+
+

तालिम भत्ताको विषयलाई लिएर वीरगञ्जमा स्वास्थ्यकर्मीको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १५:३०

८ असार, वीरगञ्ज । देशभर २७ जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म कोभिड–१० विरुद्ध खोप अभियान सञ्चालन हुँदैछ । ५ वर्षदेखि माथि १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई लक्षित गरेर अभियान सञ्चालन गर्न लागिएको छ ।

त्यसका लागि सरकारले स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गर्नुको साथै सुक्ष्म योजना तर्जुमा गोष्ठी गरिरहेको छ । जसको समन्वय सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयले गरिरहेको छ ।

तर पर्साको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्यकर्मीले भने अभिमुखीकरण तथा तालिमका लागि वीरगञ्जभन्दा बाहिर नलगिएकामा असन्तुष्टि जनाएका छन् ।

वीरगञ्जभन्दा बाहिर तालिम सञ्चालन गर्न स्वास्थ्य कार्यालयलाई दबाब दिँदै आएका कर्मचारीले बुधबार बिहान तालिम सुरु हुनुअघि नै होहल्ला गरे ।

उनीहरुले खोप सञ्चालन गर्दा सेवा सुविधा नपाएको गुनासो गरे । सिर्सिया स्वास्थ्यचौकीका ताराचन्द यादवले काम लगाउने, तर सेवा सुविधा दिने बेलामा विभिन्न बहानाबाजी गर्ने प्रवृत्ति बढेको आरोप लगाए ।

आफूहरुले बिहानदेखि साँझसम्म खटेर अभियान सफल पारेको दावी उनको छ । अन्य स्वास्थ्यकर्मीहरुले पनि सेवा सुविधा नपाएको भन्दै होहल्ला गरेका थिए । तालिम बहिष्कार गर्ने धम्की समेत उनीहरुले दिएका थिए ।

अन्य पालिकालाई वीरगञ्ज बोलाइएकाले, वीरगञ्जकालाई अन्यत्र लैजानुपर्ने माग उनीहरुको थियो ।

तालिममा सहभागी धेरैजसो स्थानीय छन् । उनीहरुले तालिममा सहभागी भएवापत यातायात खर्चस्वरुप ७ सय रुपैयाँ पाउँछन् । जसम १५ प्रतिशत कर कट्टी गरेर ५९५ रुपैयाँ दिइन्छ ।

तालिम पालिका भन्दा १५ किलोमिटर टाढा सञ्चालन भएमा उनीहरुले एकदिनको १२ सय रुपैयाँका दरले भत्ता पाउँछन् । बाहिर तालिम गर्दा सवा २ दिनको भत्ता २ हजार ४०० र यातायात खर्च ५ सय रुपैयाँ पनि पाइन्छ ।

बाहिरका स्थानीय तहका स्वास्थ्यकर्मीले वीरगञ्जमा आएर तालिम गर्दा यो रकम पाएका थिए । तर वीरगञ्जकै स्वास्थ्यकर्मीले भने तालिम वीरगञ्जमै सञ्चालन हुँदा यातायात खर्चवापत ५९५ रुपैयाँ मात्र पाए । त्यसैले उनीहरुले विवाद झिकेका हुन् ।

वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रितेश जयसवालले खोप अभियान सफल बनाउन स्वास्थ्यकर्मी बिहान ६ बजेदेखि राति १० बजेसम्म खट्नुपर्ने भए पनि मर्का नबुझिएको बताए ।

यसअघि बिजाम नामको गैरसरकारी संस्थाले होटल लर्डस दियालोमा गरेको कार्यक्रममा पनि महानगरका स्वास्थ्यकर्मीले भत्ता कम भएको भन्दै तालिम बहिस्कार गरेका थिए ।

कतिपय स्वास्थ्यकर्मीहरुले भने आफूहरुले भोग्दै आएको समस्याका बारेमा पनि कुरा उठाएका थिए । खोप लगाउने स्वास्थ्यकर्मीले भने पहिला एक दिनमा १२५ जनालाई खोप लगाउने गरेकामा अहिले दैनिक २०० जनालाई लगाउनुपर्ने सर्त राखेको भन्दै असन्तुष्टि जनाए । खोप लगाउने मानिसको संख्या घट्दै गएको अवस्थामा लक्ष्य पूरा गर्न समस्या भइरहेको उनीहरुको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?