+
+

सजिलो छैन छाउगोठमुक्त घोषणा कार्यान्वयन

जनक विष्ट जनक विष्ट
२०७९ असार १ गते १४:१८

१ असार, धनगढी । अछामको बान्नीगढी जयगढ गाउँपालिका छाउपडी गोठमुक्त घोषणा भइसकेको छ । तर यहाँका महिलाहरु महिनावारी भएका बेला छाउ गोठमा बस्न बाध्य छन् ।

अछामकै चौरपाटी गाउँपालिकामा स्थानीय प्रशासनले छाउ गोठ भत्काएपछि घरमै छुट्टै कोठा बनाएर सुरक्षित तरिकाले बस्ने क्रम बढेको छ । तर महिनावरी भएको बेला महिलालाई मूल ढोकाबाट होइन, झ्यालबाट कोठामा प्रवेश गर्नुपर्छ ।

बाजुराको हिमाली गाउँपालिकामा भने प्रायजसो महिलाहरु अहिले पनि छाउ गोठमै बस्ने गर्दछन् ।

छाउ गोठमुक्त पालिका घोषणा भएकै ठाउँका महिला पनि छाउ बार्ने र गोठमा बस्ने पुरानै शैलीमा फर्केकाले घोषणा घोषणामै सिमित छ । स्थानीय जनप्रतिनिधिको रोहबरमा भत्काइएका छाउ गोठ कतिपय ठाउँमा फेरि निर्माण भएको छ ।

छाउ गोठमुक्त पालिका घोषणालाई कार्यान्वयन गर्न चुनौती देख्छिन् बान्नीगढी जयगढ गाउँपालिकाकी उपाध्यक्ष विन्दु रावल । महिनावारी भएका बेला छाउ गोठमा बस्ने क्रम भंग नभएपछि उनी महिलालाई सुरक्षित स्थानमा बस्ने प्रबन्ध मिलाउने र छाउ गोठमुक्त घोषणालाई कार्यान्वयन गर्ने विषयमा केन्द्रीत भएर योजना बनाउन थालेकी उनी बताउँछिन् । ‘पालिका गोठमुक्त घोषणा भइसकेको छ तर पनि समस्या जहाँको त्यही छु,’ रावलले अनलाइनखबरसँग भनिन्, ‘गोठमा बस्ने दिदीबहिनीलाई कसरी सुरक्षित स्थानमा बसाउने ? भन्ने योजना बनाएर काम गर्छौं ।’

छाउपडी कुप्रथाविरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने, छाउपडी कुप्रथा हटाउन बनेका ऐन, कानून तथा नीति, नियमबारे जानकारी गराउने, वडास्तरमा गठन गरेका किशोरी समूहमार्फत निगरानी बढाउने कामलाई अघि बढाउने तयारी उनले गरेकी छिन् ।

केहीले त सुरक्षित र व्यवस्थित तर घर भन्दा निकै टाढा छाउ घर बनाएर महिलालाई राख्न थालेको बताउन्छिन् चौरपाटी गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष सरदेवी खड्का । ‘पहिलेको तुलनामा अहिले मान्छेहरु सचेत भइसकेका छन् । महिनावारी हुँदा गोठमा सुताउने दिदीबहिनी घरमै छुट्टै कोठामा बस्न थालेका छन्,’ खड्काले अनलाइनखबरसँग भनिन्, ‘केहीले घरभन्दा टाढा राख्ने गरेको सुन्नमा आएको छ । हामी सचेतना मुलक अभियानमार्फत व्यवस्थित गर्ने काममा लाग्छौँ ।’

छाउ गोठ भत्काउँदै प्रहरी । फाइल तस्वीर

हिमाली गाउँपालिकाकी उपाध्यक्ष राजकला सार्की भने गाउँमा छाउपडी कुप्रथा वर्षौंदेखि जगडिएर रहेको बताउँछिन् । ‘छाउ भएका बेला घरमा बसे देवी देवता रिसाउँछन्, ज्यानै जान्छ, गाईभैंसीले दूध दिंदैन भन्ने गलत धारणा छन्,’ उनी भन्छिन्, ‘अहिलेसम्म हाम्रो गाउँमा छाउ गोठ भत्काउने काम पनि भएको छैन । अब हामी योजनाबद्ध तरिकाले छाउपडी कुप्रथा हटाउने प्रयास गछौँ ।’ आफ्नो कार्यकालमा नै हिमाली गाउँपालिकालाई छाउपडीमुक्त पालिका बनाउने लक्ष्यअनुसार काम गर्ने प्रतिबद्धता उनी व्यक्त गर्छिन् ।

बाजुराकै बडिमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले पालिकालाई छाउ गोठमुक्त बनाएर कुप्रथा निर्मुल गर्ने लक्ष्य राखेकी छन् । तत्काल ४ वटा वडालाई छाउ गोठमुक्त घोषणा गर्ने तयारी रहेको बताउँदै केही बस्ती भने चुनौतीका रुपमा देखिएको सुनाइन् । ‘हाम्रो पालिकामा विगतको तुलनामा छाउपडीबारे स्थानीयहरु धेरै सचेत भइसकेका छन् । अहिले महिलाहरु म्हिनावारी भएका बेला पनि सामान्य समयमा सुत्ने कोठामै सुत्न थालेका छन्,’ थापाले अनलाइनखबरसँग भनिन्, ‘अब पालिकालाई नै छाउ गोठमुक्त बनाउने लक्ष्यलाई निरन्तरता दिने काममा योजनाबद्ध रुपले लागेका छौँ ।’

बैतडीको सिगास गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष धाना धामीले पालिकाभरीमा कतै पनि छाउ गोठमा बस्ने प्रचलन नभएको तर केही मात्रामा छाउ बार्ने, मठमन्दिर पर्ने बाटो प्रयोग नगर्ने जस्ता प्रचलन भने व्याप्त रहेको सुनाइन् । ‘हाम्रोतिर महिनावारी भएका बेला गोठमा बस्ने चलन त छैन । महिला दिदीबहिनीहरु घरमै बस्छन् । घरभित्र ठाउँ नभएको अवस्थामा मात्र भुईँ तलामा बसाउने चलन छ,’ धामीले अनलाइनखबरसँग भनिन्, ‘देवीदेवताका मन्दिर भएको बाटो प्रयोग गरेमा देउता रिसाउँछन् भन्छन् । अब यी स–साना समस्यालाई हटाउने गरी काम गर्न हामी प्रतिबद्ध छौँ ।’

डडेल्धुरा, डोटी, दार्चुला, बैतडी लगायतका जिल्लाहरुमा पनि अछाम, बाजुरा, बझाङको तुलनामा कम, तर छाउपडी प्रथा छ । छाउ गोठमा नबसे पनि महिनावारी भएका बेला छुट्टै बस्ने, छाउ बार्ने, दही, दुध नखाने चलन छ । यी क्षेत्रका नवनिर्वाचित महिला जनप्रतिनिधिले ठूलो समस्याका रुपमा नरहेपनि छाउपडी प्रथालाई हटाउने काममा लाग्ने योजना बनाएका छन् ।

जुनसुकै रुपमा रहे पनि छाउपडी राख्नु वा बस्नु गलत हो । सरकारी तथा गैरसरकारी निकायको सहयोगमा जनचेतना मुलक कार्यक्रम मार्फत छाउपडीबारेको भ्रम चिर्ने काममा सक्रिय हुने, छाउपडी गोठबाट मात्र नभएर मनबाटै हटाउने अभियान सञ्चालन गर्ने लक्ष्य जनप्रतिनिधिले लिएका छन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?