+
+

न्यायाधीश कोइराला भन्छन् : फोनमा कुरा सुनिदिएको मात्रै हो, फट्याइँ गरेको छैन

‘मेरो सिधा कुरा छ, मैले फट्याईं गरेको छैन । मलाई धेरै दबाव आएकाले १५/२० दिन फोन स्वीच अफ गरेको थिएँ, टेलिकममा हेर्दा पनि थाहा होला’ उनले भने, ‘कुरा त सुनिदिनुस् भनेर जबर्जस्ती गरेकाले सुनेको हुँ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १७:५३

८ असार, काठमाडौं । कानून व्यवसायीसँगको घुसवारेको अडियो विवादमा मुछिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाले आफूले घुस खाने नियत नराखेको दावी गरेका छन् ।

अनलाइनखबरसँग कुराकानी गर्दै उनले कानून व्यवसायी रुद्र पोखरेलले आफूलाई झुक्याएर फोन गरेको र बारम्बार आफ्नो कुरा सुनिदिन आग्रह गरेकाले फोनमा कुरा गरेको बताए । सिभिल वचत तथा ऋण सहकारी संस्थाका तत्कालिन अध्यक्ष इच्छाराज तामाङको मुद्दाको विषयमा अधिवक्ता पोखरेल र न्यायाधीश कोइरालाबीच घुस लेनदेनको विषयमा भएको संवाद हालै सार्वजनिक भएको छ । न्यायाधीश कोइरालाले भने आफूले कुरा सुनिदिएको मात्र बताएका छन् ।

‘त्यो मुद्दा हेर्न थालेदेखि नै मलाई निकै फोन आउन थाल्यो । अनि मैले स्वीच अफ गरेर बसेको थिएँ’ उनले भने, ‘श्रीमतीको फोन (सेट) मा सिमकार्ड फेरेर अर्को नम्बर राखेको थिएँ । कताबाट थाहा पाएर फोन गरे ।’ फोन आउदा आफू नुहाउन बाथरुममा छिरेको र श्रीमतीले रुद्र पोखरेल भनेर नाम देखिएको बताएपछि कुरा गरेको कोइरालाको भनाइ छ ।

उनका अनुसार, फोन उठाएपछि पोखरेलले कुरा सुरु गर्नासाथ यही विषयमा प्रवेश गरे । सुरुमा फोन नगर्नुस् भनेर आफूले पन्छाएको भन्दै कोइरालाले दोहोर्‍याएर फोन गरेर पैसाको प्रलोभन देखाएको बताए ।

‘उनले फोन गर्नेवित्तिकै यसो छ, उसो छ भनेका थिए’ न्यायाधीश कोइरालाले अनलाइनखबरसँग भने, ‘पैसाको कुरा नगर्नुस् हजुर, म डराएँ, खुट्टा कमाएँ । मेरो बुबाको सम्पत्ति छ, हजुरबुबाले कमाइदिएको सम्पत्ति छ । त्यतिले पुग्छ, मलाई एक रुपैयाँ लोभ छैन भनेको छु ।’ सुरुमा आफूसँग भएको धेरै कुराकानी बाहिर नआएको उनको दावी छ ।

‘फोन गरेपछि रेस्पोन्स नगर्ने कुरा पनि भएन । बारको कोषाध्यक्ष जस्तो मान्छेले कुरा गरेका छन् । हो हो भन्नैपर्‍यो’ उनले भने, ‘सुरुमा मैले मलाई फोन नगर्नुस् । कुनै हालतमा हुदैन भनेको थिएँ । त्यसपछि उनले ‘कुरा सुन्नुस् न कुरा सुन्नुपरेन ?’ भनेपछि ल ल के रहेछ कुरा भनेर कुरा सुनेको र हो मा हो मिलाएको हुँ ।’ त्यो संवाद समेत बाहिर नआएको उनको दावी छ ।

न्यायाधीश कोइरालाका अनुसार, सिभिल सहकारीको ठगी मुद्दामा धेरै पीडित थिए । इजलासमा मुद्दाको सुनुवाइका क्रममा कतिपय पीडितहरु आफ्नै अगाडि आएर रुने, कराउने, चिच्याउने गरेको उनले बताए । ‘मैले हुदै हुदैन । सक्दै सक्दिन भनेको थिएँ’ उनले भने, ‘उनले (पोखरेल)ले कुरा पनि नसुन्ने कुरा त सुनिदिनुस् भनेपछि त्यति कुरा गरेको हुँ ।’

न्यायाधीश कोइरालाका अनुसार, इच्छाराज तामाङ लगायतका आरोपित जोडिएको सिभिल सहकारीको मुद्दामा धेरै जनाको दबाव थियो । धेरैले फोन गरेपछि उनले स्वीच अफ गरेर आफू बसेको बताए ।

मुद्दाका लागि उच्च अदालतका न्यायाधीशदेखि राजनीतिक दलका नेता, प्रहरी अधिकारीको समेत आफूलाई फोन आएको न्यायाधीश कोइरालाले बताए । कतिपयले आफ्नो ड्राइभरको फोनबाट समेत सम्पर्क गरेको उनले बताए ।

‘मैले गर्दिन, मबाट हुँदैन । मानिसहरु पीडित छन् भनेको हुँ । कतिपय ठूलै मान्छेको फोन आउँछ, उठाइदिनै पर्‍यो’ उनले भने, ‘(त्यो मुद्दाका लागि) मलाई कसले फोन गरेन होला र ?’ तर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले भने फोन नगरेको कोइरालाले बताए । पछि आफैंले तामाङलाई थुनामा पठाउन आदेश दिएको उनले बताए ।

‘मेरो सिधा कुरा छ, मैले फट्याईं गरेको छैन । मलाई धेरै दबाव आएकाले १५/२० दिन फोन स्वीच अफ गरेको थिएँ, टेलिकममा हेर्दा पनि थाहा होला’ उनले भने, ‘कुरा त सुनिदिनुस् भनेर जबर्जस्ती गरेकाले सुनेको हुँ । समाज यही हो, मैले फोनमा कुरा गर्दिन भन्ने मिलेन । खाई न पाई, छालाको टोपी लाई झै भयो । बेकारमा मलाई डुबाइदिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?