+
+

यी हुन् विश्वमा सर्वाधिक बिक्री भएका स्मार्टफोनहरू, आइफोन १३ पहिलो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १२:५७

विश्व बजारमा सर्वाधिक लोकप्रिय स्मार्टफोनको सूचीमा आइफोनले लगातार कब्जा जमाइरहेको छ । हालै सार्वजनिक एक रिपोर्ट अनुसार सन् २०२२ को अप्रिलमा विश्वको सर्वाधिक बिक्री हुने शीर्ष ४ स्मार्टफोनको सूचिमा विभिन्न मोडेलका आइफोन परेका छन् ।

सर्वाधिक लोकप्रिय स्मार्टफोनको पहिलो नम्बरमा चाहिं आइफोन १३ परेको छ । शीर्ष ५ भित्र सामसुङको एकमात्र स्मार्टफोन परेको छ ।

काउन्टरप्वाइन्टले सार्वजनिक गरेको अप्रिल महिनामा विश्व बजारमा बिक्री भएका स्मार्टफोनको रिपोर्ट अनुसार शीर्ष १० भित्र एप्पलका पाँच वटा आइफोन पर्दा सामसुङका चार र साओमीको एउटा स्मार्टफोन परेको छ । यी १० मोडेलका स्मार्टफोनले विश्व स्मार्टफोन बजारको २१ प्रतिशत हिस्सा ओगटेका छन् । यी हुन् अप्रिल महिनामा सर्वाधिक बिक्री भएका टपटेन स्मार्टफोन यी हुन् :

आइफोन १३ : गत अप्रिल महिनामा आइफोन १३ विश्वको सबैभन्दा लोकप्रिय स्मार्टफोन बन्न सफल भयो । यसले समग्र स्मार्टफोन बजारमा ५.५ प्रतिशत हिस्सा ओगटेको छ ।

आइफोन १३ प्रो म्याक्स : दोस्रो सर्वाधिक लोकप्रिय स्मार्टफोन बन्न सफल एप्पलको आइफोन १३ प्रो म्याक्स एप्पलको सर्वाजनिक महँगो तथा शक्तिशाली आइफोन हो । यसको ब्याट्री लाइफ देखि क्यामरासम्म निकै उत्कृष्ट मानिन्छ । स्मार्टफोन बजारमा यसको हिस्सा ३.४ प्रतिशत छ ।

आइफोन १३ प्रो : आइफोन १३ सिरिज निकै लोकपि्रय हुनुको फाइदा १३ प्रो ले पनि उठाउँदै लोकप्रियताको तेस्रो नम्बरमा पर्न सफल भयो । यसको बजार हिस्सा १.८ प्रतिशत रहेको छ ।

आइफोन १२ : यो सूचीमा चौथो स्थानमा पनि एप्पलले नै कब्जा जमाउने क्रममा आइफोनको पुरानो मोडल आइफोन १२ परेको छ । दुई वर्ष पुरानो मोडल आइफोन १२ पछिल्लो समय भारत र जापानमा निकै धेरै बिक्रि भैरहेको छ । एप्पलले आइफोन १२ को मूल्य घटाएका कारण पनि खरिदकर्ताहरू हौसिएका हुन् । विश्व बजारमा यसको बजार हिस्सा १.६प्रतिशत छ ।

सामसुङ ग्यालेक्सी एस २२ अल्ट्रा फाइभ जी : अप्रिल महिनामा विश्व बजारमा सर्वाधिक बिक्री भएका स्मार्टफोनको सूचीमा पाँचौ स्थानमा पर्न सफल सामसुङको यो स्मार्टफोन टपफाइभमा पर्ने एकमात्र एन्ड्रोइड डिभाइस हो । विश्व बजारमा यसको हिस्सा १.५ प्रतिशत छ ।

सामसुङ ग्यालेक्सी ए १३ :  विश्व स्मार्टफोन बजारमा १.४ प्रतिशत हिस्सा कब्जा गर्न सफल यो स्मार्टफोन अप्रिल महिनामा छैटौ| लोकप्रिय स्मार्टफोन बनेको छ ।

आइफोन एसइ (२०२२) : विश्व स्मार्टफोन बजारमा सर्वाधिक बिक्री हुने स्मार्टफोनको सूचीमा सातौं नम्बरमा रहेको यो सस्तो मोडेलको आइफोनले स्मार्टफोन बजारमा १.४ प्रतिशत हिस्सा ओगटेको छ । यो आइफोन जापानमा सर्वाधिक बिक्री हुने स्मार्टफोन समेत बनेको छ ।

सामसुङ ग्यालेक्सी ए०३ कोर : सर्वाधिक लोकप्रिय स्मार्टफोनको सूचीमा आठौं नम्बरमा रहेको यो स्मार्टफोनको बजार हिस्सा चाहीँ १.४ प्रतिशत नै छ । ग्यालेक्सी ए०३ कोर १ सय डलरभन्दा कम मूल्यका स्मार्टफोनहरुमा सर्वाधिक बिक्री हुने स्मार्टफोन पनि बन्न सफल भएको छ ।

सामसुङ ग्यालेक्सी ए ५३ फाइभ जी : स्मार्टफोन बजारमा १.३ प्रतिशत बजार हिस्सासहित सामसुङको यो स्मार्टफोन अप्रिल महिनाको नवौं सर्वाधिक लोकपि्रय स्मार्टफोन बनेको छ ।

रेडमी नोट ११ एलटिइ :  टपटेन स्मार्टफोनको सूचिमा पर्न सफल एकमात्र चिनियाँ ब्राण्डको रुपमा रहेको रेडमी नोट ११ एलटिइले स्मार्टफोन बजारमा १.३ प्रतिशत हिस्सा ओगटेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?