+
+

तनहुँमा चितुवाको आक्रमण बढ्दो, फेरि बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते २०:०४
फाइल तस्वीर

३१ जेठ, दमौली । तनहुँको बन्दिपूर गाउँपालिकामा चितुवाको आक्रमणबाट फेरि एक बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा बन्दिपूर वडा नं. १ का पाँच वर्षीय सुप्रिम थापा रहेको डीएसपी युवराज खडकाले जानकारी दिए ।

खेल्दै गरेको अवस्थामा एकाएक हराएका उनलाई प्रहरी र स्थानीयबासिन्दाले खोज्ने क्रममा खेल्दै गरेको ठाउँबाट २ सय मिटर माथि छपेली सामुदायिक वनमा मृत फेला पारेका हुन् । बालकको घाँटीमा चितुवाले नंग्रा गाढेको निशान देखियो ।

त्यसअघि शनिबार राति र आइतबार चितुवाको आक्रमणबाट बन्दीपूर–१ र ४ मा दुई जना घाइते भएका थिए । पछिल्ला केही दिन यता चितुवाको आक्रमण बढेको बन्दीपूर गाउँपालिका–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठ बताउँछन् ।

वि.सं. २०७४ फागुन यता चितुवाको आक्रमणबाट तनहुँमा ११ जना बालबालिकाले ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

सुरुमा भानु नगरपालिकाको वडा नम्बर १, २, ३ र ४ क्षेत्रमा चितुवाको आतंक थियो । अहिले यस क्षेत्रमा केही न्यूनिकरण भए पनि आँबुखैरेनी, बन्दिपुर, व्यास र शुक्लागण्डकी क्षेत्रमा चितुवा आतंक बढेको छ । २०७४ यता भानुमा ६, आँबुखैरेनीमा एक, बन्दिपूरमा ३ र शुक्लागण्डकीमा २ गरी १२ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँको तथ्यांक छ ।

आहारा खोज्दै गाउँ पस्छ चितुवा, बालबालिका बढी जोखिममा

यो अवधिमा जंगलमा करिब ३४ वटा चितुवा मृत भेटिएका थिए भने १९ वटा चितुवालाई मा नियन्त्रणमा लिइ स्थान्तरण गरिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । तर चितुवा मर्ने र स्थानान्तरण गर्ने हुँदा पनि चितुवाको आक्रमण बढ्दो छ । जंगल र चितुवा बढे पनि मृग, बँदेल लगायतका जंगली जनावर बढ्न सकेका छैनन् । जंगलमा ती जनावर चितुवाका लागि आहारा हुन्थे । अहिले ती जनावर कम छन् । त्यसैले पनि चितुवा आहारा खोज्दै गाउँ र शहरमा छिर्ने गरेको वन्यजन्तु सम्बन्धी जानकार बताउँछन् ।

‘पहिले खेतबारी चितुवाका लागि वफर जोन थियो । हतपत त्यो वफर जोन नाघेर चितुवा घरसम्म आउन सक्दैनथ्यो,’ वन कार्यालयका डिभिजन अधिकृत कोमलराज काफ्लेले भने, ‘तर अहिले घर वरपर जंगल बढ्यो । किसानले खेती गर्नै छाडे । त्यो वफर जोन नासियो र चितुवा निर्धक्क घरसम्म आइपुग्यो ।’

साँझ तथा बिहानको समयमा मानिसको घर आँगनमै चितुवा आएर बालबालिकालाई आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय तनहुँ र सम्बन्धित पालिकाको समन्वयमा चितुवा नियन्त्रणका काम भइरहेको छ । तर चितुवाको डर हटेको छैन । त्यसैले चितुवाबाट बच्न मानिस आफू पनि सचेत हुनु पर्छ भन्छन् काफ्ले ।

‘विशेषगरी साँझपख आक्रमण गर्छ । त्यो पनि कोही नभएको बेला । ठूला मान्छेलाई भन्दा बालबच्चा छुट्याएर छोप्छ,’ काफ्लेले भने, ‘एकान्तमा भएको घर र साना बालबच्चा चितुवाको निशानामा पर्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?