+
+

राजनीतिक गन्ध आउने काठमाडौंको फोहोर

काठमाडौं महानगरपालिकाले फोहोर उठाउनको लागि अर्बौं रुपैयाँ स्थानीयवासीबाट उठाउँछ तर त्यो पैसा कहाँ गएको छ, पत्तो छैन। यसो दुई चार महिना समाधान गरे पनि फेरि अर्को काण्ड मच्चाएर फोहोर उठाउन रोकिन्छ र जनतालाई दुर्गन्धमा बस्न बाध्य पारिन्छ।

राजेन्द्र पन्थी राजेन्द्र पन्थी
२०७९ असार ८ गते ८:०७

कुनैबेला राजधानी काठमाडौं मन्दिरै मन्दिरको शहर भनेर चिनिन्थ्यो। अहिले यसले फोहोरै फोहोरको शहरको नयाँ परिचय पाएको छ। काठमाडौंको फोहोरलाई कसरी स्थायी व्यवस्थापन गर्ने भन्दा पनि काठमाडौंको फोहोरभित्र राजनीति कसरी घुसाउने र फोहोरको नाममा कसरी कुम्ल्याउने भन्ने धन्दाले वर्षौंदेखि काठमाडौं उपत्यकावासीहरू आजित हुनुपरेको छ।

राजनीतिको दाउपेच र जिम्मेवार निकायहरू कसैमा पनि उत्तरदायित्वबोध र जवाफदेहिता नहुनाले काठमाडौंलाई प्रदूषित र दुर्गन्धित सहर बनाइएको हो। काठमाडौंको फोहोर समस्या भनेको काठमाडौं महानगरपालिकाको मात्र फोहोर होइन, यो उपत्यकाभित्रका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्रका सबै नगरपालिकाको समस्याको रूपमा देखा परेको छ। देशको राजधानी जस्तो शहरमा बारम्बार वर्षौंदेखि एउटै मूल समस्या समाधान हुन नसक्ने र प्रधानमन्त्रीदेखि मेयरसम्मको प्रयासले पनि समाधान नहुनु गम्भीर विषय हो।

यहाँ कहीं न कतै कमिसनको धन्दा वा फोहोरी राजनीति घुसेको छ भन्ने स्पष्ट देखिन्छ। देशकै सम्पूर्ण शक्ति लाग्दा पनि काठमाडौंको फोहोर उठाउन सकिएन भनेर जिम्मेवार मन्त्रीले दिएको अभिव्यक्ति आफैंमा कमजोर देखिन्छ। राज्य नै लाग्दा पनि राजधानीको फोहोर व्यवस्थापन गर्न सकिएन भन्दा आश्चर्य नै लाग्छ। यस्ता अक्षम पार्टी र सरकारबाट जनताले के आश गर्ने ?

काठमाडौंको फोहोर व्यवस्थापनको लागि स्थायी प्रबन्ध गर्न नसक्नु भनेको पार्टीबीचमा अस्वस्थ प्रतिस्पर्धा, दाउपेच र अविश्वास हुनु हो। दलगत स्वार्थ हावी हुनु हो। महानगरपालिका भित्रैको आन्तरिक संयन्त्रको असहयोग र कमिसनको चलखेल हुनु हो।

महानगरपालिकाको आफ्नै वार्षिक बजेट नै अरबौं हुन्छ। पैसा खर्च गर्न नसकेर बैंकमा राखेर ब्याज खाएको खबर पढ्नुपर्ने अवस्था छ। राजधानीलाई प्रदेश, सङ्घीय सरकार, विभिन्न सरकारी र गैरसरकारी संघसंस्थाले आर्थिक र प्राविधिक अनुदान र सहयोगहरू दिइरहेका हुन्छन्। काठमाडौं महानगरपालिकाले आफ्नो आर्थिक वा प्राविधिक क्षमताको अभावले फोहोर व्यवस्थापन गर्न नसकेको भनेर पत्याउने ठाउँ नै छैन। काठमाडौंको फोहोरलाई व्यवस्थास्पन गर्न नसक्नु भनेको राजनीतिक पार्टीहरूको एकआपसको लडाइँ र महानगरपालिकाभित्रको कर्मचारीको हैकमी प्रवृत्ति जिम्मेवार छ।

राजनीतिक पार्टीहरू त्यही फोहोरलाई आधार बनाएर एक अर्कोलाई तथानाम गाली गरी भोटको राजनीति गर्न पल्किएका छन्। त्यसैले उनीहरू स्थायी समाधानतिर लाग्दैनन् र एकअर्कोलाई सहयोग पनि गर्दैनन्। उता, कर्मचारीहरू फोहोरको नाममा उठेको अरबौं रुपैयाँमा चलखेल गरिरहन जसरी हुन्छ काम हुन नदिने र अल्मल्याउने प्रयत्नतिर लागेको देखिन्छ। काठमाडौंको फोहोरमा पार्टी र कर्मचारी बाहेक विभिन्न गिरोह, भूमाफिया र बिचौलिया पनि लागिपरेको देखिन्छ। उनीहरूको काम भनेको फोहोर कायम गरिराख्ने र यसैमा राजनीति गरेर अकुत कुम्ल्याइरहनु हो।

काठमाडौं शहरलाई सफा गराउने नाममा सिसडोल र बन्चरेडाँडाका आम सोझासाझा जनतालाई विना कसुर सजायको भागीदार बनाइएको देखिन्छ। दुई वर्षलाई भनेर सम्झौता गरेको ठाउँलाई सत्र वर्षसम्म ल्यान्डफिल बनाइरहँदा त्यहाँका जनतामाथि कतिसम्म अन्याय गरिएको रहेछ भन्ने कुरा स्पष्ट नै हुन्छ। सिसडोल स्थानीयवासीमाथि राज्यले ठूलो अन्याय गरेको देखिन्छ। काठमाडौंबाट ल्याइएको फोहोरको प्रदूषण र दुर्गन्धले उनीहरूलाई विभिन्न किसिमका रोगहरूबाट आक्रान्त हुनुपरेको छ। काठमाडौं महानगरपालिकाले फोहोर उठाउनको लागि अर्बौं रुपैयाँ स्थानीयवासीबाट उठाउँछ तर त्यो पैसा कहाँ गएको छ, पत्तो छैन। यसो दुई चार महिनालाई समाधान गरे झैं गरिन्छ फेरि अर्को काण्ड मच्चाएर फोहोर उठाउन रोकिन्छ र जनतालाई दुर्गन्धमा बस्न बाध्य पारिन्छ।

काठमाडौंको फोहोरलाई स्थायी रूपमा व्यवस्थापन गर्न जति खर्च गरेर भए पनि आधुनिक प्रविधिको प्रयोग गर्नुपर्छ। अब काठमाडौं उपत्यकाको फोहोरको अस्थायी होइन स्थायी विकल्प खोज्नुपर्छ। राजधानी जस्तो शहरको सडकमा फोहोरको डङ्गुर थुपार्ने कुराले कति धेरै कुरालाई असर पारेको हुन्छ। काठमाडौंको अव्यवस्थित शहरीकरण, ट्राफिक समस्या, थुप्रै किसिमका प्रदूषण, बाटोभरि फोहोरको रास र त्यसैको दुर्गन्ध र खानेपानीको अभाव आदि जस्ता समस्याले जनतालाई अत्यन्तै सास्ती भएको छ।

वातावरण प्रदूषणका कारण अनेक किसिमका जटिल रोगहरू लागेको देखिन्छ। जनतालाई मूल रूपमा गाँस, बास र कपास, शिक्षा र स्वास्थ्यको समस्या छ सरकार भने कान बन्द गरेर, आँखामा पट्टी लगाएर दलीय स्वार्थका भए–नभएका पानीजहाज, रेल र द्रुत हाइवेका सपना बाँडेको देखिन्छ। राज्यको अकर्मण्यताले जनता स्वस्थ तरिकाले बाँच्न पाउने अधिकारबाट नै वन्चित भएका छन्।

राज्यको अहिलेको पहिलो दायित्व भनेको जसरी पनि काठमाडौं उपत्यकाको फोहोरलाई स्थायी रूपमै व्यवस्थापन गर्नु हो। पहिले त महानगर वा नगरपालिकाले सबै वडाका जनतालाई निश्चित जनसंख्या वा भूगोलका आधारमा टोल वा समुदाय गठन गरी सामुदायिक संस्था बनाउनुपर्छ। यसले गर्दा हाम्रो समुदायको सरसफाइ गर्ने दायित्व हाम्रै हो भन्ने बोध जनतामा हुन्छ र आफ्नो टोल वा समुदाय सरसफाइमा ध्यान दिन थाल्छन्। हरेक टोल वा समुदायलाई घरबाट निस्किने फोहोरको व्यवस्थापनका बारेमा सचेतना दिनुपर्छ। हरेक घरबाट कुहिने र नकुहिने फोहोरलाई अलग बनाई राख्नुपर्छ। कुहिने र नकुहिने फोहोरलाई छुट्टै राखी व्यवस्थापन गरिनुपर्छ। कुहिने फोहोरलाई कुहाएर पुनः प्राङ्गारिक मल बनाई फोहोरबाट मोहोर कमाउन सकिन्छ। अमेरिका, क्यानडा, बेलायत, जापान, चीन जस्ता विकसित देशहरूमा पनि फोहोर व्यवस्थापनको उपाय भनेको यही हो। यसकारण फोहोरभित्रको राजनीतिलाई अन्त्य गरी स्वस्थ रही बाँच्न पाउनुपर्ने आम नागरिकको अधिकारलाई कसैले वन्चित गराउनुहुँदैन। फोहोर जस्तो विषयमा नेपालको फोहोरी राजनीति घुसाउनुहुँदैन।

काठमाडौंको फोहोर र फोहोरी राजनीति नयाँ नभए पनि नयाँ भाष्य बनाउने प्रयत्न गरिंदैछ। राजधानी जस्तो शहरमा भर्खरै भएको स्थानीय निर्वाचनमा नाम कहलिएका पार्टीले हारेर कलाकार बालेन्द्र साहले जिते। यो नतिजा यहाँका पार्टीले पचाउन सकेका छैनन्। वर्षौँदेखि महानगरपालिकामा बसेर लुट्न पल्केकाहरू स्वतन्त्र उम्मेदवार बनेर जितेका बालेन्द्रलाई कार्यकालको सुरुमै असफल बनाउन सकिन्छ कि भनेर लागेका छन्। पार्टीको नामबाट जितेका वडाध्यक्षहरूमा छट्पटी देखिन्छ। स्वतन्त्र मेयरले कसरी काम गर्दो रहेछ हेरौं भन्दै कुण्ठाहरू अभिव्यक्त गर्दै कुर्लिरहेका छन्।

बालेन्द्र आफ्नो मात्र भोटले आफैं स्वघोषित विजय भएका होइनन्, नेपालको संविधान अनुसार प्रतिस्पर्धात्मक निर्वाचन प्रणाली अनुसार सबभन्दा धेरै भोट ल्याएर काठमाडौंको मेयर भएका हुन्। यसमा बालेन्द्रप्रति कसैले कुण्ठा व्यक्त गर्नु पर्दैन। उनलाई काम गर्ने मौका दिनुपर्छ र आशावादी हुनुपर्छ। काममा दलहरूले अवरोध गर्न थाले भने आगामी निर्वाचन मेयर मात्र होइन महानगरपालिकको सिङ्गो टिम नै स्वतन्त्रलाई जिताउने हिम्मत जनतामा छ। राजनीतिक पार्टीको फुर्ति अचाक्ली रूपमा बढ्दै गएको प्रतिक्रियामा मतदाताले बालेनलाई मत दिएका हुन्। यस कुरालाई पार्टीहरूले स्वीकार्नुपर्छ। पार्टीको नेतालाई साथ दिने पार्टीका केही निश्चित कार्यकर्ता होलान् तर अहिले बालेन्द्रका पछाडि उल्लेख्य महानगरवासीको साथ रहेको छ। कुनै दिन पार्टीले काम गर्न दिएनन् भनेर बालेन्द्रले जनतासामु भने भने दलहरूको लागि ढुङ्गाको चिउरा चपाउनु जस्तै हुनेछ। दलहरू फेरि अर्को ठूलो सजाय भोग्न सक्छन्। नेपालको समृद्धि र विकासका लागि दलहरू अक्षम भए भन्ने कुराको स्पष्ट प्रमाण नै बालेन्द्रको जित हो। यो कुरा दलहरूले बुझेर मनन गरी आफूलाई सुधार्नुपर्छ।

काठमाडौंका जनताले यति धेरै पार्टीको भीडबाट एउटा स्वतन्त्र उम्मेदवारलाई रोजेको विषयलाई पार्टीहरूले यस कुरालाई सामान्य रूपमा लिनुहुँदैन। उनीहरूले नयाँ मेयरको नयाँ सोचलाई साथ दिनुपर्छ। उनको कामलाई मनमा कुण्ठा पालेर कुनै किसिमको अवरोध गर्नुहुँदैन।

लोकतन्त्रमा सबभन्दा शक्तिशाली भनेका दल नभएर जनता हुन्। अहिले काठमाडौंका मेयरलाई साथ दिने जनता छन् र त्यसमध्ये पनि युवा शक्ति झन् सशक्त देखिएको छ। अहिले नै काठमाडौंको फोहोर व्यवस्थापन गर्न बालेन्द्र असफल भए वा काम गर्न सकेनन् भनेर हौवा पनि फैलाएको देखिन्छ। महिनादिन नबित्दै यति ठूलो महानगरपालिकाभित्रको गन्जागोललाई अध्ययन गर्न नपाउँदै उनलाई असफल भनेर दोष लगाउनेकै दृष्टिदोष देखिन्छ।

आशा गरौं- आम काठमाडौंवासीको आशा र भरोसाका केन्द्र बालेन्द्र बन्नुपर्छ र नेपालका दलहरूका अगाडि साँच्चै गर्न खोजे के हुँदोरहेनछ भनेर विश्वकै एउटा सुन्दर र नमूना शहर काठमाडौंलाई बनाउनुपर्छ।

भर्जिनिया, अमेरिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?