+
+
मन्त्री हेरफेरको लफडा :

एकीकृत समाजवादीको विद्रोही समूहमा विभाजन, पत्र दुरुपयोगपछि ६ सांसद ‘ब्याक’

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असार १२ गते ११:००

१२ असार, काठमाडौं । मन्त्री हेरफेरको निर्णयले नेकपा एकीकृत समाजवादीभित्र निम्तिएको ‘लफडा’ अझै साम्य भइसकेको छैन । तर, सरकारबाट फिर्ता नहुन अरु सांसदको समेत साथ लिएर बनेको विद्रोही समूह भने आन्तरिक अन्तरविरोधकै कारण कमजोर हुँदै गएको छ ।

विरोध खतिवडा, किसान श्रेष्ठ, प्रेमबहादुर आले, रामकुमारी झाँक्रीसहित मन्त्री नबनेका अरु सांसदहरु समेत गरी १० जनाले अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएपछि मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णयले निम्तिएको लफडा औपचारिकरुपमै सार्वजनिक भएको थियो ।

माधव नेपालसमक्ष नपुग्दै सार्वजनिक भएको ध्यानाकर्षण पत्रमा मन्त्रीबाट फिर्ता हुन सर्त नै सर्त राखिएका छन् । तर, शनिबारसम्म आइपुग्दा विद्रोही समूहमा समेत विभाजन आइसकेको छ । हस्ताक्षर गर्नेहरुमध्ये पर्यटनमन्त्री प्रेमबहादुर आलेसहित ६ जना सांसदले नाम फिर्ता लिएका छन् । हस्ताक्षर फिर्ता लिनेहरूमा पर्यटनमन्त्री आले, सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, वीनादेवी बुढाथोकी, धनबहादुर बुढा र पुष्पाकुमारी कर्ण छन्।

पत्रको दुरुपयोग भएको भन्दै ‘ब्याक’

संसदीय दलको बैठकको समेत माग गरिएको ध्यानाकर्षण पत्र सार्वजनिक भएपछि एकीकृत समाजवादीको एकता कायमै रहनेबारे गम्भीर सन्देह उत्पन्न भएको थियो ।

त्यसपछि अध्यक्ष माधवकुमार नेपालले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्नेहरु सांसदलाई फकाउन नेता सोमप्रसाद पाण्डेलाई परिचालन गरेका थिए । पाण्डे नेपालका सम्धी समेत हुन् ।

नेता सोमप्रसाद पाण्डेले भने- किसान श्रेष्ठ, विरोध खतिवडा, रामकुमारी झाँक्रीको बर्चश्व देखाउने गरी दलको बैठकको माग भएको पाइयो, साथीहरु त्यो बुझेर ‘ब्याक’ हुनु भएको हो ।

पाण्डेले शुक्रबार बिहान विरोध खतिवडा र किसान श्रेष्ठसँग कुराकानी गरे । पार्टी विवाद मिलाउने सन्दर्भमा रामकुमारी झाँक्रीसँग भने उनले बिहीबार साँझ नै लामो कुरा गरेका थिए । ध्यानाकर्षण पत्र बिहीबार नै लेखिएकाले पाण्डेले रामकुमारीलाई त्यो पत्र मिडियामा सार्वजनिक गर्न आग्रह समेत गरेका थिए ।

हस्ताक्षर गर्नेमध्य बाँकी रहेका सांसदसँग पाण्डेले हिजो बेलुकासम्म कुरा गरि भ्याइसकेका थिए ।  तर, पत्र शुक्रबार बिहानै मिडियामा सार्वजनिक भयो । पत्र नै आएपछि हस्ताक्षर गरेकाहरुले समेत अप्ठ्यारो माने । पर्यटनमन्त्री आलेले त शुक्रबार दिउँसो पोलिटब्युरो बैठकमा आफू पार्टीको इमान्दार सिपाही भएको भन्दै ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए ।

मिडियामा नल्याउने भनेको पत्र सार्वजनिक गरेकोमा आलेसहित अन्य सांसद असन्तुष्ट बने र हस्ताक्षर फिर्ता लिने ‘मुड’मा पुगे । ‘अध्यक्षलाई ध्यानाकर्षण गराउने भनेर हामीले लेख्यौं,’ हस्ताक्षर फिर्ता लिएका सांसद कृष्णलाल महर्जनले अनलाइनखबरसँग भने, ‘हस्ताक्षर गर्यौं । अध्यक्षलाई लगेर बुझाउनु भन्दा पहिले साथीहरुले पहिले मिडियालाई लगेर दिएछन् । त्यसले गर्दा पार्टीले पनि अर्कै हिसाबले सोच्यो ।’

ध्यानाकर्षण पत्रमा आफूहरुले उठाएको माग ठिक भए पनि प्रक्रिया गलत हुन पुगेको महसुस आफूहरुले गरेर हस्ताक्षर फिर्ता लिएको उलने बताए । ‘सबैको कुरा के रह्यो भने हामीले राखेको माग बेठिक होइन, तर प्रक्रिया अनुसार पार्टीभित्र आउनुपर्ने चिज पार्टीभित्र नआइकन बाहिर गइदियो र सबै चिज बिग्रियो,’ महर्जनले भने।

अर्का सांसद गोपाल बमले आफूहरुले पार्टीभित्र थोरै असन्तुष्टि राखेको तर यसले पार्टीलाई क्षति गर्छ भनेर अध्यक्षका तर्फबाट पाण्डेले सम्झाएपछि आफू कन्भिन्स भएर हस्ताक्षर फिर्ता लिएको बताए । ‘हामीले छलफलका लागि अलिकति असन्तुष्टिका भावना पोखेको मात्रै हो,’ उनले अनलाइनखबरसँग भने, ‘यो त अन्तरपार्टी जीवनमा स्वभाविक पनि हो । पार्टीलाई सही जीवन दिनका लागि एउटा मसला पनि हो यो ।’

हस्ताक्षरले गर्दा पार्टी र गठबन्धनलाई नै समस्या पर्ने भन्दै पाण्डेले धेरै सांसदलाई फिर्ता लिन ‘कन्भिन्स’ गराएका थिए । ‘तपाईंहरुको कुरा पनि ठिकै हो, पार्टीले निर्णय गरिसक्यो,’ पाण्डेको भनाइबारे सांसद बमले भने, ‘सिंगो पार्टी र गठबन्धनमै समस्या आउने भयो । तत्काल संसदीय दलको बैठक बोलाउने माग फिर्ता लिउँ भन्ने कुरा गरेपछि ठिकै छ, पछि छलफल गरौंला नि भनेर फिर्ता लिइयो । पार्टीको संस्थागत निर्णय भइसकेको कुरालाई मान्नै पर्यो ।’

किसान श्रेष्ठ लगायतका नेताहरुले संसदीय दलको नेता फेर्न प्रयास गर्ने कोसिस समेत गरेको बुझाइ अध्यक्ष नेपाल पक्षको रहेको छ ।

ध्यानाकर्षण पत्र सार्वजनिक गरेर अनावश्यक मिडियाबाजी गरेको भन्दै हस्ताक्षर गर्नेमध्यका एक सांसदले मन्त्री खतिवडासँग असन्तुष्टि समेत पोखेका थिए । उनले ती सांसदलाई साथीहरुले ‘गडबड’ गरेको जवाफ दिएका थिए ।  खतिवडासँग ती सांसदको असन्तष्टि थियो, ‘अस्ति हाम्रो जुन हिसाबले कुराकानी भएको हो, त्यो हिसाबले नगइकन मिडियाबाजी नगरौं है भनेर मैले विशेष अनुरोध गरेको थिएँ, झन् उल्टो तपाईंहरुले के–के गर्नुभयो भने । उहाँले साथीहरुले गडबड गरे भन्नुभयो ।’

पाण्डेले ध्यानाकर्षण पत्रको विषय एउटा र उद्देश्य अर्कै भएपछि कुरा बुझेर सांसदहरुले हस्ताक्षर फिर्ता लिएको बताए। ‘किसान श्रेष्ठ, विरोध खतिवडा, रामकुमारी झाँक्रीको बर्चश्व देखाउने गरी दलको बैठकको माग भएको पाइयो,’ अनलाइनखबरसँग उनले भने, ‘साथीहरु त्यो बुझेर ‘ब्याक’ हुनु भएको हो ।’

‘मन्त्रीबाट हटाए सरकार गिराइदिने चेतावनी’

शनिबार बिहान सत्ता गठबन्धनको बैठक बालुटारमा बस्यो । माधव नेपाल निकट एक नेताका अनुसार बैठकमा देउवाले सांसद किसान श्रेष्ठसँग कति सांसद छन् भनेर जिज्ञासा राखेका थिए । बैठकमा देउवाको भनाइबारे ती नेताले भने, ‘हामीसँग १८ जना सांसद छन्, यदि तपाईंहरुले हामीलाई हटाउनुभयो भने हामी १८ जनाले यो सरकार गिराइदिन्छम् भनेर प्रधानमन्त्रीलाई भन्नु भएछ । त्यो भनेपछि आज प्रधानमन्त्रीले सोध्दै हुनुहुन्थ्यो रे– कति जना छन् हँ त्यो किसान श्रेष्ठसँग ?’

त्यही कारण पनि प्रधानमन्त्री अलमलमा परेको र सरकार कतै अल्पमतमा पर्ने त होइन भन्ने डरले देउवाले बजेटपछि मन्त्री हेरफेर गर्ने बताएका थिए । आजको बैठकपछि देउवा पनि स्पष्ट भएको समाजवादीका ती नेताको भनाइ छ । ‘त्यो कारणले गर्दा पनि प्रधानमन्त्री अलमलमा पर्नु भएको थियो । अब प्रधानमन्त्री अलमलमा हुनुहुन्न, स्पष्ट हुनु भएको छ,’ उनले भने ।

किसान श्रेष्ठ लगायतका नेताहरुले संसदीय दलको नेता फेर्न प्रयास गर्ने कोसिस समेत गरेको बुझाइ अध्यक्ष नेपाल पक्षको रहेको छ । ‘उस्तै पर्यो भने माधवकुमार नेपाललाई नै दलको नेताबाट हटाएर म नेता बन्न सक्छु भन्ने योजना रहेछ,’ नेपाल निकट अर्का नेताले भने, ‘त्यसकै निम्ति दलको बैठक बोलाउने र त्यहाँ बहुमत सिद्ध गर्ने भनेर दलको बैठक बोलाएको हो ।’

बैठक बहिस्कार, बारम्बार बालुवाटार

६ सांसदले हस्ताक्षर फिर्ता लिएपछि ३ जना मन्त्री एकीकृत समाजवादीको शनिबार कार्की ब्यांकेटमा बसेको केन्द्रीय समिति बैठकमै गएनन् । मन्त्रीहरु विरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ (किसान) र रामकुमारी झाँक्री बैठकमा उपस्थित थिएनन् ।

बैठकमा नगएकोबारे बुझ्दा स्वास्थ्यमन्त्री खतिवडाले आफू दिनदिनै बैठकमा गइरहेको र आज काम परेकाले नगएको प्रतिक्रिया दिए । ‘बैठकमा म दिनदिनै गएको छु,’ उनले अनलाइनखबरसँग भने, ‘स्थायी कमिटीमा गएको छु । पोलिटब्युरोमा गएको छु । अनि आज अरु काम पर्दैन मेरो ? महत्व हेरेर बैठकमा जाने हो । म पर्सिको बैठकमा जान्छु ।’

दिउँसो बैठकमा नगएका तीनै मन्त्रीहरु शनिबार अबेर भने प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । स्रोतका अनुसार देउवालाई अन्तिम पटक आफ्नो निरन्तरताबारे कुरा राख्ने र त्यो सफल नभए अन्य सांसदले जस्तै हस्ताक्षर फिर्ता लिने तयारी उनीहरुले गरेको स्रोतको दाबी छ ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?