+
+

एउटा पदमा उम्मेदवारी दिँदा महिला अनिवार्य गर्छौं : प्रमुख आयुक्त थपलिया

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १७:५०

३० जेठ, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनमा एउटा मात्र पदमा उम्मेदवारी दिने दलको उम्मेदवार महिला हुनुपर्ने गरी कानून बनाउने बताएका छन् ।

सोमबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले आयोगले बनाएको नयाँ कानुनको मस्यौदामा एक पदमा मात्र उम्मेदवारी दिए महिला नै हुनुपर्ने व्यवस्था राख्ने बताएका हुन् ।

‘अहिले आयोगको तयारी के हो भने यदि कुनै दलले एउटा मात्र पदमा उम्मेदवारी दिन्छ भने त्यो महिला नै हुनुपर्नेछ यो नीतिमा पनि लेखेको छ । अहिले हामीले ड्राफ्टमा पनि लेखेका छौँ’ उनले भने, ‘त्यसकारण स्थानीय तहको मुलभूत रुपमा, नेतृत्व तहमा, कार्यकारिणी तहमा महिलाहरुको प्रतिशत बढाउनको निम्ति यो पर्याप्त हुन्छ । आयोगले अब बनाउने कानूनमा यसलाई तदनुसार अगाडि बढाउँछ ।’

३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा दलहरुले आपसमा तालमेल गरी प्रमुख वा उपप्रमुख पदमध्ये एउटामा मात्र उम्मेदवारी दिएका थिए । त्यसरी उम्मेदवारी दिँदा दुबै पुरुष निर्वाचित भएको र महिला प्रतिनिधित्व कम भएको प्रश्न उठेको थियो ।

बैठकमा राष्ट्रिय सभा सदस्यहरुले स्थानीय तह निर्वाचनमा महिला सहभागिता अपेक्षाकृत हुन नसकेको उल्लेख गर्दै महिला जनप्रतिनिधिको संख्यामा वृद्धि गर्नुपर्ने धारणा राखेका थिए ।

छलफलपछि राष्ट्रिय सरोकार तथा समन्वय समितिले आगामी निर्वाचनमा महिला प्रतिनिधित्वलाई सुनिश्चित गर्ने गरी कानूनी सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।

कानून संशोधन गर्नुपर्ने भए संशोधन गर्न र कानूनी व्यवस्था नभए नयाँ बन्ने कानूनमा महिला प्रतिनिधित्व सुनिश्चित हुनेगरी व्यवस्था गर्न सरकारलाई लेखी पठाउने निर्णय गरिएको समिति सभापति दिलकुमारी रावलले बताइन् ।

प्रमुख आयुक्त थपलियाले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु हुने बताएका छन् ।सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयहरुबाट मतदाता नामावली दर्ता गर्न सकिने उनको भनाइ छ ।

त्यस्तै अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने प्रमुख आयुक्त थपलियाले बताए । उनले यसपटक को स्थानीय तह निर्वाचनमा दलीय उम्मेदवारी र गैरदलीय मतदानको अभ्यास भएको भन्दै सोही अभ्यासका कारण धेरै मत बदर भएको हुनसक्ने तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?