
६ असार, काठमाडौं । चीनले रूसबाट कच्चा तेल आयात बढाएको छ । रुसले यूक्रेनमाथि आक्रमण गरेपछि पश्चिमी राष्ट्रहरुले गरेको नाकाबन्दीबाट हुने नोक्सानीलाई कम गर्न चीनले रुसबाट तेल आयात बढाएको हो ।
पश्चिमा मुलुकहरूले यूक्रेन आक्रमणविरूद्ध रूसमाथि लगाएको प्रतिबन्धसँगै रूसले तेलका लागि वैकल्पिक योजनालाई अघि सारेको छ । उसको यूरोप जाने तेललाई अन्य क्षेत्रमा बिस्तार गर्ने नीति रहेको छ ।
चीनको तेल आयातको यो वृद्धिलाई हेर्दा अहिले रूसले साउदी अरबलाई चीनको प्रमुख तेल प्रदायक बन्नबाट उछिनेको छ ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र मानिने चीनले गत महिना रूसबाट करिब ८४.४२ मिलियन टन तेल आयात गरेको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशत वृद्धि हो । चीनले मे महिनामा साउदी अरेबियाबाट ७ अर्ब ८२ करोड टन तेल आयात गरेको थियो ।
ब्लूमबर्ग न्युजले बताएअनुसार चीनले गत महिना ७.४७ अर्ब अमेरिकी डलर मूल्यको रूसी ऊर्जा उत्पादनहरू किनेको थियो र यो अप्रिलको तुलनामा झन्डै १ अर्ब अमेरिकी डलर बढी थियो । चीन सन् २०१६ देखि कच्चा तेलको लागि रूसको सबैभन्दा ठूलो बजार भएको छ ।
-एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4