+
+

राजनीतिमा रविः केही आशा, केही आशंका

डा. जगन कार्की डा. जगन कार्की
२०७९ असार १३ गते १२:४२

नेपालमा नयाँ दलको आगमन भएको छ। चर्चित सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेसँगै नेपालमा दलको संख्या ११३ पुगेको छ। राजनीतिक दलमा इमानदार पाखा लाग्ने, लगाइने भइरहेको छ।

आन्तरिक एकता बलियो नहुँदा टुटफुटको श्रृङ्खला दोहोरिइरहेका छन्। भ्रष्ट र माफियाहरू संगठित रूपमा छन्। उनीहरूबीच शक्ति हत्याउँदै राज्य स्रोतमाथि दोहन गर्ने कुरामा सहज एकता पैदा हुने गरेको छ।

अहिलेको आवश्यकता भनेको व्यवस्थालाई लिकमा हिंडाउनु हो। नेतृत्वले नैतिक कसीबाट एकपटक परीक्षित भएपछि अरूलाई मार्गप्रशस्त गर्नुपर्ने हो। विधि-विधानले टिकट वितरण र नेतृत्व चयन गर्नुपर्ने हो। तर त्यस्तो भइरहेको छैन। लामो समयदेखि पार्टीभित्र वृद्ध र सिमेन्टेड माइन्डसेट भएका अघिल्ला पुस्ताका नेताको सिन्डिकेट कायम छ।

पुरातन सामन्ती प्रवृत्तिद्वारा पार्टी सत्ता र राज्य सत्ता कब्जामा लिइएको छ। पुराना पार्टीमा लागेका युवाले अवसर पर्खिंदा-पर्खिंदै वृद्ध हुनुपर्ने अवस्था छ। यो सिन्डिकेट तोड्न ती दलका युवाहरू पनि अक्षम र विवश छन्। तिनले या त राजनीतिक करिअर धरापमा पार्नुपर्ने या त चाप्लुसी गरेर दिएको खानुपर्ने अवस्थामा छ। मानसिक रूपमा नै युवाहरू दिएको खाने प्रचलनमा अभ्यस्त भएर आधुनिक राजनीतिक दास बनिरहेका छन्।

यसलाई तोड्न एउटा संगठित प्रयासको जरुरी थियो। यस्तो संजाल जसले प्रत्येक पार्टीमा नेतृत्व परीक्षा दिइसकेकाहरूलाई पहिचान गरेर अवकाश लिन बाध्य बनाओस्। नमान्नेहरूलाई चुनाव मार्फत नै बिदाइ गर्न हस्तक्षेप गर्न सकोस्।

हाल रवि लामिछानेले सुरु गरेको पार्टी र अन्य स्वतन्त्र अभियानले यो भूमिका खेलेर पार्टीहरूलाई पनि पारदर्शी बन्न, नेताहरूलाई लोकतान्त्रिक संस्कार प्रदर्शन गर्न प्रेरित गर्ने सम्भावना छ। वर्तमान सन्दर्भमा विकल्पका दुई सम्भावना देखिएका छन्। प्रथम पुराना भएका पार्टीहरूमा आमूल परिवर्तन आएर पुराना त्यहींभित्रबाट विकल्पको राजनीतिक अभियानको सुरुवात। दोस्रो, नयाँ दलहरूले नयाँ मुद्दामा फरक ढंगले काम गरेर।

पहिलो विकल्प असम्भव जस्तो देखिए पनि विगत एक दशकको राजनीतिलाई हेर्दा वैकल्पिक नयाँ दलहरूलाई सजिलै स्वीकार नगरेको अवस्था छ। यसैबीच साझा तथा विवेकशील मिलेर बनेको पार्टी नै चरम व्यक्तिगत लालसाको सिकार भई फुट्यो। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी जनताको अवस्था फेर्ने मूल मुद्दा छोडेर फेरि पुरानै जातीय, क्षेत्रीय शक्तिसँग मिलन गर्दै पार्टीहरूको पछाडिको लयतिर नै लम्किनु पटक्कै गतिलो संकेत थिएन।

नयाँ भनिएका दलहरूमा पनि चरम पदलोलुपता देखियो। भनाइ र गराइको अन्तरले जनताको विश्वास जित्न सकेनन्। कतिपयमाथि सुकिलो मुकिलो विना योगदान राजनीति गरेको आरोप लाग्यो।

वैकल्पिक दलहरूले चलाएका राजनीतिक चेतनाको अभियानले प्रचारप्रसारमा राम्रो गति लिएको देखिए तापनि जनजीविकाका मुद्दामा खास केही गर्न सकेनन्। अन्य समूहसँग होहो मिलाउने र मिडियाको हावामा जनप्रिय अभियानमा लहडिने फितला क्रियाकलाप देखिएका थिए। जस्तै कि मेडिकल माफिया तह लगाउने काण्ड, निर्मला काण्ड, भ्रष्टाचार विरुद्धका आन्दोलन लगायत मुद्दाहरूमा। यसर्थ अब आउने वैकल्पिक राजनीति गर्न तम्सिएको दलले आफ्नो एउटा छुट्टै पृथक् मुद्दा बोकेर मैदानमा जानुपर्ने देखिन्छ।

अरु मुद्दामा भन्दा सबैभन्दा प्रभावकारी र देशको लागि आवश्यक देखिएको भ्रष्टाचार विरोधको आन्दोलन मुख्य हुन सक्छ। यसका लागि नेपाल जस्तो देश र यहाँको जनताको राजनीतिक चेतनाको अवस्था अनुसार अलिकति चर्को नारा नै नउठाई जनसमर्थन प्राप्त गर्न नसकिने पनि विगतका धेरै आन्दोलनले देखाएका छन्।

आफ्ना मौलिक योजना र मुद्दा हुँदा गोलमटोल तर्क गरेर हराइने अवस्था रहन्न। जस्तै २००७ सालको आन्दोलनको माग प्रजातन्त्र थियो, १० वर्षे जनविद्रोहले संविधानसभा माग गरेको थियो। २०४६ मा दलहरूको प्रजातन्त्रको पुनर्वहाली माग थियो।

स्पष्ट भिजन र मागको कारण डा. केसी आफ्ना मुद्दामा सफल भए। बेलायतमा बोरिस जोन्सनको ब्रेक्जिट, अमेरिकामा डोनाल्ड ट्रम्पको उदय सफलतामा आप्रवासीदेखि वाक्क भएका जनताको चुरो भावना समेटेर एकसूत्रीय एजेन्डा उठाउनु नै मानिन्छ। हो, गोलमटोल मुद्दा बोक्नेहरू कहीं पनि सफल भएको उदाहरण नै छैन। कुरोको चुरो यहीं अडेको थियो वैकल्पिक दलहरू असफल हुनुमा। उनीहरूले दैनिक फालेका पानीको फोका जस्ता आम तथा सामान्य मागहरू कांग्रेस र नेकपाले पनि फलाकेर हिंडेका थिए, छन्। जस्तै सुशासन र भ्रष्टाचारको सामान्य कर्मकाण्डी विरोध होस् या लोक कल्याणकारी राज्यका पासाहरू, यी सबै पुराना दलहरूले फालिआएका चारा नै हुन्।

रवि लामिछानेले देशमा विद्यमान राजनीतिको विकल्प मात्र दिन एक थान पार्टी दिने, केही थान नेता थपिदिने मात्र कोसिस गर्ने हो कि ? वैकल्पिक राजनीति गर्ने पहिला प्रस्ट हुन जरुरी छ। राजनीतिको विकल्प या विकल्पको राजनीति ? स्पष्ट हुन जरूरी थियो र नयाँ आउने दलमा पनि त्यो बाँकी छ।

यो कुरा रवि लामिछाने र उनको टिमले आत्मसात् गर्न जरुरी छ। यसअघिका वैकल्पिक प्रयासमा विवादको सुरुवात नै पद, जस र जिम्मेवारीको बाँडफाँडबाट रडाको सुरु भएको देखिन्छ। यसको मतलब ती वैकल्पिक नेतृत्व गर्न तम्सिएकाहरूको नियत नै सही थिएन।

सिक्न सक्ने केही पाठ

नेपालको राजनीतिमा २००७ सालको दशक स्वतन्त्रताको युग थियो। विगतको दशक समान पहुँच र अधिकारको राजनीतिले प्रश्रय पायो भने अब जनताको अवस्था फेर्न, पद्धति, पारदर्शिता जवाफदेहिताको राजनीतिको स्पेस देखिन्छ। जुन कुरा रविले घोषणामा उल्लेख गरेका छन्।

डा. बाबुराम भट्टराई, रवीन्द्र मिश्र र उज्ज्वल थापाहरूले वैकल्पिक राजनीतिको अभ्यास गरेर एउटा चेतनाको सुरुवात गरेसँगै आम दल र राजनीतिक वृत्तमा केही परिवर्तन देखिन थालेका छन्।

वैकल्पिक राजनीतिक अभियान आफैंमा सफल हुन नसके पनि राजनीतिमा गुणस्तरीय परिवर्तनको एउटा जबर्जस्त माग भने स्थापित गर्न भ्याएको छ। यही शिराबाट पाठ सिक्दै स्थानीय तहमा बालेन र हर्क साम्पाङहरूबाट सिक्दै संघीय राजनीतिमा फड्को मार्नु अहिलेको आवश्यकता हो।

हाल नेपालमा देखापरेको टड्कारो विषय हो- जलवायु परिवर्तन र प्रदूषण, किसानका समस्या, गरिबको स्वास्थ्य बीमाको समस्या। साथै, भुई तहका मानिससँग जोडिने रणनीति बनाउन आवश्यक छ। माइती घर घेरेर विश्वको राजनीति हेर्ने अनि नक्कल गर्न खोजेर मात्र हुँदैन। जनताका मौलिक मुद्दाको उठान राजनीतिमा मौलिकता आवश्यकता बनेको छ।

पुरातन शक्तिहरूले गरेका ज्यादतीका सँगै सूचना, पहुँच र लोकतान्त्रिक प्रक्रियाको दुरूपयोग नै युरोपमा वैकल्पिक शक्ति उदयको कारण बन्यो। परम्परागत शक्तिको ज्यादतीविरुद्ध भरपर्दो विकल्प प्रदान गर्न सक्ने शक्तिहरू क्रमशः उदय हुँदै गएको फ्रान्सिस्को बोन्गियो भानीको सन् २०१८ को एक अध्ययनले देखाएको छ।

अहिलेको विश्वमा तथा नेपालको सन्दर्भमा समय सान्दर्भिक माग, जवाफदेहिता, पारदर्शी, समावेशी लोकतन्त्र र भ्रष्टाचारको अन्त्य नै प्रमुख राजनीतिक माग हुनसक्छन्। नेपालमा भ्रष्टाचारका अविच्छिन्न श्रृंखला छन्। अझ खतरनाक त संस्थागत भ्रष्टाचार, अपराधको राजनीति र राजनीतिको अपराधीकरण डरलाग्दो अवस्थामा पुगेको छ।

यसर्थ भ्रष्टाचार विरुद्ध एक बुँदे माग राखेर जेल भरौं आन्दोलन चलाउन सकिन्छ। अझ त्याग र समर्पण भए अनशनकारी डा. केसीले स्वास्थ्य क्षेत्रलाई सुधारको पहल गरे झैं भ्रष्टाचार विरुद्ध आमरण अनसन सुरु गरौं। एक अधिकार सम्पन्न नागरिक छानबिन आयोग माग गरौं। अहिलेको भ्रष्ट संरचनाले बनाएको अख्तियार र अन्य नियमनकारी निकायले काम गरेनन् र विश्वास गुमाइसक्यो। अब उनीहरूमाथि नै छानबिन गर्नुपर्ने अवस्था छ।

माग यति होस्- कम्तिमा राजनीतिक परिवर्तनपछि शक्तिमा आएका र लाभको पदमा बसेका राजनीतिक र कर्मचारीतन्त्रको नेतृत्वको सम्पत्ति छानबिन गर्नुपर्छ। जनस्तरबाट उजुरी लिने र छानबिन गर्ने सामान्य कामले नै एउटा नयाँ क्रान्तिको सुरुवात हुनसक्छ। एक अधिकार सम्पन्न जनलोकपाल बनाउँदै सबै प्रदेशमा जेल भरौं अभियान सञ्चालन गर्नैपर्छ।

हाल नेपालमा देखापरेको अर्को टड्कारो विषय हो- जलवायु परिवर्तन र प्रदूषण, किसानका समस्या, गरिबको स्वास्थ्य बीमाको समस्या। साथै, भुई तहका मानिससँग जोडिने रणनीति बनाउन आवश्यक छ। माइती घर घेरेर विश्वको राजनीति हेर्ने अनि नक्कल गर्न खोजेर मात्र हुँदैन। जनताका मौलिक मुद्दाको उठान राजनीतिमा मौलिकता आवश्यकता बनेको छ।

युवा र सक्षमहरूलाई सहज

लामिछाने लगायत स्वतन्त्र अभियान मार्फत पुराना दलहरूलाई चुनौती दिंदै गर्दै आएका समूहले पुराना दलमा पटक–पटक परीक्षितहरूलाई चुनौती थपेको छ। यो चुनौतीसँगै पार्टीभित्रबाट पनि तिनलाई सक्षम र इमानदार कार्यकर्ताले चुनौती दिन सके सहज राजनीतिक आकार लिन बाध्य हुनेछन्।

पुराना दलमा परिवर्तन चाहने कार्यकर्ताहरूले पनि लोकतन्त्र र जनजीविकाका सवालमा, राष्ट्रिय मुद्दाहरूमा विचार मिल्ने समूहसँग कार्यगत एकता गर्नुपर्छ । नेताले उम्मेद्वार चुन्ने, ठेकेदारी प्रथा अन्त्य गर्न जनस्तरबाट आफ्नै नेतालाई पार्टीभित्र नै अभियोग लगाएर गलहत्याउन मिल्ने वैधानिक व्यवस्था मिलाउने काम जरूरी भएको छ।

एकपटक परीक्षित नेतृत्वले अनिवार्य अवकाश लिने नैतिकताको सिद्धान्त विधानमा नै लेख्ने र कार्यान्वयनमा पहल गर्ने जस्ता काम गर्न ढिला भैसकेको छ। यही ढिलाइ र गडबडीको पृष्ठभूमिमा नयाँ दलका लागि जमीन खाली भएको हो। पुराना पार्टीमा भएका करिब ५-७ जना परीक्षित मुख्य नेताहरूले मात्र इमानदार भएर राजनीतिबाट अवकाश लिइदिने हो भने वैकल्पिक राजनीतिको लागि मार्गप्रशस्त भइहाल्नेछ।

रवि लामिछानेलाई खिसिटिउरी गर्ने र गरिखाँदैन भनेर हलुका टिप्पणी गर्ने रमिते जमात पनि देखापरेको छ। यो जमातलाई इतिहासले चिन्दैन। यो जमात सदैव रमिता हेर्ने र परिवर्तनमा योगदान गर्न नसक्ने बेथितिलाई स्वीकार गरेर राम्रा मानिसलाई निरुत्साहित गर्ने हो।

हिजो २००७ सालमा कांग्रेसले निरंकुश राणा शासन विरुद्ध क्रान्ति गर्दा मानिस हाँसेकै हुन्। २०४६ मा पञ्चायत विरुद्ध प्रजातन्त्रको आन्दोलनमा पनि हाँसेका हुन्। माओवादीले २०५२ मा विद्रोह सुरु गर्दा पनि हाँसेकै हुन्। हुँदा-हुँदा बालेनले स्वतन्त्र उम्मेदवारी दिंदा पनि मानिस हाँसेका हुन्। हर्क साङ्पाङलाई त मिडियाले पनि बाल नदिएका हुन्।

परिवर्तनका लागि स्पष्ट अठोट, सही नियत, सही मुद्दा र इमानदार प्रयास भए सफल भइने उदाहरण हेर्न भारतको आप र केजरीवाल नै काफी छन्। एउटा जनताको नोकर नामको कमेडी सो भाइरल भएर त्यसै नाममा पार्टी खोलेर राष्ट्रपति बनेका युक्रेनका राष्ट्रपतिको केस अध्ययन गरिरहन पनि पर्दैन।

फोहोर र चुनौतीपूर्ण बाटो हिंड्ने साहस र समर्पण आफैंमा त्याग हो। सबैका कुरा सुनेर उचित निर्णय गर्ने पहल नै नेतृत्व हो। फेल भइसकेका र सञ्जालको हावासँग बहेर मिठो सजिलो निर्णय लिने व्यक्ति लेड हो, लिडर हैन। यस घडीमा तपाईंले गरेको निर्णय ठिक छ।

सुधार्नुपर्ने केही सवाल

रविजीले दल घोषणा गर्न ५-७ दिन समय लिए। उनी अमेरिकादेखि विश्वका दलहरू र आधुनिक संचार र व्यवस्थाबारे जानकार छन्। यसर्थ कम्तिमा दल घोषणा गर्नुअघि एक महिना आम नागरिकसँग छलफल र संवाद गर्नुपर्ने थियो। त्यस्तो दलमा नागरिकको पनि स्वामित्व हुनसक्छ।

लोगो, चिन्ह पनि कार्यकर्ताहरूको सहभागितामा गरेको भए उत्तम हुनेथियो। जान्नेलाई छान्ने भन्ने नारा भन्दा उत्तम खोज्न सकिन्थ्यो। वेबसाइटमा सदस्यता फारम छ तर डाटा प्रोटेक्शन, प्राइभेसीबारे खुलाएको छैन।

उनले अरूका कुरा सुनेका प्रमाण देखिएन। कुनै एक व्यक्तिको नियतप्रति पंक्तिकारको आशंका छैन। यद्यपि उनमा चरम व्यक्तिवादी र महत्वाकांक्षी घोडा सवार भएको आशंका गर्ने ठाउँ एकरत्ति पनि देखिनु भएन।

फ़ेसबुकको लाइकलाई भोटमा परिवर्तन गर्ने, संचारकर्मबाट गरेको समाजसेवाबाट जनमत असुल गरेर महत्वाकांक्षा पूरा गर्ने ध्याउन्न जस्ता आरोपलाई मिथ्या प्रमाणित गर्न व्यावहारिक पारदर्शिता देखिनु जरुरी छ। मन परे आउँछ नपरे जान्छ भन्ने भ्रम राख्नुहुँदैन।

मिडियामा आएर बोल्ने र सूचना दिने क्रममा अध्ययन र तयारी गरेर दिनुपर्ने देखिएको छ। चन्दा र परिवारका सदस्यलाई निषेध गरेका कुरा व्यावहारिक देखिएन। योगदानका आधारमा स्थान लिने, स्वतन्त्र र इमानदार व्यापारीको चन्दा चाहिन्छ नै। यो सन्दर्भ पनि त्यति पारदर्शी देखिएको छैन।

एउटा राजनीति गर्ने पार्टीले आफ्नो केन्द्रीय समिति गोप्य राख्न खोज्नु कति जायज हो ? उक्त दलबाट अरु पारदर्शिता कसरी खोज्ने ? कतै नियतमा एकलौटी नेतृत्व गर्ने अलोकतान्त्रिक सोच त अन्तरनिहित छैन। यही काम अरुले गरेको भए ‘सिधा कुरा जनतासँग’मा रविजीले कति केरकार गरिसक्नुहुन्थ्यो होला ?

स्वतन्त्र तप्कासँग संवाद बढोस्

मतदातासँग प्रत्यक्ष संवाद गरेर देश दौडाहामा जानुपर्छ। खोजेको पार्टी र पद्धतिबारे सोध्नुपर्छ। यसले सबैलाई अपनत्व दिनेछ। टीभीमा कुरा सुनाउने हो यहाँ जनताका कुरा धेरै सुन्ने हो। रविसँग सिधा संवाद भनेर प्रत्येक साता जनतासँग सहज लाइभमा उपलब्ध हुँदा नागरिकसँग संवाद बाक्लो हुनसक्छ।

एकपटकभन्दा नेतृत्वमा बस्दिनँ भनेर नीति बनाउनुपर्छ। दुई वर्षसम्म सबै अभियन्ता बनेर ६-६ महिनामा संयोजक परिवर्तन गर्दै नेतृत्व विकासको अभ्यास गर्नुपर्छ। यो नै लोकतान्त्रिक पद्धति मार्फत नेतृत्व चुन्ने विधि हो। लोकतान्त्रिक अभ्यास हो।

अन्त्यमा यो दलले पदहरूको पोस्टपेड, प्रिपेड बेचबिखनको जालोसँगै पार्टी र सत्ता कब्जा गरेर निरंकुश बन्दै गइरहेका नाम मात्रका लोकतान्त्रिक दलहरूलाई चुनौती दिनसक्नुपर्छ। तिनले सिर्जना गरेका तीनपुस्ते सिन्डिकेट, अदालत, अख्तियारका सेटिंग भत्काएर लिकमा ल्याउन मात्र सफल भए पनि ठूलो उपलब्धि हुनेछ।

पार्टी न धर्म हो, न जात ! यो एक साधन न हो। साध्य महत्वपूर्ण हो ! दलको मुख्य साध्य भनेको जनताका समस्याको समाधान हुनुपर्छ। यसका लागि संगठित हस्तक्षेप जरूरी थियो र छ। यो कुरा जनतालाई बुझाएर राम्रा व्यक्तिलाई छानेर मतदान गर्ने राजनीतिक चेतना मात्र फैलाउन सफल भए पनि ठूलो परिवर्तन आउने छ।

राजनीति, व्यवस्था र राजनीतिक दलहरूको संख्यात्मक परिवर्तन भयो अब नीति, थिति, मूल्य, मान्यता र विधिविधानले चल्ने लोकतान्त्रिक पार्टीको सुनौलो भविष्य नेपालमा आवश्यक छ। त्यसको भ्रूण देखिन थालेका छन्। पुरानालाई भद्दा र भ्रष्ट संरचना परिवर्तन गर्न अझै दुईदशक लाग्ने छाँट देखिन्छ। तसर्थ नयाँ दलहरूलाई सहज छ। तर प्रतिबद्धता कमजोर नहोस्।

(बेलायतमा प्राध्यापनरत डा. कार्की रेमिट्यान्स र वित्तीय समावेशिता सम्बन्धी अनुसन्धाता पनि हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?