+
+

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १३ गते ६:३५

१३ असार, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । बेरीलाई नामिबियाको राजदूतमा सिफारिस गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्वपूर्ण सिफारिस  गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा सिफारिस गरेका हुन् ।

बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट हुन् । उनी हाल नेपालका लागि राजदूत हुनुअघि अमेरिकी विदेश मन्त्रालयको लोकतन्त्र, मानव अधिकार र श्रम ब्यूरोमा उपसहायक सचिव थिए । साथै, एलजीबीटीआईहरूको मानव अधिकारका लागि विदेश मन्त्रालयको पहिलो विशेष दूतका रूपमा पनि उनले काम गरिसकेका छन् ।

उनले नेपालमा अमेरिकी राजदूतावास काठमाडौंको डेपुटी चीफ अफ मिशन, दुई पटक प्रिन्सिपल अफिसर र कन्सुल जनरल समेत भएका थिए । त्यसभन्दा पहिले अकल्याण्ड, न्यूजील्याण्डको अमेरिकी महावाणिज्य दूतावासमा र त्यसपछि नेदरल्याण्ड्सको एम्स्टर्डममा अमेरिकी महावाणिज्य दूतावासमा समेत उनले काम गरेका छन् ।

उनी आफ्नो करियरको सुरुवातमा बंगलादेशको ढाकामा रहेको अमेरिकी दूतावासमा र त्यसपछि इजिप्टको कायरोमा रहेको अमेरिकी दूतावासमा भाइस कन्सुलरका रूपमा समेत कार्यरत थिए ।

बेरीसँगै राष्ट्रपति बाइडेनले अन्य विभिन्न मुलुकका लागि समेत नयाँ राजदूतहरू सिफारिस गरेका छन् । उनीसँगै नेपालस्थित राजदूतावासका नियोग उपप्रमुख मानुअल पी मिकलर समेत ताजिकस्तानका लागि राजदूत बनेर जाने प्रस्ताव गरेका छन् ।

अमेरिकाको राष्ट्रपति कार्यालका अनुसार राजदूत र्‍यान्डी बेरी नामिबिया र नियोग उपप्रमुख मिकलर ताजिकस्तानका लागि राजदूतमा सिफारिस भएका छन् । नेपालका लागि भने यसअघि नै डिम थोम्पसन सिफारिस भइसकेका छन् ।

हाल दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत मिकलर अमेरिकाको परराष्ट्र सेवाका करियर डिप्लोम्याट हुन् । उनी नेपालस्थित अमेरिकी दूतावासको नियोग उपप्रमुख भएर आउनुभन्दा पहिले मंगोलियाको उलानबाटारमा रहेको अमेरिकी दूतावासमा मिसनका उपप्रमुख थिए ।

मिकलरले वाशिंगटन डीसीमा विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली ब्यूरोअन्तर्गत भारत मामिलाको कार्यालयमा उपनिर्देशकको रूपमा पनि काम गरेका थिए । त्यसबाहेक पनि विभिन्न मुलुकमा रहेका अमेरिकी नियोगहरूमा उनले लामो अनुभव बटुलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?