटै डेब्यु गरेका देव खनालले पछिल्लो समय यस फर्म्याटमा वान डाउनमा ब्याटिङ गर्दै आएका छन् । टी-२० शृंखलामा भने रोहित पौडेलले वान डाउनमा ब्याटिङ गरेका थिए ।

एकदिवसीयमा भने देवले नै निरन्तरता पाएका छन् । उनले अहिलेसम्म जम्मा चार वटा एक दिवसीय खेल्दा दुई अर्धशतक प्रहार गरिसकेका छन् । कीर्तिपुरमा पीएनजी विरुद्ध डेब्यु गर्दा ६ बल खेल्दै शुन्यमा आउट भएका देवले पीएनजीसँगको दोस्रो खेलमा ७२ रन बनाए ।

डेब्यु शृंखलामा राम्रो गरेपछि उनले लिग टु खेल्ने टिममा पनि स्थान बनाए । हाल अमेरिकामा भइरहेको लिग टु को दुई खेलमा पनि उनले राम्रो गरिरहेका छन् । पहिलो खेलमा ओमान विरुद्ध ३४ रन बनाएका उनले दोस्रो खेलमा अमेरिका विरुद्ध ५४ रन बनाए ।

अमेरिकामा घरेलु टोलिवरुद्धको खेलमा देव ।

पहिलो खेलमा ओपनर सुबास खकुरेल आउट भएपछि क्रिजमा पुगेका देवले अर्का ओपनर सुनिल धमलासँग ३३ रनको साझेदारी गरेका थिए । त्यसपछि रोहित पौडेलसँग ३१ रनको साझेदारी गरे । देवले ५३ बल खेल्दा ५ चौका पनि प्रहार गरेका थिए । उक्त खेलमा नेपालका लागि आरिफ शेखले सर्वाधिक ६६ रन बनाएका थिए तर नेपाल १३ रनले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले अमेरिकासँग बराबरी गर्दा तीन खेलाडीले अर्धशतक प्रहार गरे । जसमा देवले ६९ बल खेल्दै ३ चौका मद्दतमा ५४ रन बनाए । यसै खेलबाट एकदिवसीयमा डेब्यु गरेका देवका यू-१९ टिम मेट आदिल अन्सारीले अन्तिम ओभरमा शानदार बलिङ गर्दै ६ रन रक्षा गरेपछि नेपालले नाटकीय रुपमा खेल बराबरी गरेका थिए ।

देवले पनि तीन नम्बर पोजिसनलाई न्याय गर्दै ब्याटिङ गरिरहेका छन् । विशेष गरी तेस्रो नम्बरका ब्याटरको काम ओपनर छिटो आउट हुँदा सम्हालिएर इनिङ्स अघि बढाउन हुन्छ । त्यसमा देव चुस्त देखिन थालेका छन् ।

पारस पुस्ता सकिएपछि अहिले राष्ट्रिय टिममा नयाँ पुस्ताको बाहुल्य छ । ग्लोबल स्टार सन्दीप लामिछानेले नेतृत्व गरेको टिममा उनी भन्दा अघि डेब्यु गरेका विनोद भण्डारी सोमपाल कामी, आरिफ शेख र करण केसी मात्र छन् । विनोद नियमित टिममा पर्न छाडिसकेका छन् । यस्तै दीपेन्द्र सिंह ऐरी र रोहित पौडेल राष्ट्रिय टिमको मुख्य हिस्सा बनिसक्दा ओपनिङमा कुशल र आसिफले आफ्नो स्थान बनाइसकेका छन् । यसमा अब थपिएका छन् देव खनाल ।

देवलाई लामो समयका लागि नेपाली टिममा खेल्न सक्ने र अहिले देखिएको ब्याटिङको समस्यालाई समाधान गर्न सक्ने खेलाडीको रुपमा हेरिएको छ । उनको सट सेलेक्सनदेखि टेक्निक पनि राम्रो छ । त्यसैले अब देव ‘लङ’ रेसको घोडा बन्न सक्छन् । देवले ४ एकदिवसीयमा १६० रन बनाएका छन् ।

उमेर समूहमा खारिएका देव : ओपनरदेखि तेस्रो नम्बरसम्म

गत पुसमा नेपाल क्रिकेट संघ (क्यान) ले लामो समयपछि यू-१९ राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा देव लुम्बिनी प्रदेशको कप्तान थिए । लुम्बिनीलाई उपाधि जिताएका देवले प्रतियोगितामा चार अर्धशतसहित सर्वाधिक ३३४ रन बनाए । उनी प्रतियोगिताको उत्कृष्ट ब्याटर समेत बने ।

त्यही प्रतियोगितालाई आधार मानेर युएईमा भएको यू-१९ एसिया कपका लागि टिम छनोट गरियो । लुम्बिनीलाई आफ्नै नेतृत्वमा उपाधि जिताएका र मैदानमा उस्तै प्रदर्शन गरेका देव नै यू-१९ राष्ट्रिय टिमको कप्तान बने । यू-१९ एसिया कपमा भने देवको ब्याट खासै चलेन । उनले त्यहाँ तीन खेलमा कूल ४५ रन बनाए ।

२०७८ चैतमा पपुवा न्यु गिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमा देव ।

देवले लुम्बिनी प्रदेशको सिनियर टिमबाट प्रधानमन्त्री कप टी-२० क्रिकेट खेले । जसमा उनले ओपनिङ गरेका थिए । चार खेलमा दुई अर्धशतकसहित देवले १५८ रन बनाएका थिए । सर्वाधिक रन बनाउनेमा चौथो स्थानमा रहेका उनी आसिफ शेख, प्रदीप ऐरी र कुशल भुर्तेल भन्दा पछि थिए ।

त्यसभन्दा अघिल्लो प्रधानमन्त्री कप ५० ओभरको भएको थियो । त्यसमा देवले नेपाल पुलिस विरुद्धको डेब्यु खेलमै ४९ रन बनाए । त्यसबेला चौथो नम्बरमा ब्याटिङ गरेका देव पछि भने ओपनिङमा आए । उनले यू-१९ राष्ट्रिय प्रतियोगिता, यू-१९ एसिया कप र पछिल्लो प्रधामन्त्री कपमा ओपनिङ नै गरेका थिए । समस्याको रुपमा रहेको नेपालले ओपनिङ जोडीका रुपमा कुशल र आसिफलाई पाउनु अनी ज्ञानेन्द्र मल्ल पनि टिममा नभएपछि देवले सिनियर टिममा तेस्रो नम्बरमा ब्याटिङ गर्ने अवसर पाए ।

अमेरिका भइरहेको लिग टू शृंखलामासमेत दुई नियमित ओपनर घाइते भएपछि नेपालले सुबास खकुरेललाई अमेरिका झिकाएर सुनिल धमलासँग ओपनिङ गराउँदै देवलाई तेस्रो नम्बरमै खेलाएको छ । यसबाट प्रशिक्षक र टिम म्यानेजमेन्टले देवलाई तेस्रो नम्बरमै तयार पार्न चाहेको देखिन्छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?