+
+

‘राजनीतिक उतारचढावले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध टुट्दैन’

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ११ गते १६:३६

११ असार, बिहार । नेपाल र भारतको सीमा क्षेत्रका वासिन्दाले दुई देशको सरकारबीचको सम्बन्धमा आउने उतारचढावले नागरिकबीचको सम्बन्धमा असर नपर्ने बताएका छन् । उनीहरुले सदियौंदेखि रहेको जनस्तरको सम्बन्धलाई निरन्तरता दिन सीमाञ्चल क्षेत्रका अगुवाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

भारत विहारको बैशाली जिल्लास्थित ऐतिहासिक नगर वैशालीमा आयोजित ‘भारत नेपाल समिट २०२२’ का सहभागीले बदलिँदो परिस्थितिमा सम्बन्ध सुदृढ बनाइराख्न चनाखो रहनुपर्नेमा जोड दिए ।

नेपाल र भारतबीचको १७ सय किलोमिटरभन्दा लामो खुला सिमाना दुई देशबीचको विशिष्ठ र अभिन्न सम्बन्धको प्रमाणको रुपमा रहेको उनीहरुको भनाइ छ । नेपालमा भारतको विरुद्धमा बाहिरी शक्तिहरुले खेल्न खोज्दा जनताले त्यसलाई निरुत्साहित गर्ने गरेको तर्क उनीहरुको छ ।

मिडिया फर बोर्डर हार्मोनीले थाई अतिथी सदनमा ‘बद्लिदो परिस्थितिमा भारत नेपाल सम्बन्ध, चुनौती एवं निदान’ विषयमा समिटको आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै भारतका सांसद तथा पूर्व केन्द्रीय मन्त्री अखिलेशप्रसाद सिंहले विपदको समयमा भारत अघि सरेर नेपाललाई सहयोग गर्दै आएको बताए । ‘भूकम्प वा बाढी आउँदा मात्रै होइन, कोभिडकालमा समेत भारत सरकारले अघि सरेर नेपाललाई सहयोग गरेको छ’, उनले भने ‘जनस्तरमा त झनै महत्वपूर्ण सम्बन्ध छ, गोर्खा रेजिमेन्टलाई भारतमा निकै सम्मान गरिन्छ, भारतका हरेक सहरमा नेपाली सहयोगी भेटिन्छ ।’

नेपाल र भारतको सीमामा कहिलेकाहीँ असहज परिस्थिति आउँदा विवेकपूर्ण ढंगले समाधान गर्नुपर्ने सिंहले बताए । ‘दुई देशको सरकारस्तरको सम्बन्धका कारण जनताबीचको सम्बन्ध नखलबलियोस्, त्यसमा ध्यान दिनुपर्छ’ उनले भने ।

भारतका अर्का सांसद अजय निषादले नेपाल र भारतको सम्बन्धलाई बलियो र प्रगाढ बनाइराख्न नागरिक समाजले अहम भूमिका निर्वाह गरेको बताए । ‘औपचारिक सम्बन्धहरुकाबीच जनस्तरीय अन्तर्क्रिया र संवाद पनि भइरहनुपर्छ’ उनले भने ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मधेस प्रदेशका संसदीय दलका नेता जितेन्द्र सोनलले नेपालमा लामो संघर्षपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको बताए । भारतसँगको प्राचीन कालदेखिको सम्बन्ध नयाँ र बदलिदो कालखण्डमा पनि अझ प्रगाढ बनाउँदै लैजान आवश्यक रहेको उनले बताए ।

‘रामसीताका सन्तानले उही अवस्था कायम राख्न भूमिका निर्वाह गर्नुपर्छ । दिल्ली र काठमाडौंको नजरले हेरेर हुँदैन । राजनीतिक सम्बन्ध उनीहरुको होला, साँस्कृतिक, रोटीबेटी र नागरिकको सम्बन्धका बारेमा हामीले सोच्नुपर्छ’ उनले भने ।

नेपालीहरु भारत आउँदा अरु देशमा पुगेकोजस्तो अनुभूति नहुने र भारतीय नागरिकले पनि नेपालमा त्यस्तै हार्दिकता पाउने गरेको उनको भनाइ छ । विशिष्ठ सम्बन्धलाई जोगाउन राज्य, समाज र जनता सबैको साझा कर्तव्य रहेको नेता सोनलले बताए ।

जनकपुरस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकी र भगवान श्रीरामको कालदेखि चलिआएको सम्बन्ध जोगाउन दुई देशका सबै नागरिकको साझा दायित्व रहेको बताए । वैशालीस्थित थाइ मन्दिरका प्रमुख डा. पिसी चन्द्राले दुई देशबीचको सम्बन्ध विश्वमै विशिष्ठ रहेको बताए ।

कार्यक्रममा भारतका विभिन्न पार्टीका विधान सभा सदस्य, नेता, पत्रकार र नागरिक समाजका व्यक्ति सहभागी थिए । कार्यक्रममा नेपाल तर्फबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ दास र होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्त नेपाल भारत मैत्री सम्मानबाट सम्मानित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?