+
+

फक्ताङलुङ हाँक्ने लाहुरे अध्यक्षको योजना

हरि अधिकारी हरि अधिकारी
२०७९ असार ९ गते ८:०७

९ असार, विराटनगर । ३९ वर्षअघि ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँ पञ्चायतमा जन्मिएका राजन लिम्बु १८ वर्षको उमेरमा सिंगापुर गोर्खा कन्टिन्जेन्ट (सिंगापुर प्रहरी)मा भर्ति भए । विकट पहाडको दुःखबाट पैसाको महत्व बुझेका उनले १५ वर्षमा पेन्सन पकाउँदासम्म काठमाडौंमा घर जोडिसकेका थिए ।

सेवा निवृत्त भएर फर्केपछिको केही समय उनी काठमाडौंमा आय स्रोतहरु बढाउने काममा सक्रिय भए । स्वदेशमा राजनीति गर्ने योजना बनाएका उनले सिंगापुरमा हुँदै नेकपा (माओवादी केन्द्र) समातिसकेका थिए ।

२०७५ सालदेखि धेरैजसो ताप्लेजुङमा रहेर राजनीति गरेका उनी गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट फक्ताङलुङ गाउँपालिका अध्यक्षमा निर्वाचित भए ।

‘हाम्रो पालिका साह्रै विकट छ, जनताका धेरै दुःख छन्’, अध्यक्ष लिम्बु भन्छन् । उनका अनुसार, जिल्ला सदरमुकाम फुङलिङबाट फक्ताङलुङ पुग्न पैदल एक दिन लाग्छ । पछिल्लो समय बनेको सडकले त्यो दुरीलाई ६ घण्टामा झारेको छ । फक्ताङलुङको ताप्लीथोकसम्म ग्राभेल सडक पुगेको छ ।

ताप्लेजुङको उत्तरपुर्वी गाविसहरु– फक्ताङलुङ, ओलाङचुङगोला, खेजनिम, लिङखिम, ईखाबु, तापेथोक र लेलेप मिलाएर फक्ताङलुङ गाउँपालिका बनेको हो ।

‘पालिकाको माथिल्लो भेगका जनतालाई गुजारा गर्न कठिन छ’, अध्यक्ष लिम्बु भन्छन्, ‘घुन्सावासी तलबाट मान्छे र खच्चडले बोकेको खाद्यान्नको भरमा छन् । ओलाङचुङगोलावासी चीनको रिउ बजारमा निर्भर छन् ।’

प्रदेश र संघीय सरकारसँग माग

पालिका अध्यक्ष लिम्बुले पूरै आन्तरिक बजेट कृषी उपज वृद्धि र शैक्षिक सुधारमा लगाएर ठूलो योजनाका लागि प्रदेश र संघीय सरकारसँग सहयोग माग्ने कार्ययोजना बनाएका छन् ।

उनले पालिकाभित्रका ४० विद्यालयमध्ये ३१ वटा आधारभूत विद्यालयमा कक्षा १ सम्म र माविमा कक्षा १ देखि ५ सम्म यही शैक्षिक सत्रबाट अंग्रेजीमा पढाउने निर्णय पहिलो कार्यपालिका बैठकबाट गराएका छन् ।

‘छोराछोरी पढाउन सदरमुकाम वा मधेशतिर सर्नेहरुलाई गाउँमै रोक्न अंग्रेजी शिक्षा नभइ भएन’, अध्यक्ष लिम्बु भन्छन्, ‘यसरी क्रमशः कक्षा १२ सम्म अंग्रेजीलाई माध्यम भाषा बनाउने योजना छ ।’

चीनसँग सीमा जोडिएको फक्ताङलुङको मुख्य उत्पादन मकै, कोदो, आलु, अलैंची र जडिबुटी हो । पालिका अध्यक्ष लिम्बुका अनुसार अहिले अलैंची खेती बढेको छ, तर बेच्ने बेला भाउ घट्दा किसान हैरान हुन्छन् ।

‘भौगोलिक रुपमा धेरै विकट हाम्रो पालिकाको उत्तरी भेगमा टेलिफोनले टावर टिप्दैन । आन्तरिक आम्दानी न्यून छ,’ लिम्बु भन्छन्, ‘अब कृषी उत्पादन बढाउन योजनावद्ध काम गर्छाैं ।’

सडक, पुल, अस्पताल, पर्यटन, सञ्चार सम्वद्ध संरचनाका लागि भने प्रदेश र संघसँग ठूलो अपेक्षा राखेको र त्यहीअनुसार योजना बनाएको उनले सुनाए ।

‘वडा नम्बर ४ र ५ जोड्न तमोर खोलामा जति सक्दो चाँडो पुल आवश्यक परेको छ । तत्काललाई त्यहाँ बेलिब्रिज लगाउन सकिन्छ’, अध्यक्ष लिम्बु भन्छन्, ‘बेलिब्रिज, अस्पताल, टेलिफोन टावर र कञ्चनजंघा पर्यटन विकास केन्द्रका लागि प्रदेश सरकारलाई आग्रह गरेका छौं ।’

अध्यक्षको गाडी एम्बुलेन्स

अध्यक्ष लिम्बु पालिकाबाट सेवा सुविधा नलिएको बताउँछन् । गुजाराका लागि सिंगापुर प्रहरीको पेन्सन, आफ्नै गाडी, काठमाडौंमा घर र फुटसल भएको उनले बताए ।

उनले पालिका अध्यक्षको गाडीलाई गाउँका विरामी सदरमुकाम पुर्याउने एम्बुलेन्स बनाएका छन् । आफूले पाउने तलब र भत्ताबाट पालिकामा नागरिक केयर सेन्टर खोल्न लागेको लिम्बुले बताए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?