+
+

‘हामीलाई हार्ने छुट छैन’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १०:०२

५ असार, काठमाडौं । कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङ ‘चेन्ज एन्फा’ अभियानका सहयात्री हुन् । अभियान सफलता उन्मुख हुँदै गर्दा नेम्वाङले कर्मालाई नेता मानेर एन्फाको नेतृत्वमा पनि पुर्‍याए । तर पछिल्लो चार वर्ष वरिष्ठ उपाध्यक्ष रहेका नेम्वाङले कर्मा र उनको काममाथि निरन्तर प्रश्न गरिरहे, असहमति जनाइरहे ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न चुनावमा नेम्वाङले कर्माविरुद्ध उम्मेदवारी नै दिएका छन् ।

कर्माले फेरि अध्यक्ष बन्न चाहँदा पंकजले किन स्वीकार गर्न सकेनन् ? उनको एजेण्डा र भावी योजना के छ त ? एन्फा अध्यक्षका उम्मेदवार नेम्वाङसँग अनलाइनखबरकर्मी गोविन्दराज नेपालले गरेको कुराकानी :

एन्फाको नेतृत्वमा तपाईंको उम्मेदवारी किन ?

हाम्रो अहिलेको नेतृत्वले विधान र नियमावलीसम्मत एन्फा चलाउन सकेन । सामूहिक नेतृत्व, पारदर्शिता भएन । अधिकार र बजेटको विकेन्द्रीकरण भएन । त्यसैले नेपाली फुटबलको विकास र खेलाडी, प्रशिक्षक, रेफ्री, जिल्ला क्लबहरूको हकहितको निम्ति मेरो उम्मेदवारी हो ।

चार वर्षअघि चेन्ज एन्फाको नारा दिएर कर्माछिरिङको नेतृत्वमा एन्फामा आउनुभयो । अहिले चेन्ज कर्मा भन्नुपर्ने अवस्था किन आयो ?

हिजो चेन्ज एन्फा अभियान चलाउँदा सुशासन कायम गर्छौं, भ्रटाचारमा शून्य सहनशीलता अपनाउँछौं, पारदर्शिता हुन्छ भन्यौं । सामूहिक नेतृत्वमा एन्फा चलाउँछौं, अधिकार बाँडफाँट गर्छौं, बजेट विकेन्द्रीकरण गर्छौं, सबैलाई अपनत्व अनुभव गराउँछौं भन्यौं ।

तर नेतृत्वमा पुगेपछि विधान र नियमावली विपरित कामहरू हुन थाल्यो । हामीले पटक–पटक मौखिक रूपमा सुझाव दियौं, लिखित रूपमै नोट अफ डिसेन्ट लेख्यौं । त्यसलाई ग्रहण नगरेपछि अब यसरी संस्था चल्नुहुँदैन भनेर नेपाली फुटबललाई माया गर्ने जिल्ला, क्लब र समूहसहित साथमा यो टिम खडा भएको छ ।

भनेको, अहिले तपाईंहरूको एजेण्डा एन्फाको नेतृत्वमा कर्मा हुनुहुन्न अर्थात् चेन्ज कर्मा हो ?

हिजो पनि हाम्रो एजेन्डा भनेको प्रवृत्ति परिवर्तन हुनुपर्छ । काम गर्ने शैली परिवर्तन हुनुपर्छ भन्ने हो । अहिले पनि त्यही हो । परिवर्तनको आभास दिलाउन सक्नुपथ्र्यो, त्यो दिलाउन नसकेकै हो । एन्फाको नेतृत्वले त्यो कुरा नचाहेकै हो ।

यसमा त तपाईंहरू पनि दोषी होला नि ?

हामीले सुरुदेखि नै आवाज उठाएका हौं । विधान, नियमावली विपरित काम गर्दै नगर्नुस्, यसले कसैको हित हुँदैन भनेर भनेकै हो । नेतृत्वमा सही सुझाव र दबाव दिइराखेको हो । तर हामीलाई सुनिएन । सुनेको भए त संस्था निश्चित प्रणालीमा जान्थ्यो । पारदर्शिता, सामूहिक नेतृत्व प्रणाली हुन्थ्यो । तर न सामूहिक नेतृत्व, न पारदर्शिता, न अधिकारको बाँडफाँट । बस् विधान विपरित कार्य गर्न अध्यक्षले किर्ते गरेर कार्यसमितिको अधिकार लिनुभा’छ ।

आर्थिक अनियमितताको विषय पनि उठेको छ । चार वर्षमा केके कमजोर भयो जस्तो लाग्छ ?

एन्फाले वित्तीय निर्देशकलाई नै निलम्बन गर्नुपर्ने अवस्था आयो । फिफाको प्रारम्भिक आर्थिक प्रतिबन्धमा एन्फा परिरहेको छ । एक लाख रुपैयाँ खर्च गर्न पनि अहिले फिफाको अनुमति लिनुपर्छ । फिफाले छानबिनका लागि क्रोल भन्ने कम्पनीलाई पटक–पटक पठाइसक्यो । आर्थिक पारदर्शिता भएको भए त न वित्तीय निर्देशकलाई निलम्बन गर्नुपथ्र्यो, न फिफाले क्रोललाई पठाउनुपथ्र्यो ।

एन्फाको मुख्यालय बनाउने विषयमा पनि तपाईंहरूले बारम्बार प्रश्न गर्नुभएको छ, यसमा के विवाद हो ?

मुख्यालय बनाउने बजेट निवर्तमान अध्यक्ष नरेन्द्र दाइको पालामा हो । तर चुनावताका बजेट रोकियो । हामीमध्ये कतिपय साथी व्यक्तिगत युरोप भ्रमणमा जाँदा फिफा अध्यक्षलाई भेटेर अनुरोध गरेपछि त्यो रकम रिलिज भयो । तर काम गर्ने सिलसिलामा फिफाको नियम, नेपाल सरकारको आर्थिक ऐन र हाम्रो कार्यविधि विपरित काम भयो । उहाँहरूले पटक पटक विधान मिच्ने काम गर्नुभयो ।

हामीले बनाएको नियमावली मिच्नुहुँदैन भन्यौं, तर उहाँ (कर्माछिरिङ)ले पटकपटक मिच्नुभयो । २०७५ सालको लिगको टाइटल स्पोन्सर १ करोडमा सीधै दिनुभयो । जबकि हाम्रो आर्थिक नियमावलीमा १० लाख भन्दा बढीको टेण्डर गर्नुपर्छ भनेको छ । आर्थिक नियमावली मिचिएकै कारण अझैसम्म निर्णय भएको छैन ।

तपाईंमाथि पनि विराटनगरमा भएको महिला च्याम्पियनसिपमा बजेटभन्दा पैसा बढी खर्च गर्‍यो भन्ने आरोप रहेछ नि ?

बजेटभन्दा बढी खर्च भएको होइन । त्योबेला मैले बुझेको पेश्की ९५ लाख हो । म र सचिव बसन्त अर्यालजीको खाताबाट नै पैसा चलानी भएको थियो । पेश्की लिएको ९५ लाखमध्ये ३ लाख ६० हजार मैले फिर्ता गरेको छु । एन्फामा सम्भवतः पेश्की लगेको पैसा फर्काएको त्यो पहिलो पटक हुनुपर्छ ।

साफ च्याम्पियनसिप जस्तो प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर भएको थियो । म त फिल्डमा बसेर काम गरिरहेको थिएँ । अध्यक्षको नेतृत्वमा केन्द्रबाट साथी बोलाइयो । यो विषयमा मलाई थाहा थिएन । तर एक करोड ४० लाख खर्च भयो भनिएको छ । त्यत्रो पैसा कसरी खर्च भयो मलाई थाहा छैन ।

विगतमा (गणेश थापा) जसका विरुद्ध लड्नुभयो, अहिले चुनाव जित्ने नाममा उनीहरूसँग साँठगाँठ गर्नुभयो भन्ने आरोप छ नि !

हिजो उहाँ (गणेश थापा)सँग मैले ४ कार्यकाल र कर्माजीले ३ कार्यकाल काम गरेकै हौं । तर एन्फामा परिवर्तन आवश्यक भएपछि हामीले चेन्ज एन्फा अभियान चलायौं ।

अहिले मैले एन्फाको नेतृत्व लिनसक्छु, लिनुपर्छ र लिन्छु भनेर अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । आज मेरो नेतृत्वलाई समर्थन गर्नेहरूले कुनै बेला गणेश थापाजीलाई समर्थन गरेका थिए होला, कुनै बेला कर्माजीलाई समर्थन गरेका थिए होलान् । त्यसैले विगतमा कसलाई समर्थन गर्‍यो भन्दा पनि आज को इमानदार छ भन्ने प्रश्न हो । नेपाली फुटबललाई कसले सही ढंगले अघि बढाउन सक्छ भन्ने हो ।

तर पछिल्लो समय फुटबलमा ‘बद्नामी’ कमाएको गणेश थापाको नाम जोडिंदा चुनावमा असर गर्दैन ?

मैले अहिले उहाँको टिम देखेको छैन । सबै साथीहरूको सहयोगमा मैले आफ्नो टिम बनाएको छु । त्यसमा रहेकाहरू हिजो को कसको टिममा थियो भन्ने अर्थ रहँदैन । कर्माजी र म दुवै जना कुनै समय उहाँ (गणेश थापा)को कार्यकालमा बसेका व्यक्ति हौं । गणेश थापाको महासचिव तथा सिईओ अहिले पनि कर्माजीको प्यानलमा छन् । त्यसैले यो आरोप प्रत्यारोपको कुनै अर्थ छैन ।

जम्मा ८७ भोटरमध्ये प्राविधिक कारणले ८४ छौं । ३०औं वर्षदेखि फुटबलमा लागेकै साथीहरू हुनुहुन्छ । हामीले उनीहरूको योगदानको कदर गर्न सक्नुपर्छ ।

यो निर्वाचनमा तपाईंका एजेन्डा के–के हुन् ?

आर्थिक पारदर्शिता, सुशासन कायम गर्छु । सामूहिक निर्णय गर्छु । अधिकार बाँडफाँट गरेर कार्यसञ्चालन गर्छु । आफू पनि जिम्मेवारी लिन्छु, अरूलाई पनि जवाफदेही बनाउँछु । सचिवालय चुस्तदुरुस्त राख्छु, सबैलाई अपनत्वको बोध गराउँछु ।

राष्ट्रिय टिमको स्तर वृद्धिमा ध्यान दिन्छु । काठमाडौंभित्र कम्तीमा चार वटा कृत्रिम घाँसे मैदान १२ महिना नै ट्रेनिङ गर्न निर्माण गर्छाैं । अहिले भइरहेको लिगलाई अझ व्यवस्थापन गर्छु, राष्ट्रिय लिग सञ्चालन गर्छु । चार वर्षमा महिला पुरुष दुवै फुटबलका लागि कम्तीमा ५० वटा एकेडेमी सञ्चालन गर्छु, ग्रासरुट फुटबललाई वडासम्म लैजान्छु ।

नेपाली फुटबलको उत्थानका लागि सबैलाई साथ लिएर अघि बढ्छु, कार्यसमितिलाई एकजुट बनाउँछु ।

जित्ने आधार के हुन् ?

क्लब, जिल्लाका अत्यधिक साथीहरूको सुझाव सल्लाहमा नै हामीले टिम बनाएका छौं । यो नेपाली फुटबललाई माया गर्ने टिम हो । माया गर्नेले गोडमेल पनि गर्छ र अघि बढाउँछ । त्यसैले नेपाली फुटबलको विकासका निम्ति हामीले जित्नैपर्छ, जितेर राम्रो काम गर्नैपर्छ । हामीलाई पराजित हुने छुट छैन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?