+
+

यो वर्ष एसईईको प्रश्नपत्र प्रदेशले जाँच्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते २०:२९

३० जेठ, काठमाडौं । यस वर्ष सञ्चालित माध्यामिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका प्रदेश स्तरमा जाँच हुने भएको छ । प्रदेशले विद्यार्थीको प्राप्ताङ्क सफ्टवेयर मार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र बोर्डले रुजु गरी नतिजा प्रकाशन गर्ने भएको छ । नतिजा असार मसान्तसम्म निकाल्ने गरी काम भईरहेको बोर्डले जनाएको छ ।

बोर्डले यो वर्ष प्रदेश परीक्षा समिति बनाएर परीक्षा सञ्चालन, अनुगमन, निरीक्षण, परीक्षा केन्द्रका मापदण्डहरु निर्धारण, उत्तरपुस्तिका संकलन, परीक्षण, अंक चढाउन सक्ने अधिकार दिएको छ ।

पाठ्यक्रममा आधारभूत तहको अन्तिम परीक्षा स्थानीय सरकारले, कक्षा १० को अन्तिम परीक्षा प्रदेशले र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने भन्ने उल्लेख छ । तर यस अनुसार शिक्षा ऐन संशोधन नभएकाले प्रश्नपत्र बोर्डले बनाउने र प्रदेशलाई पनि केही अधिकार दिने गरी काम गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

उनले भने ‘ऐन परिवर्तन नभएसम्म पाठ्यक्रमले भने अनुसार हुँदैन । तर, प्रदेशलाई पनि अधिकार दिनुपर्छ भनेर हामीले नियमावली बनाएर प्रदेशलाई जिम्मेवारी दिएका छौं ।’

बोर्डले केही दिनभित्रै प्रत्येक प्रदेशमा विद्यार्थीको प्राप्ताङ्क चढाउनको लागि विशेष सफ्टवेयर जडान गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।

परीक्षाको मानक कायम राख्न प्रश्नपत्रको मोडेल

यो वर्ष एसईई परीक्षामा अंग्रेजी, विज्ञान, गणित विषयको प्रश्नपत्र गाह्रो भएको केही विद्यार्थीको थियो । त्यसैले प्रश्नपत्रको मोडल एउटै बनाउने गरी तयारी भइरहेको बोर्डले जनाएको छ ।

बोर्डका अध्यक्ष शर्माले भने ‘अहिले सेट फरक फरक बनाए पनि टेस्टेड छैन । तीन विषयको प्रश्न गाह्रो आयो भनेर कमेन्ट आयो । त्यो आउनुको अर्थ कुनै ठाउँमा एउटा सेट भन्दा अर्को सेट अप्ठ्यारो भयो । त्यसैले अर्को वर्षदेखि कक्षा १० को तीन वटा विषयमा समानान्तर सेट बनाउने तयारी गरिरहेका छौं ।’

त्यसको लागि जिल्ला जिल्लाबाट प्रश्न मगाएर सय सेटको प्रश्न बनाउने त्यसमध्ये छनौट गरेर १०÷१२ समानान्तर सेट बनाई अर्को वर्षदेखि प्रयोग गर्ने शर्माले बताए ।

स्थानीय तहको शिक्षकलाई तालिम

आधारभूत तहको अन्तिम परीक्षाको स्थानीय तहले सञ्चालन गरिरहेको छ । सबै स्थानीय तहले परीक्षा सञ्चालन गर्दा ७५३ ठाउँमा त्यति नै तरिकाले परीक्षा सञ्चालन हुने, प्रश्नपत्र, परीक्षण पनि त्यति नै प्रकारले हुँदा स्ट्यान्डर्ड पनि फरक फरक आइरहेकाले कक्षा ८ को पनि प्रश्नपत्रको नमुना तयार गरेको छ । सबै पालिकाको परीक्षा, नतिजाको मानक कायम गर्नको लागि नमुना प्रश्नपत्र तयार गरिएको बोर्डका अध्यक्ष शर्माले बताए ।

उनले भने ‘पाठ्यक्रम एउटै हुँदा पनि फरक फरक स्ट्यान्डर्ड आएकोले एउटै किसिमको प्रश्नपत्र निर्माणमा शिक्षकलाई सहभागी गराइयो भने शिक्षण सिकाई पनि त्यसरी नै हुन्छ भनेर कार्यशाला गोष्ठी गर्ने तयारी गरेका छौं ।’

एउटै किसिमको प्रश्नपत्र तयार गर्नको लागि सबै स्थानीय तहको शिक्षकहरुको लागि कार्यशाला गोष्ठी सञ्चालन गर्ने तयारी गरेको बोर्डले जनाएको छ । यसले शिक्षण सिकाईमा पनि सुधार हुने उनको आशा छ ।

शिक्षकका लागि कार्यशाला गोष्ठी गर्नुअघि सबै स्थानीय तहको अधिकृतहरुलाई अभिमुखीकरण तालिम दिइने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । उनले भने ‘अब हामीले केही दिनभित्र सबै स्थानीय तहका अधिकृतहरुलाई अभिमुखीकरण तालिम दिन्छौं । साउनपछि शिक्षकहरु लक्षित कार्यशाला स्थानीय तहमा नै गर्छौं ।’

राष्ट्रिय परीक्षा बोर्ड, पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानवस्रोत विकास केन्द्रको समन्वयमा अभिमुखीकरण तालिम तथा कार्यशाला गोष्ठी हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?