
२१ वैशाख, काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसईईको उत्तरपुस्तिका परीक्षण सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)का अनुसार हिजो (शनिबार) परीक्षणको काम सुरु भएको हो ।
‘सबै ठाउँबाट परीक्षणको काम धमाधम भइरहेको छ । शनिबारदेखि नै परीक्षण सुरु भएको हो,’ परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले भने ।
उनका अनुसार ५० ठाउँबाट उत्तरपुस्तिका परीक्षण भइरहेको छ । बोर्डले असार पहिलो साता नजिता सार्वजनिक गर्ने तालिका थियो ।
तर शिक्षकहरूको आन्दोलनका कारण परीक्षणको काम ढिला गरी सुरु भएको हो ।
‘शिक्षकहरूले जतिसक्दो छिटो परीक्षणको काम सक्नुहुन्छ । नतिजा त्यति नै छिटो हुन्छ । अब शिक्षकहरूको हातमा छ,’ नियन्त्रक भट्टराईले भने ।
२० चैतदेखि २९ दिन शिक्षकहरूको आन्दोलनका कारण परीक्षणमा ढिलाइ भएको हो ।
एसईई परीक्षा गत ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थीहरू समावेश थिए ।
प्रतिक्रिया 4