+
+

प्रदीपलाई राजेश हमालको टिप्स : पैसाको पछि नलाग्नुस्, गसिपको सही व्यवस्थापन गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १२:४०

काठमाडौं । राजेश हमालले दुई दशक नेपाली फिल्मलाई काँधमा हालेर अघि बढाए, प्रदीप खड्का पछिल्लो पुस्ताका हिट अभिनेता । दुई अलग पुस्ताका यी कलाकारलाई लिएर बेलाबखत पुस्तान्तरणको बहस चल्ने गर्छ । लगभग सबैजसो एक्टरको सपना राजेश हमाल बन्नुहुन्छ ।

यही मेसोमा हालै हमाल र खड्काबीच भेट भयो । सांग्रीला होटलको गार्डेनमा चलेको दुईघण्टे कफी गफमा हमालले प्रदीपलाई करिअर टिप्स पनि दिए ।

अभिनय करिअरलाई कसरी निरन्तरता दिने र के–के कुरामा ध्यान दिनेबारे सोच्न हमालले सुझाए । एउटै फिल्म मात्र हिट भएर कलाकार नचल्ने भन्दै हमालले प्रत्येक फिल्ममा उत्तिकै मेहनत गर्न सल्लाह दिए ।

कथालाई राम्रोसँग छनोट गर्न र जबसम्म ठीक छु भन्ने लाग्दैन तबसम्म कथालाई फाइनल नगर्न समेत हमालको सल्लाह थियो । ‘कामभन्दा पैसालाई धेरै महत्व नदिनुस्, तर मेहनतको पारिश्रमिक लिन नभुल्नुस्,’ हमालको सुझाव थियो ।

गसिप व्यवस्थापनबारे पनि प्रदीपलाई राजेशको सुझाव रह्यो । ‘तपाईंको बारेमा नानाथरी गसिप आउन सक्छन् । सोचेर र बुझेर मात्र उत्तर दिनुस्,’ हमालको सल्लाह थियो ।

साथै, भविष्यमा कुनै न कुनै प्रोजेक्टबाट प्रदीपसँग जोडिन सक्ने भन्दै हमालले सँगै फिल्म खेल्ने इच्छा व्यक्त गरे । जवाफमा प्रदीपले आफू राजेशकै फिल्म हेरेर हुर्किएको बताए । भेटमा हमालले प्रदीपलाई युवा र ऊर्जाशील भन्दै प्रशंसा गरे ।

प्रदीप अभिनित ‘प्रेमगीत ३’ र ‘प्रकाश’ रिलिज तयारीमा छन् । हमालले अनिश्चित बनेको फिल्म ‘सत्यम्’अघि अर्को नयाँ प्रोजेक्ट गर्ने जनाइएको छ । प्रदीप अहिले ‘प्रेमगीत ३’ पोस्ट प्रोडक्सनको लागि मुम्बईमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?