+
+

बंगलादेशले बनायो ‘राष्ट्रिय गौरव’को पुल, तल रेल, माथि गाडी गुड्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १२:२०

१२ असार, काठमाडौं । बंगलादेशले लामो समयदेखि प्रतिक्षित पद्मा ब्रिज (पुल) आफ्नै लगानीमा निर्माण सम्पन्न गरेको छ । तल रेल र माथि गाडी गुड्ने गरी बनाइएको सो पुलको शनिबार प्रधानमन्त्री शेख हसिनाले उदघाटन गरिन् ।

यो पुल बंगलादेशकै सबैभन्दा लामो पुल हो । ६.१५ किलोमिटर लामो यो पुल चार लेनको छ । गाडी चार लेनमा गुड्ने भए पनि रेल भने सिंगल ट्रयाकको हो । यो पुलले दक्षिण पश्चिमका २१ जिल्लालाई राजधानी ढाकासँग जोड्दछ । पुलको लागत ३.६ बिलियन डलरमा निर्माण गरिएको छ ।

कतिपयले पूर्णरुपमा स्वदेशी लगानीमा बहुउद्देश्यीय यो पुल निर्माण गर्न बंगलादेश सफल हुनेमा शंका गरेका थिए । तर बंगलादेश स्वदेशी लगानीमै पुल निर्माण गर्न सफल भएको छ ।

राष्ट्रिय गौरवको यो पुल उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिनाले पुल निर्माणमा संलग्नहरुप्रति आभार व्यक्त गरिन् । पद्मा ब्रिज बंगलादेशको गौरव भएको बताउँदै उनले भनिन्, ‘मलाई कसैप्रति कुनै गुनासो छैन, तर म मान्दछु कि जसले पद्मा ब्रिज निर्मण योजनाको विरोध गरेका थिए र यसलाई पाइप ड्रिम भनेका थिए, उनीहरुमा आत्मविश्वासको कमी थियो । मलाई विश्वास छ कि यो पुलले उनीहरुको आत्मविश्वासलाई बढाउने छ ।’ उनले यो पुललाई बंगलादेशको क्षमता, शक्ति र गरिमाको प्रतीक भएको बताइन् । सो अवसरमा उनले १०० रुपैयाँको नोट पनि जारी गरेकी थिइन् ।

यस परियोजनामा शुरुमा विश्व बैंकले लगानी गर्ने भनिएको थियो । तर यो बंगलादेशका अधिकारीहरुबीच उच्चस्तरीय भ्रष्टाचारको प्रमाण हो भन्दै विश्व बैंक सन् २०१२ मा पछि हटेको थियो । त्यसपछि एडीबी, जाइका पनि बाहिरिएका थिए ।

बंगलादेशका अधिकारीहरुले भने भ्रष्टाचारको आरोपको खण्डन गर्दै आएका थिए । त्यसपछि बंगलादेशका अधिकारीहरुले अन्तर्राष्ट्रिय लगानीकर्तासँग सम्पर्क गर्न छाडेर स्वदेशी लगानीमै निर्माणको काम थालेका थिए । त्यसपछि सन् २०१५ मा बंगलादेशले यो पुलको निर्माण थालेको थियो । यसको जग नदीको सतहभन्दा १२२ मिटर गहिरो छ । विश्वकै सबैभन्दा गहिरो जगमा बनेको पुल हो । यो पुल ९ रेक्टरसम्मको भूकम्पलाई धान्न सक्ने क्षमताको रहेको प्राविधिकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?