+
+

भाषण सुन्नेहरु निदाएपछि ओलीको ठट्टा !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १३:३९

२ असार, काठमाडौं । नेकपा एमालेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि आयोजित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा आफ्नो भाषणा चलिरहँदा सहभागी निदाएपछि अध्यक्ष केपी शर्मा ओलीले ठट्टा गरेका छन् ।

सहभागी निदाउन थालेपछि ओलीले भाषण रोकेर यता उता हेरे, त्यसपछि औंलाले माइकमा हान्दै ट्वाक ट्वाक आवाज निकाले । सहभागीहरु गलल हाँसेपछि निदाएका र उँघेकाहरु झसंग भए ।  अनि ओलीले जेलमा रहँदाको एउटा घटना पनि सुनाए । ओलीले बताए अनुसार उनले जेलमा नै आएका शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए । त्यसक्रममा एक जना निदाए । निदाउने शिक्षकलाई ओलीले निदाउनु भयो कि के हो भनेर सोधे ।

‘मैले निदाउनु भयो कि के हो सर भनेर सोधेँ । उनले त हैन, कमरेडले एक दम महत्वपूर्ण कुरा भनिरहनुभएको छ, म त्यसको सार खिचिरहेको छु,’ ओलीले भने, ‘त्यसरी धेरै सार नखिचिकन साधारण ढंगले बुझौं, आँखा हेरिहेरी बुझौं, नढल्किकन बुझौँ ।’

उनले क्यामेराम्यानहरुले निदाएकाहरुको फोटो खिच्ने भन्दै सचेत गराए । ‘संभवत लाइभ प्रसारण भइरहेको छ, तपाईंहरु निदाएको फोटो चाहिँ पहिले,’ ओलीले भने, ‘यी क्यामेरावालहरुको बुझ्नु भएको छ नि के गर्छन् भने नि निदाएको फोटो चाहिं स्वाट्ट पहिला दिन्छन्, त्यो बुझौं ।’

उनले चुनावमा धेरै खटिएकाले थकाई लागेर निदाएको हो कि भनेर पनि सहभागीलाई सोधे । ‘चुनावमा थकाइ लागेको होला, धेरै खट्नुभएको होला । थकाइ मरेको छैन होला त्यो बुझ्न सकिन्छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?