+
+

गायिका सुनारको मृत्युको कारण खोज्दै प्रहरी

पोष्टमार्टम रिपोर्टको प्रतीक्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १५:२८

१२ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । तर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट दिएपछि मात्रै निर्क्योल गर्ने प्रहरी स्रोतले जनाएको छ ।

नेपालटारस्थित कोठामा शनिबार पौने ११ बजे उनी मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरी वृत्त, बालाजुका डीएसपी गौतम मिश्रका अनुसार कोठामा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो । लगत्तै अनुसन्धानका लागि प्रहरीले सूर्य श्रेष्ठ नामक व्यक्तिलाई नियन्त्रणमा लिएको मिश्रले अनलाइनखबरलाई बताए ।

शवको जाँचबुझमा संलग्न चिकित्सकहरुका अनुसार घाँटीमा ‘मार्क’बाहेक शरीरमा अन्य कुनै चोटपटक देखिएको छैन, त्यसैले उनले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । तर घोप्टो परेको अवस्थामा शव भेटिनु र झुण्डिन प्रयोग भएको वस्तु बरामद नहुनुले घटनालाई रहस्यमय बनाएको छ । डीएसपी मिश्र भन्छन्, ‘झुण्डिएको हो वा झुण्ड्याइएको वा के हो भन्ने विषयमा साँझसम्ममा केही बताउँछौं ।’

तर अनुसन्धानमा संलग्न एक अधिकृतले सुनारले सलमा झुण्डिएर आत्महत्या गरेको आशंका गरिएको अनलाइनखबरलाई बताए । उनको भनाइमा घटना भएका बेला श्रेष्ठ पनि घरमा सँगै थिए ।

‘उनले सोधपुछका क्रममा बिहान ब्युँझिदा झुण्डिएको अवस्थामा देखेपछि निकालेको भनेका छन्’ ती अधिकृतले भने, ‘तर आफू आत्तिएकाले सल निकालेर लुकाएको बताएका छन् ।’ त्यही आधारमा शनिबार बिहान ३ बजेपछिको समयमा घटना भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । साथै, श्रेष्ठले भनेको स्थानमा प्रहरीले सलको खोजी थालेको स्रोतको भनाइ छ । श्रेष्ठसँग सुनार ‘लिभिङ टुगेदर’मा बस्दै आएकी थिइन् ।

सुनारको फेसबुकमा शुक्रबार राति १:२० बजे ‘जिन्दगीमा धेरै उतारचढाव भोगेको र जान्ने भएर आफैं एक्लो भएको’ भन्दै स्टाटस पोष्ट भएको छ । ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिनँ, तर पनि हार खाइनँ’ स्ट्याटसमा भनिएको छ, ‘तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिनदिनै मर्न सकिनँ आमा । तिम्री छोरी धेरै थाकी छे ।’

स्टाटसमा आमालाई सम्बोधन गर्दै ‘बहिनी, छोरी छन्, मन बुझाउनु नरुनु’ भनिएको छ । साथै छोरालाई सम्बोधन गर्दै ‘तिमीलाई पढाउन र ठूलो मान्छे बनाउने मन थियो, जसरी भए पनि ठूलो मान्छे बन्नु है, म नभए पनि त मेरो आर्शिवाद सधैं तिमीसित हुने छ’ भनिएको छ ।

फेसबुकमा आफ्नो गीत जहाँ छ, जति छ बजारमा ल्याइदिनु पनि भनेकी छन् । ‘म धेरै थाकें अब म बाच्न सक्दिनँ, यो दुनियाँ धेरै स्वार्थी छ’ स्टाटसमा भनिएको छ । ‘म आफ्नो इच्छाले यो कदम उचालेकी छु, कसैलाई दोष छैन । कसैले खोजीनीति पनि नगर्नु र पोष्टमार्टम पनि नगर्नु, मसित पैसा छैन । थोरै सुन छ, त्यो बेचेर छोरालाई दिनु’ भनिएको छ ।

तर उनका आफन्त र लोक दोहोरी प्रतिष्ठानले यो आईडीबाट पोस्ट भएको स्टाटसमा पनि आशंका गरेको छ । डीएसपी मिश्र भन्छन्, ‘स्टाटसको विषय पनि अनुसन्धान भइरहेको छ ।’

३० वर्षीया गायिका सुनार लाइभ दोहोरी गीतका कारण चर्चामा आएकी थिइन् । उनले ख्यातिप्राप्त लोकदोहोरी गायक राजु परियारसँग मिलेर पनि केही चलेका लोकदोहोरी गाएकी थिइन् । केही महिनाअघि सम्पन्न राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?