+
+

जब नगर कार्यपालिका बैठकमा बालेनले टेबुल ठोके

अमृत चिमरिया अमृत चिमरिया
२०७९ असार ६ गते २१:२०

६ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह आइतबार भएको नगरसभा अघि कार्यपालिका बैठकमा कार्यपालिका सदस्यहरुसँग रिसाएका छन् । कार्यपालिका बैठकमा नगरसभामा प्रस्तुत हुने विषयका बारेमा वडाध्यक्षहरुले प्रश्न गरेपछि विवाद भएको थियो । त्यही क्रममा उनले टेबुल ठोक्दै रिस देखाएका हुन् ।

कार्यपालिका सदस्यलाई नीति तथा कार्यक्रमबारे जानकारी नै नदिइ छलफल सुरु गरेपछि वडाध्यक्षहरुले प्रश्न गरेका थिए । तर बालेनले ‘अहिले फ्ल्यास गर्न मिल्दैन’ भनेपछि वडाध्यक्षहरुले आपत्ति जनाएका एक कार्यपालिका सदस्यले बताए ।

‘नीति तथा कार्यक्रमको कपी नदिने भनेपछि वडाध्यक्षहरुले चर्को विरोध गरेका थिए । एकछिन होहल्ला भएपछि मेयरसाबले टेबल ठोक्नुभयो’, ती कार्यपालिका सदस्यले अनलाइनखबरसँग भने । वडाध्यक्षहरुको विरोधपछि आक्रोशित बनेका बालेनले टेबल ठोक्दै ‘ल अब म नीति कार्यक्रम प्रिन्ट गरेर ल्याएर दिन्छु, प्रिन्ट नआएसम्म कार्यपालिका चलाउँदिन । तपाईँहरुले त्यही चाहिएको होइन ?’ भनेका थिए । यति भनेर ५ मिनेटसम्म कसैसँग कुरा नगरेको ती कार्यपालिका सदस्यले बताए ।

वडा नम्बर ८ का वडाध्यक्ष आशामान संगतले शान्त रहेर कार्यपालिका सञ्चालन गर्न मेयर बालेनलाई आग्रह गरेका थिए । अरु वडाध्यक्षहरुले पनि ‘नीति तथा कार्यक्रमहरु प्रिन्ट गरेर आउँदै गर्छ त्यतिबेलासम्म कार्यपालिका वैठक चलाएर छलफल सुरु गरौं’ भन्दा बालेन मानेका थिएनन् ।

‘उहाँले ५ मिनेट जति नीति कार्यक्रम हातहातमा दिएपछि मात्रै कार्यपालिका चलाउँछु भनेर घुर्की लगाउनु भयो । वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले छलफल गरौं रिसाउन हुन्न भन्दा मान्नुभएन । त्यसपछि केही वडाध्यक्षले ‘रिसाएर कहिँ पुगिँदैन, हामीलाई पनि रिसाउन आउँछ नि, तपाईँलाई फकाएर बस्नुपर्ने ?’ भनेपछि छलफल सुरु भएको थियो’ बैठकमा सहभागी एक वडाध्यक्षले सुनाए ।

इच्छाअनुसार लाइभ ?

मेयर बालेन साहले नगर कार्यपालिकाको सबै बैठक लाइभ गर्ने घोषणा गरेका थिए । त्यस अनुसार दुईवटा कार्यपालिका बैठक लाइभ गरिएको पनि थियो । तर आइतबारको कार्यपालिका बैठक भने लाइभ भएन ।

कार्यपालिका वैठकमा नीति तथा कार्यक्रममाथि छलफल हुँदै गर्दा ७ नम्बर वडाध्यक्ष विमल कुमार होडाले विरोध जनाए । एकछिन चर्को स्वरमा बोलेपछि एकछिन बैठकस्थलमा मौनता छाएको एक कार्यपालिका सदस्यले बताए ।

होडाले ‘हिजो अस्ति चाहिँ लाइभ गर्ने, आज चाहिँ लाइभ किन नगर्ने ? तपाईँको इच्छा अनुसार हुन्छ लाइभ पनि ?’ भनी प्रश्न गरेका थिए ।

अरु वडाध्यक्षले पनि होडालाई समर्थन गरेपछि बालेनले सबै बैठक लाइभ गर्न नमिल्ने बताएका थिए । एक वडाध्यक्षका अनुसार बालेनले नीति तथा कार्यक्रममा महानगरभित्रका करको दायरा, अन्य विषयहरु हुने भएकोले सबै देखाउन नमिल्ने तर्क गरेका थिए ।

वडाध्यक्षहरुले आफ्नो इच्छा अनुसार मात्र लाइभ गर्ने भन्दै विरोध जनाए । ‘उहाँले आफ्नो इच्छा अनुसार लाइभ गर्ने र नगर्ने हुन्छ त ?आफूलाई अफ्ठयारो पर्ने विषय चाहिँ लाइभ नगर्ने यो कुराको हामीले विरोध गरेका हौं’ एक वडाध्यक्षले भने ।

काठमाडौं महानगरपालिका १२ नम्बरका वडाध्यक्ष बालकृष्ण महर्जनले नगर कार्यपालिका बैठकमा सामान्य विवाद मात्रै भएको बताए । उनले अनलाइनखबरसँग भने, ‘वडाध्यक्षहरुले प्रस्ताव गरेपछि मेयरसाबले नीति तथा कार्यक्रम नल्याई छलफल नगरौं भनेपछि फोटोकपी भएर आउन समय लाग्छ भनेर वडाध्यक्षहरुले फेरि आफैंले प्रस्ताव गरेका हुन् । लाइभको विषयमा पनि ठुलो विवाद चाहिँ होइन । फेरि ८ गते कार्यपालिका बैठक बस्दैछ ।’

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?