+
+

अन्तर्घात गरेको भन्दै नवलपरासीमा कांग्रेस नेता कँडेललाई कारबाही गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १९:३०

२ असार, बुटवल । जिल्ला समन्वय समिति नवलपरासीको निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य देबेन्द्रराज कँडेल र संविधान सभा सदस्य देवकरण कलवारलाई कारबाहीको माग गर्दै उजुरी परेको छ ।

कांग्रेसभित्रैबाट अन्तर्घात भएका कारण हार ब्यहोर्नुपरेको दाबी गर्दै कांग्रेसबाट जिसस प्रमुख पदका उमेदवार बालिन्द्र विक्रम शाहीले दुई नेताविरुद्ध पार्टीको जिल्ला अनुशासन समितिमा उजुरी दिएका हुन् ।

सात स्थानीय तह रहेको जिल्लामा जिसस निर्वाचनका लागि कांग्रेसले माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । गठबन्धन गरेर आवश्यक पर्ने आठ मत पु¥याएको कांग्रेसका प्रमुख पदका उम्मेदवार शाही एक मतान्तरले पराजित भए । तर जिसस प्रमुखबाहेक अन्य सबै पदमा कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार निर्वाचित भए ।

जिसस निर्वाचनमा पाँच मत रहेको एमालेले एक मत रहेको राप्रपासँग गठबन्धन गरेको थियो । चुनावमा एमालेका प्रमुख पदका उमेदवारले ७ मत ल्याएर निर्वाचित भए । पराजित शाहीको ६ मत थियो । चुनावमा प्रमुख पदको एक मत बदर भएको थियो । अर्को एक जनाले प्रमुख र उपप्रमुखमा एमालेलाई मतदान गरेको सदस्य पदमा कांग्रेस–माओवादी गठबन्धनका उमेदवारलाई मत दिएको कांग्रेस नेताहरुले बताएका छन् ।

अनुशासन समितिका जिल्ला संयोजक एवं पार्टी जिल्ला उपाध्यक्ष विक्रम यादवलाई बुझाएको उजुरी पत्रमा गठबन्धनमा रहेका माओवादी केन्द्रका दुई जनप्रतिनिधिले गठबन्धनमै मत दिएको प्रमाण पेश गरेकाले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले नै अन्तर्घात गरेको दाबी गरिएको छ ।

नेता कँडेल र कलवारकै निर्देशनमा कांग्रेसका जनप्रतिनिधिले जिसस निर्वाचनमा एमाले उम्मेदवारलाई मत दिएको दाबी गर्दै छानबिन गरी कारबाही गर्न पत्रमा माग गरिएको छ ।

जिल्लामा कांग्रेसका दुई गुटका कारण हरेक पटक विवाद हुँदै आएको छ । एउटा गुट केन्द्रीय सदस्य कँडेलको छ भने अर्को गुट कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री एंव संविधान सभा सदस्य विक्रम खनालको छ । स्थानीय निर्वाचनमा पनि कांग्रेसको वर्चस्व भएका पालिकामा गुटकै कारण हार व्यहोर्नु परेको कांग्रेसका जिल्ला स्तरका नेताहरु बताउँछन् ।

पछिल्लो पटक भएको जिसस चुनावमा पनि गुटकै कारण कांग्रेसले हारेको हो । जिससको प्रमुख पदमा कँडेलले आफ्नो गुटका व्यक्तिलाई उमेदवार बनाउन चाहेका थिए । तर खनाल गुटका उमेदवारले टिकट पाएपछि कँडेल गुटले हराउन चलखेल गर्न सक्ने भन्दै अर्को गुटले कांग्रेसकै मतदातामाथि निगरानी बढाएको थियो । गुटकै कारण हार व्यहोर्नु परेको भन्दै अहिले खनाल गुटका कार्यकर्ता नेताद्वय कँडेल र कलवारप्रति आक्रोशित छन् ।

हेर्नुस् पत्र 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?