+
+
यात्रा संस्मरण :

खप्तड गंगा दशहरा मेला यात्रा : भेटिएनन् ती पात्रहरू

बसन्त पाध्याय बसन्त पाध्याय
२०७९ असार १२ गते १३:२६

मथलाको रङ्ग जान्छ गहिला बसेइ गेरी।

दहरा (दशहरा) हरिया पाटन आउन्या है कि फेरि।

चौध वर्ष पहिला खप्तड गंगा दशहरा मेलामा बिहानीपख विदाइ हुन लाग्दा बाजुराकी युवतीले भनेको डेउडा गीत हो। सँगै भनेकी थिइन्, “पोहोर बाटो साँफेका डाँडा अहिले बाटो कौडी। एक्ल्या मान्छे बहुलो कामु सकिंदैन दौडी।” झा लाऊ झा भनी गाली सुम्सुम्याउँदै विदाइ भएकी थिइन्। मैले डेउडा फर्काउन पाइनँ खेल टुंग्यो/छुट्यो, हामी छुट्यौं। मध्यरातबाट खेल्न सुरु गरेको डेउडा खेलमा हामी बीच बसेको माया छुट्यो। को हुन् ती डेउडिया महिला चिन्दिनँ र सम्झना पनि छैन कुन वर्णकी कस्ती थिइन् भनेर, तर सेतो पटुका, रातो रुमाल, पहेंलो पोते, एकै रंगको धोती पहिरनमा सजिएकी ती बाजुराकी युवती यसपटक भने भेटिइनन्।

रामचन्द्र चौध वर्षपछि घरवास भए, बाह्र वर्षपछि खोलो फर्किन्छ भनिन्छ तर म खप्तड फर्किन चौधै वर्ष लाग्यो। त्यो पनि गंगा दशहरा मेलाको अवसर पारेर। जेठ शुल्क दशमी तिथिमा लाग्ने दशहरा मेलासँगै आँखाले देखुन्जेलसम्मका खप्तडी पाटन हेर्न आतुर थियो हाम्रो मन र हामीले हाम्रो यात्रा डोटीको सिलगडीबाट डोटीकै झिग्रनासम्म करिब एक घण्टाको गाडीको यात्रापछि हामी उकालो लाग्यौं। म जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्ट लगायत चार जनाको समूह झिग्राना पोस्टबाट (डोटीतिरको खप्तडको प्रवेशद्वार) खप्तडमा पाउने वनस्पतिको सुगन्ध र आफ्नै पसिनाको सुगन्धको सहाराले उकालो लाग्यौं। हामीसँग भएको मोबाइलबाट डेउडा गीत बजिरहे, हामीले पनि डेउडा गुनगुनाइरह्यौं, खोल्साबाट झरेको पानीले आँत भिजाइरह्यौं र चार/पाँच किलोमिटरको दुरीमा नेपाली सेनाले बनाएका यात्रु प्रतीक्षालयमा झोला टेकाउँदै चैनले डेउडा गीत बजाएर नाच्दै अगाडि बढ्यौं।

झिग्रानाबाट हिंडेको चार घण्टापछि हामी बिचपानी भन्ने स्थानमा पुग्यौं जहाँ एउटा होटलको छाप्रो र झुम्मिएका पैदलयात्रीहरु थिए। एकछिन विश्राम गर्दै केही खानेकुराहरु खाएर हामी अगाडि बढ्यौं। बिचपानीसम्म उकालो थियो, पैदलयात्रुहरु पसिना पुछ्दै लामो सास तान्दै अगाडि बढिरहेको दृश्य लोभलाग्दो थियो। यो बाटो हिंड्दै गर्दा मेरा पाइलाले उच्च शिक्षाको खोजी गर्न बझाङबाट डोटी आउँदै-जाँदै गरेको होस् वा बुवा र दाइहरूसँग हिंडेको बेलाको यादले अतित बिउँझाइरहेको थियो। बिचपानी पुगेपछि अर्को विगत पनि वर्तमान बनेर आयो, कुनै बेला बिचपानीमा यात्रुहरुका लागि आवास (गोलघर) बन्दै गर्दा केही दिन म, जनक दाइ, अनिल र बसन्त दाजु लगायतले श्रम गरेको खुब याद आयो। दुई/चार दिन श्रम गरेर ढुंगा बोकी ज्याला लिएर घर गएँ र त्यही ज्यालामा बुवाले आशीर्वाद र आमाले माया थप्दै म पहिलो पटक नेपालको राजधानी काठमाडौं हिंडेको थिएँ। अहिले त्यो बिचपानीको गोलघर भग्नावशेष मात्र छ। सम्झेर मन अमिलो हुन्छ।

बिचपानीबाट अब भने तेस्रो बाटो लाग्यो, उही वनस्पतिको सुगन्ध, चराचुरुंगीहरुको मोहित पारिरहने चिरबिर र कुहु-कुहु सुन्दै झन्डै दुई घण्टापछि हामी डोटीतिरबाटको पहिलो पाटन बुकी पाटन पुग्यौं। दशहरा मेलाको अघिल्लो दिन भए पनि यात्रुहरू पदमार्गमा लस्करै लाइनमा हिंडेका देखिन्थे। तिनै यात्रुहरुलाई बाटा-बाटामा स्याउली (रुमालमा फूल/पुष्पगुच्छासहित बाटोको बीचमा राख्ने) राखेका थिए। खप्तडमै गोठमा बस्ने बालबालिकादेखि बैंस ढल्किसकेका महिला वर्ग समूहले राखेका स्याउलीमा खानेकुरा, फूल र पैसा चढाउने चलन हुन्छ। त्यो बेला खानेकुरा बाबर (सेलरोटी), पुरी र फूलमाथि २/५ रुपैयाँ चढाउने चलन थियो। अहिले भने बजारिया खानेकुरा र पैसा चढाउँदै यात्रुहरु अघि बढिरहेका थिए। जे भए पनि रित्तो हात स्याउली नाघ्नुहुँदैन भन्ने परम्परा जीवितै रहेछ, यसले मलाई थप खुसी बनायो, र बालापनको खुब याद दिलायो।

बुकी पाटनमा बाजुरा काडाका मान्छेका खर्क र बस्तुभाउ, भैंसी समेत देखिए भने बाजुरा शिङ्णाका मान्छेको अस्थायी पसल पनि रहेछ, त्यहाँ हामीले एक/एक बटुको दही र चिया समेत खाएपछि अघि बढ्यौं। दश/पन्ध्र मिनेट जति जंगल हिंडेपछि अर्को त्रिवेणी पाटन सुरु भयो।

त्रिवेणी पाटन सुरु हुने बित्तिकै सीतापाइला मन्दिर छ। खप्तड कुबेरको राजधानी थियो भन्ने कुरा पुराणमा भेटिन्छ भने पाण्डव पनि खप्तडकै बाटो भएर कुरुक्षेत्र गएको साथै युद्धमा मारिएकाहरुको चिरशान्तिका लागि अर्जुनले खप्तडको त्रिवेणीमा तर्पण गरेको र सीताजीको पनि पाइला परेको हुँदा सीतापाइला नाम रहेको भनाइ समेत छ। खप्तडका थुम्का-थुम्काहरुलाई स्थानीय भाषामा झोती भन्ने गरिन्छ, यी थुम्का पाण्डवहरुले कुरूक्षेत्र जाने बेला एकरात यतै वास बसी एकै रातमा हलोले जोतेको हुँदा हलोको सिया जस्ता देखिन्छन् भन्ने भनाइ रहेको छ।

“बाइस पाटन बाउन्न झोती पाण्डवले जोत्याका।

नौ गेडी हीराकी हार पहेली पोत्याका।।”

बाइस पाटन बाउन्न झोतीको उपमाले समेत चिनिने खप्तडको त्रिवेणी पुग्दा तीर्थालुहरु (जत्यारु)जम्मा हुँदैथिए। त्रिवेणीको तेस्रो उकालो बाटो काटी दशहरा पाटन पुग्यौं अलि-अलि अस्थायी पसलका लागि पालहरू लागेका थिए। हामी भने राष्ट्रिय निकुन्जको सुरक्षार्थ तैनाथ सिंह शार्दूल गुल्म व्यारेकतिर लाग्यौं। गुल्मका गुल्मपति सेनानी विशेष पौडेल र श्री नं. ५ बाहिनी अड्डाका प्रमुख सेनानी सुशील प्याकुरेल समग्र गंगा दशहरा मेला व्यवस्थापन र विभिन्न कार्यक्रम संचालनमा तल्लीन थिए। हामीहरुलाई पनि उहाँहरुले नै आतिथ्यता र स्वागत गर्दै खाना र बासको व्यवस्था गर्नुभयो।

भोलिपल्ट बिहानै हामी बाटोमा घोडा चढी रमाइलो गर्दै खापर दह (खप्तड ताल) पुग्यौं। खेचरादि पर्वत समेत भनिने खप्तडमा अवस्थित खापर दह हेर्दै, फोटो खिच्दै रमाउँदै पुजार पाटन हेर्दै पुन: सेनाको व्यारेकमै आई खाना खाई आराम गर्दै गर्दा घरबाट बुवा, दाजु, भिनाजु लगायत आउँदै हुनुहुन्छ भन्ने खबरले बहुतै खुसी भएँ।

खप्तड राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत गोपाल घिमिरेले टेन्टको जोहो गरी दिए। अब हामीले जहाँ म सानो हुँदादेखि मेरो परिवारले दशहरा मेला लक्षित गरी पसल राख्थ्यौं त्यही टेन्ट गाड्यौं। बुवाले ल्याउनु भएको अर्नी, चुलीलगायत खायौं, त्यसैगरी मास्टर दाजु, फुपू दिदी, भाइ, भान्जी लगायत टेन्टमा बसी भलाकुसारी गर्दैगर्दा साँझपख विभिन्न बाटा तथा थुम्काबाट लस्करै पहेंला पोते र सेता पटुका ढल्काएर जत्यारु आउँदै गर्दा म भने त्यसरी नै आउने मेरी आमा र चौध वर्षअघि “आउन्या है कि फेरि” भनी विदाइ भएकी कडाल्नी छोट्टीको खोजीको लागि आँखा दौडिरहेका थिए।

जत्यारु आइरहे पाटन भरिंदै गयो, पाल र टेन्ट थपिंदै गए, “आउँदै छन् जत्यारु पनि पड्डाइ छन् पाल पन। आमाको लाड्यालो चेलो माया मानेइ जन।” सबै सँगै बस्यौं म बुवाको काखमा बसें अर्नी खायौं। हामीले जसरी नै सबै जत्यारुहरु आ-आफ्नै अर्नी फाको खाँदै थिए। एकछिन डुल्यौं रात पर्‍यो बुवा सिलिपिंग ब्याग ओढेर सुत्नुभयो। म, मास्टर दाजु, भिनाजु, धादिंगका भोला सर र नुवाकोटका सुशील सर लगायतले रातभरि देउडा खेल्यौं। नेपाल टेलिभिजनले कैद गरिरह्यो।

खप्तडमा आई धादिङ र नुवाकोटका पात्रहरूले त्यति राम्रो डेउडा खेलेको देख्दा सबै आश्चर्यमा थिए। लय, डेडपैतली पाइला अरु डेउडिया जस्तै कत्ति पनि नबिगारी खेल्नुभयो। यसले सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेको डेउडा लोक साहित्य अब कुनै आञ्चलिकताको सीमाभित्र नरही सिंगो नेपालको साझा सम्पत्ति भएको र सुदूरपश्चिम र कर्णालीका युवाहरुलाई परसंस्कृतिकरणले गाँज्दै आफ्नो मौलिक लोक कला/साहित्यप्रतिको अरूचिलाई धादिङ र नुवाकोटका युवाले चुनौती दिएका छन्।

“खप्तड झुल्याका रुख हान्याको घाँ होला।

सुवाका सुनौली कोल व्यान्दलि था होला।”

यस्तै तमाम मन छुने डेउडा गीतका सवाल-जवाफ हुँदाहुँदै उज्यालो भयो। अब गंगा, जमुना र सरस्वतीको संगम त्रिवेणीमा स्नान गर्ने र जल भर्नेको घुइँचो थियो। कोही भने दशहरा पाटनमा नछुट्टिने माया लाउने केटा-केटा, केटी-केटी, केटा-केटी, बुढापाका-बुढापाका, महिला-पुरुष लगायतको खेल जमिरहेको थियो।

हामीले त्रिवेणी नुहाएपछि देउडा खेल हेर्‍यौं। बुवालाई उहाँका उमेर समूहका साथीहरुले देउडा खेल्न आग्रह गरे, “बुवाले ज्वाई लागेका छन् भन्नुभयो”। मैले भिनाजुलाई बुवा खेल्नुहुन्छ रे भिनाजु भनेपछि भिनाजुले खेल छाडी बुवा लाग्नु भयो। बुवाले लौरो टेकी पैतली मिलाउँदा मेरी आमा पनि आफ्ना साथीसंगीसँग यसरी नै यही ठाउँमा खेल्नुहुन्थ्यो भन्ने बहुत याद आयो।

खासमा डेउडा एउटै खेलमा बाबु-छोरा, आमा-छोरी, ज्वाइँ-ससुरा लगायत नलाग्ने चलन छ। डेउडा खेल्यौ, हेर्यौं अब विदावारी हुने बेला मैले मेरी आमाकी साथीसँगी भेटें सबैलार्इ एक-एक गरी ढोगभेट गरें तिनै आमाका साथीसँगी हेरी आमाको चौध/पन्ध्र वर्ष पहिलाको बालस्मरण खुब अगाडि आइरह्यो आखिर गला रसाइरह्यो। यसरी चौध वर्ष पहिला “दहरा हरिया पाटन आउन्या है कि फेरि” भन्ने मान्छे पनि भेटिनँ आखिर त्यो पनि स्मृतिमा मात्रै रह्यो।

सबै जत्यारु घर लाग्दै गर्दा दशहरा पाटन अन्मिरहेको थियो। पाल र टेन्टहरु भत्किंदै थिए र अब एक वर्षको लागि यो दशहरा पाटन एक्लै पर्खिरहनेछ। घर फर्किंदै गरेका जत्यारुले व्याँस्रो थप्दै थियो। हामी भने नेपाली सेना श्री नं. ५ बाहिनी अड्डा राजपुरलगायत डोटीका स्थानीय तह सबै र उद्योग वाणिज्य महासंघ डोटीको आयोजनामा गुरु चिन्तामणि नाथ योगीको उपस्थितिमा ध्यान योगमा गयौं।

त्यसपछि निकुञ्जमा अवस्थित सेनाको व्यारेक परिसरमा डेउडा प्रतियोगिता भयो “खप्तड शैलेश्वरी डेउडा गीत प्रतियोगिता, २०७९” नाम दिइएको उक्त प्रतियोगितामा चार जना बाजुराका महिला र चार जना बझाङका पुरुषबीच घमासान प्रतिस्पर्धा भयो। बाजुराकी रामसरी रोकायाले प्रतियोगितामा प्रथम भई प्रन्ध्र हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गरिन्। त्यसैगरी क्रमशः बाजुराकी तारा रोकाया द्वितीय र बझांगका डवलराज पाध्याले तृतीय स्थान हासिल गरे भने सहभागी सबै प्रमाणपत्र र तीन-तीन हजारका दरले सम्मानित भए। उक्त प्रतियोगितामा म धादिङका भोलाकुमार भट्ट (हाल प्र.ना.उ. डोटी), बझाङ छान्नाका धनराज पाध्या र उद्योग वाणिज्य महासंघ डोटीका पूर्व अध्यक्ष नरेन्द्र खड्का निर्णायकको भूमिकामा थियौं।

डेउडियालाई विदाइ गरे लगत्तै भलिबल समापन गर्दै त्यो दिन खाना र बासतर्फ लाग्यौं। भोलिपल्ट बिहान श्री १००८ स्वामी सचितानन्द खप्तड बाबाको साधना आश्रममा योग शिवरमा सहभागी भर्इ योगगुरु पुष्पराज पुरुषले योग संचालन गर्नुभयो। खप्तड बाबाको कुटीबाटै हामी घोडादाउना पाटन हेर्न गयौं। छेउबाट आँखाले देखुञ्जेलसम्म पाटन हेर्दै व्यारेक फर्कियौं।

अब हामीलाई त्यतिले मात्र पुगेन पुन: घोडादाउना पाटनतर्फ लाग्यौं म, भोला भट्ट, डवल पाध्या र मनोज सिहं। हामी नागढुङ्गा पुग्यौं ढुङ्गामा कुँदेका थरीथरीका नाग आनन्दित भएर घोडादाउना पाटन घुम्यौं। मौर्याढुंङ्गो, गुज्जरा पानि, कंन्डाल्या डाणो, रोठी चुल्ठ्या, जेठी वौरानी, हरिना चरी, भिमलडी (भिमघट्ट) घुम्दै गर्दा विशाल-विराट पाटनले पटक्कै थकान भएन।

नागढुङ्गा गुज्जरा पानि, कंन्डाल्या डाणो, रोठी चुल्ठ्या, जेठी वौरानी, हरिना चरी, भिमलडी (भिमघट्ट) घोडा दाउना पाटन लगायतको फोटो राख्ने

मेरो पुरानो बालापनको स्मरणले झन् आतंक मच्चायो, म गोठालो बसेको ठाउँ, बस्तुभाउ चराएको,  घोडा धपाएको, बुवा आमासँगै खर्क सारेको, अब ती अतित एक सुरक्षित विगत मात्र थिए। पुरानो मेरो खर्क नजिक पुगें अवशेष मात्र रहेको खर्क एक-एक गरी कोइली, विनु, फुर्की भैंसीको चित्र आयो सँगै काल्च्या बल्ल (गोरु) लगायत बस्तुभाउको घाणा (घण्टी) नै बजेको जस्तो महसुस गरे र कालु घोडाको पनि यादले सतायो। त्योभन्दा झन् आमाले दिएको सातु-सामल र बुवाले मही-दहीसहितको सिक्या डोको बोकाइ विस्तारै राम्ररी घर जानु भनेको गुन्जायमान भयो। एकछिनको भावुकतापछि लय समाउँदै विगत बिर्सने प्रयास गर्दै घोडादाउना ठूलाठूला पाटन हेर्दै अगाडि बढ्यौं।

यो पाटन पहिला जस्तो बस्तुभाउ, घोडा-भैंसी र गोठालाले गुन्जायमान छैन। पाटनभरि मुस्किलले आठ/दश मात्र खर्कहरु छन्। सुनसान छन् यो मौसममा चौपायाले भरिभराउ हुने पाटनहरु र अवशेष मात्र छन् खर्कहरुका। हामी भिमघट्टबाट (र्याइघट्ट-छ्याइपानि) छिन्ट्या ढुङ्गाको त्रिवेणीबाट उकालो लागी सहस्रलिङ्ग लाग्यौं। त्रिवेणीबाट एकघण्टामा बत्तीस सय मिटर उचाइको सहस्रलिङ्ग पुग्दै गर्दा काठ्या कुइरो लोटी रहेको थियो भने हावा बेस्सरी चलिरहेको थियो। घण्टी झुन्डाइएका ध्वजापतका हावामा बयली खेल्दै आफैं मधुर ध्वनिमा बजिरहेका थिए। हामी ढुङ्गै-ढुङ्गाको थान हजार लिङ्ग भएको सहस्रलिङ्गबाट फर्कियौं। ओरालो लाग्यौं। साँझपख पुन: व्यारेकमै खाना र बास बस्यौं।

अब हाम्रो खप्तड घुम्नुपर्ने र जानुपर्ने ठाउँ लगभग पूरा भए जैविक विविधताले सम्पन्न यो ठाउँ पौराणिक र धार्मिक दृष्टिकोणले समेत अत्यन्तै महत्वपूर्ण मानिन्छ। फरक मौसमको फरक स्वाद हुने यो ठाउँ हरिया-पहेंला फूल फुल्दा भदौ-असोजमा छुट्टै आनन्द आउँछ भने हिउँदमा सेतो च्यादर ओढ्दा छुट्टै अलौकिक मानिन्छ। यो देव भूमि खप्तड एक साँच्चिकै स्वर्गपुरी छ।

खप्तड-शैलेश्वरी म्याराथुनमा सहभागी हुँदै “रनफर फन” त्रिवेणीदेखि डोटीको झिग्रानासम्मको दुरी दुई घण्टामा पार गर्दै यस पटकको खप्तड यात्रा सम्पन्न गर्यौं।

खप्तड कुहिरो लोट्यो अल्की धुरै-धुर।

सुवाको चखेवा जोडी कहिलै नहौउ दुर।।

(खप्तडछान्ना गाउँपालिका तथा खप्तड मध्यवर्ती क्षेत्रका स्थायी बासिन्दा लेखक हाल उच्च अदालत दिपायलका इजलास अधिकृत हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?