+
+

वाम एकताका लागि घनश्याम भूसालको पाँच सूत्र

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असार १ गते २१:१५

१ असार, काठमाडौं । स्थानीय तहको चुनावअघि नै पुनः वाम एकताका लागि बहस थालेका थिए नेकपा एमालेका नेता घनश्याम भूसालले । तर न उनको दलमा सुनुवाइ भयो, न अरु कम्युनिस्ट पार्टीहरुले यो बहसमा रुची देखाए ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस ३२८ पालिकाको नेतृत्वसहित पहिलो दल बन्दा नेकपा एमाले २०५ पालिकाको नेतृत्वसहित दोस्रो र १२१ पालिकाको नेतृत्वसहित माओवादी केन्द्र तेस्रो भयो । २० पालिकाको नेतृत्व जितेको नेकपा एकीकृत समाजवादी पाँचौं स्थानमा रह्यो । अघिल्लो पटक दोस्रो स्थानमा रहेको कांग्रेसले यो पटक माओवादी केन्द्र र एकीकृत समाजवादीसहित सत्तारुढ दलहरुको सहयोग लिएर एमालेसँग प्रतिस्पर्धा गरेको थियो ।

‘माछाको तेलमा माछा फ्राइ’ गरे झै कांग्रेसले कम्युनिस्टहरुको सहयोगमा कम्युनिस्टलाई नै हराएको एमाले नेता भूसालको निष्कर्ष छ । कम्युनिष्ट विभाजित हुनुपर्ने कारण नभएको भन्दै उनले फेरि वाम एकाताको बहस सुरु गरेका छन् ।

युवा वाम बहसले बुधबार राष्ट्रिय सभागृहमा आयोजना गरेको बहसमा भूसालसँगै एमाले टंक कार्की र समाजसाशस्त्री डा. मिना पौडैलले ‘कम्युुनिष्ट आन्दोलन ः संकट र अबको बाटो’ शीर्षकको बहस शृंखलामा भाग लिएका छन् ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भूसालले नेपाली कम्युनिष्टहरुसित ‘एकता वा सत्यानाश’ बाहेकको अर्को कुनै विकल्प नरहेको दोहो¥याएका छन् । स्थानीय चुनावभन्दा अघि वाम एकताको प्रस्ताव कसैले नसुनेको गुनासो गर्दै उनले भने, ‘अहिले चाहिं आम चुनाव आइसक्यो, असम्भव भन्दैछन् ।’

‘कम्युनिष्ट विभाजित हुनुपर्ने कारण छैन’

भूसालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)फुटेर छिन्नभिन्न भएका कम्युनिष्ट पार्टीहरु फरक रहिराख्नुको कुनै सैद्धान्तिक कारण नभएको बताए । यसबारे आफूले मुख्य नेताहरुलाई सोध्दा जवाफ नपाएको भन्दै उनले भने, ‘मैले माधव नेपाललाई सोधेँ । कमरेड प्रचण्डलाई धेरै पटक सोधेको छु । अस्ति पछिल्लो बैठकमा कमरेड ओलीसँग सोधेको छु । विचार, सिद्धान्त र संगठनात्मक कार्यक्रममा के भिन्नता छ एउटा भिन्नता बताइदिनुहोस् भन्दा कोही बोल्दैनन् ।’

बरु समानता धेरै रहेको उनले सुनाए । ‘हिजो हामीले भन्थ्यौं, यो समाज अर्धसामन्ती, अर्धऔपनिवेशिक हो’ उनले व्याख्या गरे, ‘अर्धसामन्ती, अर्धऔपनिवेशिक मुलुकमा सामान्तवादविरुद्ध लडेर मजदुर, किसान वर्गको समेत साथ लिएर, राष्ट्रिय पुँजीपतिलाई समेत साथ लिएर त्यो सामन्ती सत्तालाई अन्त्य गरेर नयाँ जनवाद ल्याइने छ भन्ने हाम्रो रणनीति, कार्यनीतिको शृंखला हुन्थ्यो ।’

‘समाज कसरी पुँजीवादी भयो भन्नेमा हाम्रो समानता छ । यो पुँजीवादको चरित्र मुलतः दलाल छ भन्नेमा विवाद छैन । अब हामी जाने समाजवादतिर हो, तर त्यो एकचोटी आउँदैन । राष्ट्रिय पुँजीको प्रयाप्त विकास गर्नुपर्छ र त्यसरी जानुपर्छ भन्ने कुरामा कसैको भिन्नता छैन । तीनवटै पार्टी यही लेख्छन्’, उनले भने ।

तीन मुख्य पार्टी (नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी)का मुख्य नेताहरुमा रहेको अहंकार मात्रै एकताको बाधक भएको भूसालको जिकिर छ । ‘अहंकार, अहंकार र केवल अहंकार बाहेक यो आन्दोलनमा केही बाँकी रहेन,’ उनले भने ।

वाम एकताका लागि मुख्य नेताहरुलाई दबाब दिन कार्यक्रममा सहभागी नेता कार्यकर्तालाई आग्रह गरे । ‘तीनवटै मुख्य पार्टीका खास नेतालाई समात्नुहोस् र सोध्नुहोस्–तिमी किन फुटेका हौं ?,’ उनले आग्रह गरे, ‘बाटामा समात्नुहोस्, कार्यक्रममा समान्तुहोस् र प्रश्न सोध्नुहोस् । लेख लेख्नुहोस् । सोसल मिडिया बहस चलाउनुहोस् । देशका विभिन्न ठाउँमा यस्तै प्रश्न ग¥यौं, हाम्रो नेताहरुलाई भन्यौं भने एक महिनाभित्र ठिकठाक पार्न सकिन्छ ।’

एकताको सूत्र

भूसालले एकताका सूत्रहरु पनि अघि सारको छन् । त्यसलाई उनले पाँच बुँदामा सुत्रवद्ध गरेका छन् ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता गरेर नेकपा बनाउने क्रममा गरिएको गोप्य सम्झौता गलत थियो भनेर स्वीकार गर्नुपर्ने उनले पहिलो बुँदामा राखेका छन् ।

दोस्रो, संसद विघटन गलत थियो भन्नुपर्ने उनले बताए ।

तेस्रो बुँदामा सैद्धान्तिक दिशा अनुकुलको कार्यक्रम र संगठनात्मक सिद्धान्त बनाउनुपर्ने बताएका उनले तत्कालै वाममोर्चा बनाउने प्रस्तावलाई चौथो बुँदामा राखेका छन् ।

पाँचौं माफी सप्ताह आयोजना छ । ठूलो आश देखाएर नेकपा बनाएको भए पनि केही कमजोरीका कारण त्यो टिक्न नसकेको भन्दै उनले जनतासँग माफी माग्नुपर्ने बताए । यसो गरेमा जनताले फेरि अवसर दिने भूसालको दाबी छ ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?