+
+
पोखरा महानगर :

बजेट पेश नहुँदै रातो किताब, मेयरले माफी मागेपछि सहमति

विकास रोकामगर विकास रोकामगर
२०७९ असार १० गते २२:०८

१० असार, पोखरा । निमयत: नगरसभामा बजेट पेश तथा पास भइसकेपछि मात्रै बजेट कार्यक्रम पुस्तिका (रातो किताब) प्रकाशन हुन्छ । तर पोखरा महानगरपालिकामा नगरसभामा बजेट पेश हुनुअगावै रातो किताब प्रकाशन गरेपछि हंगामा भएको छ । नेकपा एमालेका जनप्रतिनिधिले रातो किताब च्याते । उनीहरुको बहिस्कारकै कारण नगरसभा ३ घन्टा रोकिएको छ ।

पोखरा सभा गृहमा शुक्रबार साँझ ५ बजे महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट वक्तव्य जारी गर्ने तयारी थियो ।

तर त्यसभन्दा अगाडि नै रातो पुस्तिका छापिएर आएको सूचना एमाले जनप्रतिनिधिले पाए । लगतै उनीहरुले नगरसभा नै बहिस्कार गर्ने योजना बनाए । ‘उपप्रमुखज्यूलाई समेत थाहा नहुने कस्तो रातो किताब हो त्यो ? विधि, प्रक्रिया हुन्छ । तर, महानगरमा केही देखिएन,’ सभा सुरु हुनुअघि सभाहल बाहिर नेकपा एमालेका एक जनप्रतिनिधिले भनेका थिए, ‘आज सभा बस्दैन । हामी बहिस्कार गर्छौं । बजेट पेश नहुँदै रातो किताब कसरी हुन्छ ?’

नभन्दै मेयर धनराज आचार्यले सभा सुरु भएको घोषणा गरे लगत्तै एमालेबाट निर्वाचित वडा नम्बर १७ का वडाध्यक्ष तथा एमाले संसदीय दलकी नेता राधिका शाहीले मञ्चमै उक्लिन् । रातो किताबमा आफ्ना योजनाहरु समावेश नगरिएको भन्दै उनले भनिन्, ‘हामीलाई बजेटको एउटा सिलिङ दिइएको छ । तर त्यो सिलिङ यहाँ उल्लेख छैन । यो स्वीकार्य छैन ।’

उनी रातो किताब च्यातेर मञ्चबाट बाहिरिइन् । एमालेका अरु जनप्रतिनिधि पनि नाराबाजी गर्दै हलबाट बाहिरिए । मेयर धनराजले माइकिङ गर्दै पटकपटक सभामा सहभागी हुन आग्रह गरे । तर रातो किताबबारे स्पष्टीकरण नदिएसम्म सभामा सहभागी नहुने अडान उनीहरुले राखे ।

एमालेका जनप्रतिनिधि हलभित्र प्रवेश नगरेपछि मेयर आचार्यले उपमेयर मञ्जुदेवी गुरुङको सहयोग खोजे । एमालेबाट निर्वाचित उपमेयर गुरुङले पनि आफूलाई रातो किताबबारे जानकारी समेत नदिइएको बताइन् । ‘हलमा आउँदै गर्दामात्रै थाहा पाएँ,’ अनलाइनखबरसँग छोटो प्रतिक्रिया दिँदै उनले भनिन् ।

कर्मचारीलाई दोष !

रातो किताब विवादका कारण नगरसभा सुरु हुने सुरसार नभएपछि नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले पनि मेयर आचार्यमाथि प्रश्न उठाए । उनीहरुले आफ्नो कार्यकालको पहिलो बजेटमै बेइज्जत गरिएको भन्दै हलमा नाराबाजी नै गरे ।
स्रोतका अनुसार २०० प्रतिभन्दा बढी रातो किताब छापिएको थियो । तर कर्मचारीहरु भने यसबारे बोल्न चाहँदैनन् । ‘हामीलाई जे काम गर्न लगाइएको त्यही गर्ने हो । बढी गर्ने अधिकार कहाँ हुन्छ र ?’ महानगरका एक उच्च पदस्थ कर्मचारीले भने । तर मेयर आचार्यले रातो किताबबारे आफूलाई पनि जानकारी नभएको बताउँदै कर्मचारीमाथि दोष थोपरे ।

तथापि नगरसभा सुरु हुन सकेन । रातो किताबबारे स्पष्टिकरण नआएसम्म सभामा सहभागी नहुने भन्दै एमाले जनप्रतिनिधि शान्ति वनस्थित पार्टी कार्यालयतिर लागेका थिए ।

बजेट नै रोकिने अवस्था आएपछि मेयर आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, प्रमुख प्रशाकीय अधिकृत बलराम रिज्याल र एमाले जनप्रतिनिधिबीच छलफल भयो ।

बैठकमा मेयर आचार्य र प्रमुख प्रशासकीय अधिकृत रिज्यालले माफी मागेका थिए । ‘उहाँहरुले माफी मागेर रातो किताब फेरि छाप्ने सहमति भएपछि मात्रै सभा सुरु गर्ने सहमति भएको हो,’ नेकपा एमालेका एक जनप्रतिनिधिले भने ।

साँझ ७ बजेपछि नगरसभा सुरु भयो, जहाँ उपमेयर गुरुङले आगामी आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट पेश गरिन् । पोखराले अघिल्लो पटकभन्दा २ करोड ५० करोडभन्दा बढी बजेट ल्याएको हो ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?