+
+
Shares
जेनजी आन्दोलन असर :

सीटीईभीटीको १४ हजार ७०० वटा उत्तरपुस्तिका जल्यो, त्रिविको ६५२ जनाको

सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको प्रवक्ता टैलेन्द्र आचार्यले बताए । उनका अनुसार प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएको छ । 

दिनेश गौतम दिनेश गौतम
२०८२ असोज २३ गते २२:०२

२३ असोज, काठमाडौं । जेनजी आन्दोलनमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को १४ हजार ७०० वटा उत्तरपुस्तिका र  त्रिभुवन विश्वविद्यालयको ६५२ जना विद्यार्थीको उत्तर पुस्तिका जलेको छ । सबैभन्दा धेरै सीटीईभीटीका विद्यार्थीको उत्तरपुस्तिका जलेको छ ।

सीटीईभीटीको डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको प्रवक्ता टैलेन्द्र आचार्यले बताए । उनका अनुसार प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएको छ ।

कोशी प्रदेशका ५ वटा र बागमती प्रदेशका १८ वटा परीक्षा केन्द्रहरूको उत्तरपुस्तिका जलेर नष्ट भएको छ । केही उत्तरपुस्तिकामा आंशिक क्षति पुगेको छ । कोशीका पाँच केन्द्रको उत्तर पुस्तिकामा नियमिततर्फ १ हजार ९३७ वटा र आंशिकतर्फ १ हजार ६५० गरी ३ हजार ५८७ वटा उत्तर पुस्तिका जलेको छ ।

बागमतीका १८ वटा केन्द्रको ११ हजार २०३ वटा गरी जम्मा १४ हजार ७९० वटा उत्तरपुस्तिका जलेको छ । तर यो विद्यार्थीको संख्या भने होइन ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार एउटै विद्यार्थीको एकभन्दा बढी उत्तरपुस्तिका जलेको छ ।

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यालयले जलेर नष्ट भएका उत्तरपुस्तिकाको पुनः परीक्षा गर्ने भएको छ । कार्यालयका अनुसार ४ मंसिरदेखि पुनः परीक्षा गर्ने सूचना जारी गरेको छ ।

तर, सीटीईभीटीका विद्यार्थीले पुनः परीक्षा नदिने बताइरहेका छन् । सीटीईभीटीले पुनः परीक्षाको सूचना निकालेपछि विद्यार्थीले विरोध जनाएका हुन् । सीटीईभीटी कार्यालय पुगेर विद्यार्थीहरूले पुनः परीक्षा लिने निर्णयबाट ब्याक हुन दबाब दिइरहेका छन् ।

‘आफूले घरमा पढेको हुन्छ । परीक्षा दिएको छ । फेरि पढेर परीक्षा दिन समस्या हुन्छ । पढ्दै काम गर्दै गरेका छौँ । हामीसँग पनि समय हुँदैन । उत्तरपुस्तिका सुरक्षित गर्न नसक्ने कस्तो सरकार ?,’ सीटीईभीटीका एक विद्यार्थीले प्रश्न गरे ।

सिधै उत्तीर्ण गर्नुपर्ने माग विद्यार्थीहरूको छ । ‘परीक्षा भएको २४ घण्टाभित्र उत्तरपुस्तिका सीटीईभीटीमा ल्याउनु पर्ने हो । अब परीक्षाको पक्षमा छैनौं,’ ती विद्यार्थीले भने ।

सीटीईभीटीका प्रवक्ता आचार्यका अनुसार परीक्षा गर्ने सहमति भएको छ । ‘हिजो सदस्यसचिव, परीक्षा नियन्त्रक र प्रशासनसहित वार्ता टोली बसेर परीक्षा गर्ने सहमति भएको छ,’ उनले भने ।

त्रिविको स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो । परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीका अनुसार तीन वटा परीक्षा केन्द्रको उत्तरपुस्तिका जलेको छ । ‘उत्तरपुस्तका जलेका कारण पुनः परीक्षाको सूचना निकाल्दै छौँ,’ उनले भने ।

हेर्नुहोस् जलेका उत्तरपुस्तिकाहरूको विस्तृत विवरण :

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?