+
+

महानगरले ल्याए ५३ अर्बको पूर्वाधार केन्द्रित बजेट 

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १० गते २१:४४

१० असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० का लागि शुक्रबार स्थानीय सरकारहरुले बजेट ल्याएका छन् । यसमध्ये ६ वटा महानगरपालिकामा मात्र ५३ अर्ब २३ करोड रुपैयाँ बराबरको बजेट आएको छ । यसमध्ये ५ महानगरपालिको कुल बजेट हाराहारी पुग्ने गरी काठमाडौं महानगरपालिका एक्लैले जम्बो आकारको बजेट ल्याएको छ ।

पोखरा, विराटनगर, वीरगन्ज, ललितपुर र भरतपुर महानरपालिकाको बजेटको योग २७ अर्ब ८१ करोड हुन आउँछ । जहाँ काठमाडौं एक्लैको बजेट २५ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । अधिकांक महानगरपालिकाले पूर्वाधार विकासलाई केन्द्रमा राखेर बजेट ल्याएका छन् । शिक्षा र स्वास्थ्यसहित जनसहभागितामा आधारित विकासलाई महानगरहरुले महत्व दिएका छन् ।

चालु आर्थिक वर्षमा ६ वटा महानगरपालिकामा ४३ अर्ब २३ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेका छन् । काठमाडौं महानगरपालिकाले आगामी आवमा ठूलो आकारको बजेट ल्याउँदा समग्र बजेटको आकार नै बढेको छ । २५ अर्ब ६१ करोडको बजेट ल्याएको काठमाडौंले चालु आवको तुलनामा ७ अर्ब रुपैयाँ बढीको बजेट ल्याएको छ ।

पोखरा महानगरपालिकामा दलहरुबीचको विवादका बीच अबेर गरी बजेट आयो । बजेट प्रस्तुत गर्नु अगाडि नै रातो किताव सार्वजनिक भएपछि एमालेका प्रतिनिधि आक्रोसित बनेका थिए । पोखराले समेत चालु आवको तुलनामा बढाएर बजेट ल्याएको छ ।

स्थानीय सरकारहरुले १० असारभित्र आगामी आवको बजेट ल्याउनु पर्ने कानूनी प्रावधान छ । यस दिन ल्याउन नसक्ने पालिकाले समेत असार मसान्तसम्म बजेट ल्याएर पास समेत गरिसक्नु पर्छ । बजेट १ साउनबाट कार्यान्वयनमा जान्छ ।

काठमाडौंको जम्बो बजेट

६ वटा महानगरपालिकामध्ये काठमाडौं महानगरपालिकाले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको छ । बजेटका लागि तय गरिएको स्रोतमध्ये काठमाडौं महानगरपालिकाले चालु आवमा खर्च गर्न नसकेको ठूलो रकमलाई राखेको छ ।

आन्तरिक आयमा काठमाडौंले राखेको रकममध्ये ११ अर्ब ९५ करोड रुपैयाँ बैंकको मौज्दातलाई जोडिएको छ । यो रकम स्थानीय सरकारले चालु आवमा खर्च गर्न नसकेको हो । काठमाडौं महानगरपालिकाले पूर्वाधारमा ११ अर्ब ८ करोड खर्च गर्ने बताएको छ ।

सामाजिक विकासमा १ अर्ब ६२ करोड विनियोजन गरेको सरकारले सुशासन र अन्तर सम्बन्धित क्षेत्रका लागि ४ अर्ब ४६ करोड रुपैयाँ विनियोजन भएको छ । कार्यालय सञ्चालन र प्रशासनिक खर्चमा महानगरपालिकाको ४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने भएको छ । काठमाडौंमा उपमेयर सुनिता डंगोलले बजेट सार्वजनिक गरेकी हुन् ।

महानगरपालिका क्षेत्रभित्रका हिति, मठमन्दिर र ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरुको संरक्षण र सम्वर्द्धनलाई महानगरले विशेष प्राथमिकता दिने बजेटमा उल्लेख छ ।

वडा कार्यालयहरुलाई सेवा प्रवाह, विकास निर्माण र प्रत्यक्ष जनचाहना पुरा गर्ने  कार्यालयको रुपमा विकास गर्न भन्दै चालु आर्थिक वर्षको भन्दा झन्डै दोब्बर बजेट विनियोजन भएको छ ।

महानगरपालिका केन्द्रीय कार्यालय रहेको हरिभवनको प्रबलीकरण, विद्युतीय सार्वजनिक सवारी यातायात, सरकारी, सार्वजनिक, निजी, गैरसरकारी संस्थाहरुको परिसरमा रहेको खाली जग्गामा पोखरी निर्माण लगायतका कार्यक्रको लागि पनि बजेट विनियोजन भएको छ ।

पानी पुनर्भरण विशेष कार्यक्रम, महानगर उज्यालो कार्यक्रम, डबलीहरुको पुनस्र्थापना र एमपी थियटर निर्माण, सामुदायिक विद्यालयहरुको भौतिक पूर्वाधारमा गुणात्मक सुधार,वेस्ट टु इनर्जी प्लान्ट जडान, डिजिटल अर्बान सेक्युरिटी सिस्टमका लागि सिसिटिभी, बस स्टपहरुमा परम्परागत शैलीको फल्चा निर्माण लगायतका कार्यक्रमले पनि बजेट पाएका छन् ।

महानगरपालिकाको विपद जोखिम नक्शांकन, आवधिक योजनाको तयारी, ई गभर्नेन्स मास्टर प्लान, दमकल स्टेसनको विस्तार, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा औषधी वितरण, युवा केन्दि्रत कार्यक्रमहरु, खेलकुद विकासका लागि पूर्वाधार निर्माण तथा बिभिन्न कार्यक्रम संचालन लगायतका शीर्षमा पनि महानगरले बजेट छुट्याएको छ ।

महिलाहरुलाई सिप विकासमार्फत स्वरोजगार कार्यक्रम, अपाङ्गता भएका व्यक्तिका लागि सहयोग, मेट्रो रेलको सम्भायता अध्ययन, सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन, शित भण्डार निर्माण, केएमसी मार्ट निर्माण तथा सञ्चालन, मृत जीवजन्तुको अन्तिम संस्कारका लागि शवदाह गृहको निर्माण लगायतका योजनाले पनि बजेटमा विशेष महत्व पाएको छ ।

सार्बजनिक जग्गा संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धन, नदी नियन्त्रण तथा कोरिडोर क्षेत्रमा ढल प्रशोधन केन्द्रको निर्माण, सहरी यातायात ब्यबस्थापनका लागि कम्पनी स्थापना तथा सञ्चालन जस्ता योजना तथा कार्यक्रमहरु समेत बजेटमा समेटिएका छन् ।

इन्द्रजात्रालाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउन बिशेष कार्यक्रम सञ्चालन, अनुसन्धान तथा विकास, बाजा संग्रहालय, कला संस्कृतिको संरक्षण विशेष कार्यक्रम, आविष्कार केन्द्र, सहरी स्वास्थ्य क्लिनिकलाई सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा स्तरोन्नति गर्ने कार्यक्रमले पनि बजेट पाएका छन् ।

‘शिक्षा, स्वास्थ्य, फोहरमैला व्यवस्थापन, सम्पदा संरक्षण तथा सम्वर्द्धन र पूर्वाधार विकासलाई विशेष महत्व दिई बजेट बिनियोजन गरिएको छ ,’ बजेट वक्तव्यमा भनिएको छ ।

ललितपुरको प्राथमिकता जनसहभागिता

चालु आवमा ५ अर्ब ५५ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि केही बढाएर बजेट ल्याएको छ । यस आवमा ललितपुरले ६ अर्ब ३५ करोड रुपैयाँको बजेट ल्याएको हो

ललितपुरले यस आवमा जनसहभागितालाई जोड दिएको छ । महानगरपालिकाले विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागित १० प्रतिशत अनिवार्य गरिएको हो ।

ललितपुरले महानगरपालिकाबाट कालोपत्रे भएको सडक कम्तिमा २ वर्षसम्म खन्न स्वीकृति नदिने भएको छ । कल सेन्टर सञ्चालनमा ल्याउने घोषणा गरेको सरकारले सत्यमोहन जोशी एकेडेमी स्थापनाको घोषणा समेत गरेको छ ।

फोहोरमैलाको दीर्घकालीन व्यवस्थापनका लागि महानगरपालिकाले वैकल्पिक ल्याण्डफिल्ड साइटको अध्ययन गर्ने भएको छ ।

भरतपुरको प्राथमिकता शहरी पूर्वाधार

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ५ अर्ब ७४ करोड रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आवको बजेट ४ अर्ब ८१ करोड भन्दा केही बढी हो । यो वर्ष भरतपुरले विगतमा शुरु भएका तर सम्पन्न हुन नसकेका अधुरा योजनामा प्राथमिकताका साथ बजेट राखेको छ ।

यस्तो काम वडातहबाट गराइने भएको छ । जसका लागि प्रतिवडा २ करोड ७२ लाख रुपैयाँ खर्च गरिने भएको छ । ठूला र रणनीतिक महत्वका पूर्वाधार निर्माण गर्न संघ र प्रदेश सरकारको स्रोतसँग समपुरक साझेदारी कोष स्थापना गरिने भएको छ ।

शिक्षा तथा शहरी पूर्वाधारमा समेत महानगरले मनग्य बजेट राखेको छ । छोरी बीमा कार्यक्रम, विपद व्यवस्थापन, करदाताको अभिलेख डिजिटल बनाउने काममा समेत बजेट राखिएको छ ।

विराटनगरले घटाएर ल्यायो बजेट

महानगरपालिकामध्ये विराटनगर र वीरगन्ज महानगरपालिकाको बजेट भने घटेर आएको छ । चालु आवमा ४ अर्ब १० करोडको बजेट कार्यान्वयन गरिरहेको विराटनगरले आगामी आवका लागि ३ अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याएको छ

उपमेयर शिल्पा कार्कीले ल्याएको बजेटमा पूर्वाधारमा १ अर्ब ८९ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । चालुमा भने ५५ करोड ३५ लाख रुपैयाँ खर्च हुने छ ।

आर्थिक विकासमा २७ करोड विनियोजन गरेको सरकारले सामाजिक विकासमा ७८ करोड रुपैयाँ छुट्याएको छ । १९ वटा वडाका लागि ४१ करोड रुपैयाँ दिइएको छ ।

वीरगन्जको प्राथमिकता पूर्वाधार

वीरगन्ज महानगरपालिकाले चालु आवको तुलनामा आगामी आवका लागि बजेट केही घटाएर ल्याएको छ । यस वर्ष ३ अर्ब ५५ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको वीरगन्जले आगामी आवका लागि ३ अर्ब ३३ करोड रुपैयाँको बजेट ल्याएको हो । वीरगन्जले प्राथमिकतामा पूर्वाधारलाई राखेको छ ।

कुल बजेटमध्ये पूर्वाधारमा १ अर्ब १९ करोड रुपैयाँ खर्च गर्ने भएको छ । शिक्षा, युवा तथा खेलकुदमा ६६ करोड रुपैयाँ विनियोजन गरेको वीरगन्जले सामाजिक विकासमा ९९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सरसफाई, सूचना, प्रविधि तथा सञ्चार, वन तथा वातावरण, बालबालिका तथा जेष्ठ नागरिकको क्षेत्रका लागि समेत महानगरपालिकाले बजेट राखेको छ ।

३ घन्टा रोकिएपछि आयो पोखराको बजेट

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले शुक्रबार ११ औं नगरसभामा नयाँ आर्थिक वर्ष २०७९/८० का लागि बजेट सार्वजनिक गरेकी हुन् । पोखराले अघिल्लो पटकभन्दा २ अर्ब ५० करोडभन्दा बढी बजेट ल्याएको हो ।

यसअघि बजेट प्रस्तुत हुनअगाडि नै रातो किताब प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका थिए । एमालेका प्रतिनिधि र महानगर प्रमुख, उपप्रमुख बीचको वार्तापछि नगरसभा करिब ३ घन्टापछि मात्रै सुरु भएको थियो ।

स्रोतका अनुसार वार्तामा महानगर प्रमुख धनराज आचार्य र प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले माफी मागेका थिए भने रातो किताब पुनः छाप्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?