+
+

एकीकृत समाजवादीमा रिपोर्टिङ : कांग्रेसले दम्भ देखायो, माओवादीले अहंकार

रामकुमार डिसी रामकुमार डिसी
२०७९ जेठ ३१ गते २१:३६
फाइल तस्वीर ।

३१ जेठ, काठमाडौं । स्थानीय चुनावको समीक्षा गर्न बसेको नेकपा एकीकृत समाजवादीको बैठकमा नेपाली कांग्रेसले दम्भ र माओवादी केन्द्रले अहंकार देखाएको रिपोर्टिङ भएको छ ।

मंगलबारदेखि सुरु भएको स्थानीय कमिटीको बैठकमा ७ वटै प्रदेशबाट रिपोर्टिङ भएको थियो । ‘जुन ढंगले गठबन्धन हुनुपर्ने हो, त्यसरी कार्यान्वयन भएन’, बैठकमा भएको रिपोर्टिङबारे जानकारी गराउँदै नेता बलाराम बास्कोटाले भने, ‘कांग्रेसले दम्भ देखायो, माओवादीले अहंकार देखायो ।’

प्रदेश १ बाट घनेन्द्र बस्नेत, मधेशबाट रामचन्द्र यादव, वागमतीबाट सावित्रा भुसाल, गण्डकीबाट केशवलाल श्रेष्ठ, लुम्बिनीबाट भागवत विश्वासी, कर्णालीबाट प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशबाट गरिमा शाहले रिपोर्टिङ गरेका थिए ।

कांग्रेसको दम्भ र माओवादीको अहंकारकै कारण परिणाम सोचेजस्तो नआएको नेताहरुको निष्कर्ष छ । अध्यक्ष माधव नेपालले पेस गरेको प्रतिवेदनमा समेत ‘गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहने प्रवृत्ति कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रमा देखिएको’ उल्लेख गरिएको छ ।

एकीकृत समाजवादीले एक महानगरपालिका प्रमुख, एक उपमहानगर प्रमुख, १० नगर प्रमुख, ८ गाउँपालिका प्रमुख जितेको छ । ११ नगर उपप्रमुख, १२ गाउँपालिका उपाध्यक्ष, १९० वडाध्यक्ष, १८४ महिला सदस्य, १८० दलित सदस्य र ३९० खुला सदस्य गरी ९८७ स्थानीय जनप्रतिनिधि जितेको छ ।

महानगर र उपमहानगर प्रमुखका साथै ५/५ नगर र गाउँपालिका प्रमुख, ६ नगर उपप्रमुख, ११ गाउँपालिका उप्रमुख गठबन्धनबाट जितेको भन्दै अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्, बाँकी हामीले एक्लै जितेका हौं । वडाध्यक्ष र सदस्यहरु त लगभग सबै नै हामीले एक्लै जितेका हौं ।’

एमालेको केपी ओली विरोधी समूहसँग मिल्न सुझाव

प्रदेशगत रुपमा रिपोर्टिङ गर्ने केही नेताहरुले एकीकृत समाजवादीलाई एमालेविरुद्ध उभ्याएर आफूले फाइदा लिने काम कांग्रेस र माओवादीले गरेको बताएका छन् । एमालेकै केपी ओली समूहसँग मिल्नुपर्ने सुझाव दिएका थिए ।

‘एमालेविरुद्ध एकीकृत समाजवादीलाई उभ्याउने र त्यसको फाइदा आफूहरुले लिन कांग्रेस–माओवादी सफल भए,’ स्थायी समिति सदस्य श्रीप्रसाद साहले बैठकमा आएको सुझावबारे भने, ‘यसरी बेइमानी हुन्छ भने गठबन्धनमा रहने कि नरहने भन्ने कुरामा पुनर्विचार गर्नुपर्छ भन्ने मत पनि आएको छ ।’

उनले अगाडि भने, ‘जसरी कांग्रेस र माओवादीले विभिन्न ठाउँमा एमालेसँग सहकार्य गरे, हामी पनि एमालेभित्रको केपी ओली विरोधी समूहरुसँग किन नजाने ? जानुपर्छ । त्यतातिर पनि हामी सोच्ने कि भन्ने सुझाव पनि आएको छ ।’

गठबन्धनको भविष्यबारे माधव नेपाल मौन

आफ्नो प्रतिवेदनमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धनका सहयात्री दलहरु कांग्रेस र माअ‍ोवादीप्रति असन्तुष्टि पोखेका छन् । उनीहरुले इमान्दारिता नदेखाएको आरोप लगाउँदा पनि नेपालले आफ्नो प्रतिवेदनमा गठबन्धनको आगामी भविष्यबारे भने केही पनि उल्लेख गरेका छैनन् ।

बरु ‘यस निर्वाचनबाट प्राप्त भएको सबैभन्दा ठूलो शिक्षा सफलता प्राप्त गर्नका निम्ति सबभन्दा पहिले बलियो र व्यवस्थित संगठन निर्माण गर्नुपर्दछ’ भन्ने भएको निष्कर्ष पेस गर्दै संघीय चुनावको तयारीमा लाग्न जोड दिएका छन् ।

‘निर्वाचन पार्टीले आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनतामाझ जाने र उनीहरूको मन जित्ने एउटा महत्वपूर्ण अवसर हो,’ नेपालले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्, ‘त्यसैले हरेक पार्टीले यस अवसरलाई अधिकतम रूपमा उपयोग गर्न चाहनु स्वभाविक हो । अबका केही महिनापछि हुन गइरहेको संघ र प्रदेशको निर्वाचनलाई हामीले त्यसै रूपमा उपयोग गर्नु पर्दछ ।’

आगामी निर्वाचन पार्टी जीवनका लागि अर्को एउटा महत्वपूर्ण परिघटना हुने भन्दै उनले भनेका छन्, ‘यसमा प्राप्त गर्ने सफलताले एकातर्फ हाम्रो राजनीतिक हैसियत निर्धारण गर्नेछ भने अर्कोतर्फ हाम्रो भावी राजनीतिक यात्राको आधार पनि निर्माण गर्नेछ । त्यसैले सम्पूर्ण शक्तिका साथ यस निर्वाचनको तयारीमा लाग्नु आजको हाम्रो केन्द्रीय कार्य हो ।’ यसमा पार्टी र जनसंगठनका सबै कमिटी तथा पार्टी सम्बद्ध सबैलाई परिचालन गर्नुपर्ने उनको जोड छ ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?