+
+

चोरीको मोटरसाइकल खोज्दा आरोपीको डेरामा भेटियो पेस्तोल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १२:५०

५ जेठ, विराटनगर । चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरीले एक व्यक्तिको डेराबाट पेस्तोल बरामद गरेको छ ।

मोरङको बूढीगङ्गा गाउँपालिका-६ का ३२ वर्षीय विनोद चौधरीको डेराबाट प्रहरीले चाइनिज पेस्तोल र एक राउण्ड गोली बरामद गरेको हो ।

चोरीको मोटरसाइकलसहित उनी आज बिहान पक्राउ परेका थिए । सुनसरीको दुहवी नगरपालिका-३ मा डेरा बस्दै आएका उनको साथबाट प्रहरीले चोरीको को३२प ८९७९ नम्बरको मोटरसाइकल बरामद गरेको थियो । दुहवीस्थित डेरामा खानतलासी गर्दा प्रहरीले पेस्तोल बरामद गरेको हो ।

मोटरसाइकल चोरी गर्ने गिरोहको खोजी गर्ने क्रममा चौधरी पक्राउ परेको र उनको डेराबाट पेस्तोल बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए । उनको डेराबाट एउटा चाइनिज पेस्तोल, म्यागजीन र एक राउन्ड गोली फेला परेको हो ।

विनोदको साथबाट बरामद भएको मोटरसाइकल श्रीकृष्ण तामाङको रहेको प्रहरीले बताएको छ । गत माघमा तामाङको मोटरसाइकल उदयपुरका विवेक चौधरी र मोरङको बूढीगङ्गाका सञ्जय चौधरीले चोरी गरेको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार विवेक र सञ्जयले मोटरसाइकल चोरीपछि बूढीगङ्गा-६ का २९ वर्षीय मुकुन्द चौधरीलाई बेचेका थिए ।

मुकुन्दले विनोदलाई बिक्री गरेका थिए । चोरीमा संलग्नसँग मोटरसाइकल किनेर तेस्रो व्यक्तिलाई बेच्ने काम मुकुन्दले गर्ने गरेको प्रहरीको दाबी छ ।

प्रहरीले को३२प ८९७९ नम्बरको मोटरसाइकल खोजी गर्ने क्रममा चोरी र बिक्रीमा संलग्न विवेक, सञ्जय, मुकुन्द र विनोदलाई पक्राउ गरेको छ ।

मोटरसाइकल चोरीका घटना बढेपछि प्रहरीले मोरङमा विशेष अप्रेशन चलाएको छ । पछिल्लो एक महिनाको अवधिमा प्रहरीले चोरीका २१ वटा मोटरसाइकल फेला पारेको छ । सोही अवधिमा ४५ वटा मोटरसाइकल चोरी भएको उजुरी परेको छ ।

मोटरसाइकल चोरीमा संलग्न १६ जनालाई पक्राउ गरेर कारवाहीको दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?