
१ असार, काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले अदालतको आदेशका कारण कालो सूचीमा रहेका ठेकेदारहरुलाई कारबाही गर्न नसकिएको स्पष्टीकरण दिएकी छन् ।
मन्त्री यादवले अदालतको आदेशकै कारण हुलाकी राजमार्गको हजारौं ठाउँको काममा अवरोध भइरहेको पनि जिकिर गरिन् । बुधबार मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले अदालतले कुरै नबुझी आदेश दिएका कारण कालोसूचीमा रहेका ठेकेदारहरुले उन्मुक्ति पाउने गरेको गुनासो गरिन् ।
‘ठेकेदारलाई कालो सूचीमा राख्दा अदालतमा मुद्दा हालिन्छ । अहिले भर्खरै एउटा पुलको हामीले कालो सूचीमा राख्यौं । अदालतमा गए । अदालतले उसलाई फेरि रोक्का गरिदियो । अब मन्त्रालयले के गर्छ ? अहिले हुलाकी सडकको हजारौं ठाउँमा काम अवरोध छ मुआब्जाको कारण स्टेअर्डर भएर बसेको छ’ उनले भनिन् ।
मन्त्री यादवले हुलाकी राजमार्ग निर्माणका लागि जग्गाको मुआब्जाको विषयमा अदालतले आदेश दिएकाले त्यहाँको हजारौं ठाउँको काम अघि बढ्न नसकेको बताइन् । ‘अदालतले कुरा नबुझी एकै छिनमा स्टेअर्डर गर्दाखेरि टुक्राटुक्रा सडकहरु हाम्रो बन्न सकेको छैन’ मन्त्री यादवले भनिन् ।
प्रतिक्रिया 4