+
+

तेस्रो पटक ढलेको १० दिनमा मरिन् काजलकली

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते १९:३४

१२ असार, चितवन । चितवनको सौराहास्थित होटल प्याराडाइजमा लडेर उठ्न नसक्ने भएको पोथी हात्ती काजलकली आइतवार दिउँसो मरेकी छ ।

हात्तीको रेखदेख गर्दै आएका होटलका सञ्चालक श्रीलाल परियारले दिएको जानकारी अनुसार दिउँसो ३ बजेर ४० मिनेट जाँदा हात्ती मरेकी हो। हात्तीलाई ढलेको स्थानमा नै हिन्दु परम्परा अनुसार गाँडेर अत्येष्टि गरिएको उनले बताए । त्यसअघि हात्तीलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएका पशु चिकित्सकले पोष्टमार्टम गरेका थिए ।

तेस्रोपटक ढलेकी हात्ती काजलकली यसपटक भने उठ्न सकेकी थिइन । राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरेनरी प्रविधिक किरणराज रिजालले हात्ती ८ दिनदेखि केही नखाई सुतिरहेको बताए । ‘सुँडले पानी त लैजान्थ्यो तर निल्न सक्दैनथ्यो, सामान्य रुपमा खुट्टा र पुच्छर चलाउँथ्यो तर केही खाएन’, रिजालले भने, ‘हामीले मरेपछि पोष्टमार्टम गरेर हेर्दा भित्र त्यस्तो नराम्रो पाएनौं, फोक्सो पनि ठिकै थियो ।’

उनले हात्ती खाना पचाउन नसकेर र बुढो भएर नै ढलेको बताए । पानी खान समेत छाडेको हात्तीले शनिवारसम्म खुट्टा र सुँड चलाइरहेको थियो । खानपान र स्याहार राम्रो पाए हात्ती ८० बर्षसम्म सजिलै बाँच्न सक्छन् ।

पाँच वर्ष अगाडि भारतबाट किनेर नेपाल ल्याएको हात्तीलाई सौराहा व्यवसायीले पुनः भारत नै बेचेका थिए । तर, भारत लैजाने क्रममा काजलकलीलाई प्रहरीले नियन्त्रणमा लिएर सौराहा फिर्ता गरेको थियो । त्यसको केही समयपछि हात्ती थला परेको थियो ।

काजलकली जेठ ९ गते पहिलोपटक बिरामी भएर ढलेपछि पशु चिकित्सकहरुले हात्तीसारमा नै पुगेर उपचार गरेका थिए र उठेको थियो । १ हप्तापछि जेठ १७ गते काजलकली फेरि ढलेपछि उपचार गरी जेसीबीको सहायताले उठाइएको थियो ।

तर असार २ गते काजलकली तेस्रोपटक ढलेपछि उठ्न सकिन । र मृत्युवरण गरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?