+
+
रासायनिक मल :

संसदले निर्देशन दियो, सरकार आफैंलाई विश्वास छैन

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ जेठ ३० गते २०:२४

३० जेठ, काठमाडौं । सोमबारको प्रतिनिधिसभा बैठकमा मल नपाएका किसानका कष्टका बारेमा साढे ६ घण्टा लामो छलफल भयो । छलफलपछि प्रतिनिधिसभाले किसानलाई रासायनिक मल उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विशाल भट्टराईले पेश गरेको रासायनिक मलसम्बन्धी  ‘स्थगन  प्रस्ताव’ सर्वसम्मतिले पारित गर्दै प्रतिनिधिसभाले सरकारलाई मल उपलब्ध गराउन सबै उपाय लगाउन निर्देशन दिएको हो ।

‘कुल ग्रार्हस्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्न प्राथमिकता दिँदै कृषि उत्पादन वृद्धि गर्न आवश्यक रासायनिक मल कृषकलाई सहज रुपमा उपलब्ध गराउन सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न प्रतिनिधिसभाको यो बैठक नेपाल सरकारलाई निर्देश गर्दछ’, छलफलपछि प्रतिनिधिसभाले पारित गरेको विशेष प्रस्तावमा भनिएको छ ।

छलफलका क्रममा सत्तारुढ र प्रतिपक्षी दलका संसदहरुले सरकारले बेलैमा ध्यान नपुर्‍याउँदा देशैभर रासायनिक मल अभाव भएको भएका थिए । मल अभावमा किसानको बारीमै मकै सुकेकोदेखि भारतीय सीमा क्षेत्रमा बल्लतल्ल पाएको मल समेत सुरक्षाकर्मीले खोसेकोजस्ता किसानको समस्या सांसदहरुले सुनाएका थिए ।

किसानले मल नपाएर भौतारिरहेको बेला कृषिमन्त्री मन्त्री विदेश भ्रमणमा गएको भन्दै कृषिमन्त्री विरुद्ध खनिएका सांसदहरुले मल खरिदमा भ्रष्टाचार भएको समेत आरोप लगाए ।

धानबाली लगाउने मूख्य सिजनमा अघिल्ला वर्षहरु जस्तै रासायनिक मल अभाव हुँदा खाद्य संकट आउने चिन्ता पनि सांसदहरुको थियो । मनसुन छिटै सक्रिय हुँदा किसान धान रोप्न उत्साहित भइरहेका छन्, तर यही बेलामा मल नपाउँदा किसान निराश छन् । तर, जानकारहरु प्रतिनिधि सभाको यो निर्देशनलाई कर्मकाण्डी मात्रै मान्छन् । मल ल्याउने प्रक्रिया थाल्ने बेलामा संसद मौन बसेको र समयमा मल नआउने पक्काजस्तै भएपछि जस लिन ठूला कुरा गर्ने परिपाटी देखिएको कृषि क्षेत्रका जानकार बताउँछन् ।

प्रधानमन्त्री नै लाग्दा पनि आएको थिएन मल

दुई वर्षअघि पनि ठेकेदारले सम्झौता अनुसार मल नल्याएपछि देशभर रासायनिक मल अभाव भएको थियो । धानमा राख्ने बेलामै मल अभाव भएपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलदेशसंग पैंचोमा ५० हजार मेट्रिकटन मल मागेका थिए । १६ भदौ २०७७ मा दुई देशका प्रधानमन्त्री बीच मल पैंचोको सहमति भए पनि उक्त मलको पहिलो खेप त्यसै वर्षको १८ फागुनमा आएको थियो ।

कृषि सामाग्री कम्पनीकाअनुसार मल खरिद सम्झौता, प्याकेजिङ र ढुवानी ठेक्काका कारण मल नेपाल आइपुग्न ६ महिना लागेको थियो । अघिल्लो वर्षको भदौमा खरिद थालिएको मल पछिल्लो वर्षको असारमा पूर्ण मात्रामा नेपाल आएको थियो ।

कति छ नेपालमा रासायनिक मल

कृषि मन्त्रालयका अनुसार मकै र धानमा हाल्नुपर्ने सिजनमा अहिले किसानलाई कम्तीमा २ लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता छ । तर, सरकारी गोदाममा एक दिनका लागि मात्रै वितरण गर्न पनि मल छैन ।

सरकारी स्वमित्वको कृषि समाग्री कम्पनीसंग अहिले ५ हजार २ सय मेट्रिक टन युरिया, ७ हजार मेट्रिक टन डीएपी र ६ हजार ९७२ मेट्रिक टन पोटास मल मौज्दात छ । यस्तै अर्ध सरकारी स्वमित्वको साल्ट ट्रेडिङसंग ६ हजार मेट्रिक टन डीएपी र ५ सय मेटिक टन युरिया मात्रै उपलब्ध छ ।

मल आउनेमा मन्त्री नै छैनन् ढुक्क

रासायनिक मल सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदले गरेको प्रश्नको जवाफ दिँदै कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवले ठेक्का सम्झौताअनुसार मल नआएको बताए । कृषि सामग्री कम्पनी लिमिटेडले टेण्डर गरेको एक लाख पाँच हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनीले एक लाख १७ हजार मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया सुरु भएको तर समयमै ल्याउन नसकिएको उनको भनाइ छ ।

मन्त्रालय स्रोतका अनुसार दुई कम्पनीमार्फत मल ल्याउन भएको ठेक्काको रकम मात्रै झण्डै २० अर्ब रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजार मूल्य र उपलब्धता नबुझी सस्तोमा टेण्डर हात पारेका व्यापारीका कारण मल पनि नआउने र ठेक्का प्रक्रिया पनि लम्बिने समस्या यस वर्ष पनि देखिएको छ ।

भारत आफैं मल अभावबाट गुज्रिएका कारण उसले जीटूजी (सरकार–सरकारबीचको सम्झौता) मार्फत नेपाललाई दिने भनेको मलमा अर्घेल्याई गरेको मन्त्रालय स्रोतले बतायो । २०७७ फागुनमै सुरु भएको भारतसंगको जीटूजीमा मल खरिदको प्रक्रिया २१ महिनासम्म सम्पन्न हुन नसक्नु त्यसैको कारण भएको अधिकारीहरु बताउँछन् ।

‘आलोचना हुने डरले मन्त्रीज्यूले जीटूजी भनिरहनुभएको छ, तर मल आउन सम्भव छैन’ मन्त्रालय स्रोत भन्छ, ‘मल ल्याउन खरिद सम्झौता हुनुपर्ने कृषि सामग्री कम्पनी र भारतीय समकक्षी कम्पनीले अझै खरिद सम्झौता गर्न नसकेका कारण सम्झौता हुने र खरिद प्रक्रिया थाल्ने काम सहज र तत्काल छैन ।’

सोमबारको प्रतिनिधिसभामा जवाफ दिँदै कृषि मन्त्री यादवले मल कहिले आउँछ भन्दा पनि मल ल्याउन कठिनाई भएको कारण धेरै बताउनुले पनि यसलाई पुष्टी गर्ने अधिकारीहरु बताउँछन् । निजी व्यापारीले ठूलो मात्रामा नानो युरिया मल नेपाल ल्याएको र मन्त्रीले घुमाउरो भाषमा त्यसकै प्रयोग गर्नुपर्ने संकेत गरेको मन्त्रालयकै अधिकारीहरु बताउँछन् ।

मन्त्री यादवले आयात प्रक्रियामा रहेका सबै मल आउन सक्ने सम्भावना मात्रै रहेको संसदमा बताएका छन् । साल्ट ट्रेडिङबाट खरिद भएको २२ हजार मेट्रिक टन यूरिया र कृषि सामाग्रीको थप ३० हजार मेट्रिक टन युरिया मल असार मसान्तसम्म आउन सक्ने सम्भावना मात्रै रहेको मन्त्री यादवले बताएका छन् । यस्तै असारको अन्तिम हप्ता कृषि सामग्रीकै २० हजार मेट्रिक टन डीएपी आयात हुन सक्ने पनि उनले बताए ।

के के छन् समस्या ?

रासायनिक मलको अभाव नेपालमा मात्रै नभई संसारभर रहेको साल्ट ट्रेडिङ कर्पोरेसनले जनाएको छ । मल ल्याउनका लागि गरिएका अनेकन प्रयास ठूला मुलुकको प्रतिस्पर्धा र कार्टेलिङका कारण असम्भव भएको कर्पोरेसनका सूचना अधिकारी कुमार राज भण्डारीले बताए ।

सार्वजनिक खरिद ऐन अन्र्तगत रासायनिक मलको ठेक्काको सूचना नै ४५ दिनको हुने भन्दै उनले भने खरिद प्रक्रियामा पूर्णता पाउन नै ३ महिना भन्दा बढी लाग्ने राजभण्डारीले बताए । ‘अहिले त ठेक्का नै लाग्दैन लागे पनि लागतको दरभाउमा पर्दैन र मल आउँदैन’, उनले थपे ‘मल ल्याउन जीटूजी नै हो त्यो पनि कठिन देखिन्छ ।’ प्रतिस्पर्धाका कारण मल दिन कुनै पनि मुलुक इच्छुक नदेखिएको पनि उनले बताए ।

वरिष्ठ कृषि अर्थविज्ञ डा. श्रीराम घिमिरे सांसदहरुले सोमबार संसदमा गरेको छलफल सार्वजनिक खपतका लागि मात्रै भएको बताउँछन् । मल नआउने समस्या अहिलेको मात्रै नभएको भन्दै उनले भने ‘२० वर्षदेखि मलको समस्या जस्ताको त्यस्तै छ । हरेक वर्ष कृषि मन्त्री र सचिव संसदमा उभिएर जवाफ दिइरहेका छन् तर किसानले मल पाएका छैनन्,’ घिमिरे भन्छन् ‘तर पनि मल किन आएन भनेर संसदहरु जिम्मेवार देखिन्नन् ।’

मल छिटो ल्याउन कानुनी सहजीकरण गर्नु भन्दा पनि मल चाहिने बेलामै मल ल्याएन भनेर बोल्नुको कुनै अर्थ नहुने उनले बताए । मलमा मुख्य समस्या खरिद प्रणाली भएको भन्दै यसलाई संसदले कानुन बनाएर सहजीकरण गर्नुपर्ने घिमिरे बताउँछन् ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?