+
+

नागरिकता विधेयक अघि बढाउने तयारी, अंगीकृतबारे मौन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ८ गते १९:१८

८ असार, काठमाडौं । सत्तारुढ गठबन्धनमा नागरिकता विधेयकबारे सहमति जुटाउने प्रयास सुरु भएको छ ।

बुधबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयक संसदबाट पारित गर्ने प्रस्ताव राखेका थिए । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरुसँग भने, ‘प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राख्नुभएको छ । यसको केही प्रक्रियाहरु छ, त्यो पुरा गरेर चाँडै पेश हुन्छ ।’

तर नागरिकता विधेयकमै रहेको वैवाहिक अंगीकृत नागरिकतासम्बन्धी व्यवस्थामा भने सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुबीच नै एकमत छैन ।

राज्य व्यवस्था तथा सुशासन समितिले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रस्ताव अनुसार नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई तत्काल राजनीतिक अधिकार नहुने गरी आवासीय अनुमति पत्र दिने र ७ वर्षपछि मात्र नागरिकता दिने प्रावधानसहित नागरिकता विधेयक संसदमा पेश गरेको छ ।

तर नेपाली कांग्रेस, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टी भने ७ वर्षे प्रावधानको पक्षमा छैनन् । विगतमा ७ वर्षे प्रावधान राख्ने नेकपा पनि विभाजित भएर नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बनेका छन् । एमाले प्रमुख प्रतिपक्षी दल बनेको छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी, कांग्रेस नेतृत्वको सरकारमा छ । त्यसैले ७ वर्षे प्रावधानबारे सहमति जुटाउन सजिलो छैन । स्रोतका अनुसार हाल संसदमा रहेको विधेयक फिर्ता लिने र सहमति जुटेका विषय मात्र समेटेर नयाँ विधेयक लैजाने गृहकार्य भइरहेको छ ।

एक नेता भन्छन्, ‘सहमति जुटेका विषयलाई अघि बढाउने र अंगीकृत नागरिकताबारे सबै दलसँग सहमति जुटाएर अर्को खेपमा लैजाने कि भन्ने सल्लाह भइरहेको छ ।’

त्यसो भएमा जन्मसिद्ध नागरिकका सन्तान, नेपाली आमाबाट जन्मिएका सन्तान र गैरआवासीय नेपालीले नागरिकता पाउने बाटो खुल्ने छ । तर नेपाली नागरिकसँग बिहे गर्ने विदेशी महिलाले पाउने वैवाहिक अंगीकृत नागरिकताको विषय सम्बोधन हुने छैन ।

नयाँ संविधान बन्नुअघि जन्मसिद्ध नागरिकताको व्यवस्था थियो । तर नयाँ संविधानले यो व्यवस्था गरेन भने जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने व्यवस्था गर्‍यो । नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेको र बाबुको पहिचान नभएका व्यक्तिलाई वंशजको नागरिकता दिने भनिएको छ भने गैरआवासीय नेपालीहरुलाई पनि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता दिने भनिएको छ ।

संविधानअनुसार नागरिकता विधेयक संशोधन नहुँदा नेपाली नागरिक बाबुआमाबाटै जन्मिएका हजारौं युवाले नागरिकता पाउन सकेको छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?