+
+

नेपाली जनमानसलाई खुलापत्र

सञ्जय गजुरेल, (पीएचडी) सञ्जय गजुरेल, (पीएचडी)
२०७९ असार १३ गते १३:०३

जीवनमा उन्नति गर्नु निकै जरुरी मानिएको पाइन्छ तर सही निर्देशनको अभावमा भ्रमित सोच लिएर हामी उन्नति गर्छौं भनी अगाडि बढिरहेका छौं जस्तो देखिन्छ।

उन्नतिका धेरै आयाम मध्ये दीर्घायु, स्वस्थ जीवन, ज्ञान (शिक्षा) र शालीन जीवनस्तरलाई मानव विकास सूचकांक (एचडीआई) ले मानव विकास (उन्नति) का मुख्य आयाम मानेको छ। अमेरिका  जस्ता विकसित देशहरुले आर्थिक उन्नतिको ढोल फुक्दा कागले कान लग्यो भन्दै हामी सबै त्यसकै पछि परेका छौं।

आर्थिक उन्नति अर्थात्  जीडीपी वृद्धिको होडले जनमानसको  स्वस्थ लगायत विभिन्न पक्षहरुमा ठूलो आघात पुर्‍याएको छ। जीडीपी वृद्धिलाई धेरै महत्व दिंदा प्रशोधित र अम्मलित खाना र सामग्रीको खुलेआम व्यापार भएको पनि पाइन्छ जसले निम्त्याएको  शारीरिक र मानसिक असरहरुलाई औषधिमुलो गरेर चिकित्सालाई पनि व्यापारीकरण गरिएको देखिन्छ।

राम्रो शिक्षा हासिल गरे भविष्य राम्रो हुन्छ भनी हाम्रो हजुरबुवा र हजुरमुवाले पनि आफ्नो छोराछोरीलाई पहाडबाट काठमाडौं पढ्न पठाउनुभयो। त्यही कुरा ममा पनि लागु भयो र उन्नतिको क्रममा म अमेरिका आएँ। के साँच्चै हजुरबुवा र हजुरमुवाको जीवन भन्दा मेरो जीवन उन्नत छ त ?

यो एउटा गहन विषय हो किनभने सतही रूपमा हेर्दा उहाँहरुको तुलनामा मैले निकै उन्नति गरेको देखिन्छ। तर के म उहाँहरु जस्तै तनाव मुक्त, स्वस्थ र खुशी छु ? मैले उच्च शिक्षा हासिल गरेको छु, देशविदेश बुझेको छु, र म आधुनिक प्रविधिहरुसँग परिचित पनि छु। रङ हेरेर पैसा चिनेर घर चलाउनुपर्ने हजुरमुवाको जस्तो अवस्था मेरो छैन पनि।

प्रविधिको विकास र यसको प्रयोगलाई हामीले ठूलो उन्नति मान्छौं। तर प्रकृतिसँग आवद्ध हाम्रो दिनचर्या अर्थात् सर्केडियन ताल आधुनिक प्रविधिहरुले थिचोमिचोमा परेको छ। उदाहरणको लागि बत्तीको आविष्कारले हाम्रो सुत्नुपर्ने समयलाई लम्ब्याएको छ र निद्राको अभावले हाम्रो स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ।

सर्वसम्पन्न मानिएको अमेरिकामा भौतिकवादले जनमानसमा ल्याएको शारीरिक र मानसिक समस्या हेर्दा हामीले आर्थिक सफलतालाई मात्र उन्नतिको मापदण्ड मानेको पाए जुन अहिले मनन गर्दा म दिगो देख्दिनँ।

हजुरबुवा र हजुरमुवाको परम्परागत सर्केडियन तालको दिनचर्या प्रकृतिमैत्री मात्र थिएन त्यसमा प्रशोधित खाना मुश्किलले हुन्थ्यो। प्रायः आफ्नै बारीमा उब्जेको ताजा खाद्यान्न उपभोग हुने गर्थ्यो । फलस्वरुप उहाँहरु आफ्नो लामो जीवनकालमा एकपटक पनि अस्पताल नगई स्वस्थ जीवन बिताउन सफल हुनुभयो। सानोतिनो बिमारीका लागि साधारण परम्परागत घरेलु तथा प्राकृतिक उपचार लिनुहुन्थ्यो। अर्कोतर्फ  भौतिकवादी उन्नति अँगाल्ने क्रममा मैले धेरै पटक सर्केडियन तालको उल्लंघन गरिसकेको  छु जसको कारण अधिकांश पश्चिमाकृत विश्ववासी जस्तै म इन्सुलिन प्रतिरोधको शिकार पनि भैसकेको छु।

२०१८ को नेशनल हेल्थ इन्फर्मेसन सिस्टमको तथ्यांक अनुसार ५१.८% वयस्क अमेरिकीहरु  एउटा र २७.२%  एक भन्दा बढी क्रोनिक रोगहरुबाट ग्रसित छन् भने उपचारको सहायताले कम गुणस्तर जीवन बिताइरहेका छन्। अफसोच: पैसाको प्रलोभनको जालो यसरी फिंजाइएको छ कि त्यसबाट उम्केर स्वस्थकर जीवन बिताउन हम्मे हम्मे नै पर्छ। त्यसमाथि आधुनिक प्रणाली र दिनचर्या पनि सबै त्यसकै आधारमा चलिरहेका छन्।

बेलाबेलामा गहिरिएर सोच्दा तलबी  दासत्वको जीवन त बाँचिएको छैन  भन्ने प्रश्न पनि आउँछ।  प्रायः ९ देखि ५ को कार्यालयको कामहरुले कामदारहरुलाई प्रकृतिसँग झन् झन् टाढा धकेलिरहेका छन् जसले गर्दा सर्केडियन ताल गडबडिएको छ। अझ पुँजीवादी बजारमा पैसाको लागि चलेको इलेक्ट्रोनिक ग्याजेटहरूको प्रतिस्पर्धा र २४ सै घण्टा उपलब्ध स्क्रिन समय र प्रशोधित खानाको लतले त्यो चाँडै लथालिङ्ग हुने स्थितिमा छ।

भौतिक सुविधा उपभोग गरी  जीवन सहज बनाएपछि  खुसी हुन सकिन्छ भनी हामी  भौतिकवादको पछि दौडिरहेका छौं तर भौतिक सम्पन्नता मृगतृष्णा बनेको छ र यसले तात्कालिक सहजता र सन्तुष्टि दिए पनि लामो समयान्तरमा शारीरिक र मानसिक समस्या निम्त्याएर उल्टै जीवन दुखी बनाउँदै गएको पाइन्छ।

वास्तवमा भन्ने हो भने स्वस्थ र खुसी हुनको लागि भौतिकवादको पछि लाग्नुको सट्टा प्रकृतिमैत्री जीवन अवलम्बन गर्न जरुरी हुन्छ। अफसोच सुविधाजनक सोफामा बसेर टेलिभिजन हेर्ने अनि भिटामिन डी को कमी पूर्ति गर्न सप्लिमेन्ट खाने जस्तो अस्वस्थ प्रणालीमा हामी बाँधिएका छौं।

आज देखिएको उथलपुथल र कहालीलाग्दो असमानतालाई नियाल्ने हो भने भौतिकवाद भन्दा प्रकृतिमैत्री आध्यात्मिक विकासले दिगो र जगत कल्याणकारी प्रणालीको स्थापना गर्न सक्छ। त्यसैले सिर्जना भइसकेका भौतिक पूर्वाधारहरुलाई पनि प्रकृतिमैत्री बनाउनेतर्फ जोड गर्न आवश्यक छ।

नेपालीको परम्परागत सभ्यता पनि प्रकृतिमैत्री छ। त्यसैले भौतिकवादको अनुकरण गर्नु भन्दा यसलाई निरन्तरता दिन सके मेरो हजुरबुवा र हजुरमुवा जस्तै स्वस्थ र खुशी रहन सकिन्छ। अहिले द्रुत गतिमा क्रोनिक शारीरिक र मानसिक रोगहरुलाई नियन्त्रणको लागि योग र ध्यानकेन्द्रित अभ्यासहरु एलोप्याथी उपचारमा एकीकृत/वैकल्पिक उपचारको रुपमा समावेश गरिएको पाइन्छ।

त्यसैले हजारौं वर्ष समय परीक्षण गरिएका सनातन (परम्परागत) अभ्यासहरु हाल अनुसन्धानबाट प्रमाणित नभए पनि अनुभवजन्य हिसाबले आफ्नो दिनचर्यामा विवेकपूर्ण रूपमा अवलम्बन गर्न सकिन्छ। मात्र सयौं वर्षदेखि सुरु भएको वैज्ञानिक अनुसन्धानलाई कुर्दा ढिलो भइसकेको हुनेछ। फेरि अनुसन्धानमा पैसाको प्रभाव निकै बलियो भएको कारण सत्यता बटारिएको पनि पाइन्छ।

भौतिकवादले ल्याएको अहिले विद्यमान मानव समस्याहरुको मनन गर्दा नेपालीको आध्यात्मिक सभ्यताका अभ्यासहरुलाई विज्ञानमा आधारित छैन भन्दै बहिष्कृत गर्न नसकिने अवस्था छ। आउँदा दिनहरुमा चाँडो भन्दा चाँडो अरु परम्परागत अभ्यासहरुको वैज्ञानिक अनुसन्धान हुनेछ भन्ने आशा छ।

विभिन्न तरिकाले व्याख्या गरिएका परम्पराको यथार्थ विश्लेषण हुनु पनि जरुरी देखिन्छ जसले यसप्रतिको नकारात्मक धारणाको निर्मूल हुनसक्छ र यसतर्फ जनमानसमा चासो देखिन सक्छ।

मेरो विचारमा आफ्नो आयु अनुरुप दैनिक क्रियाकलाप गर्न सक्नु र स्वस्थ जीवन बिताउन सक्नु नै उन्नति हो। सुन्दा सजिलो जस्तो लागे पनि त्यसको अभ्यास हामी अधिकांशले गर्न सकेका छैनौं। भौतिकवादले त यसलाई अझ मुस्किल बनाएको छ।

वास्तवमा शारीरिक र मानसिक रुपमा स्वस्थ रहन सके जीवनमा स्वत: सफलता मिल्दै जान्छ।  हामीमा निहित अहंकारलाई हटाई परोपकारितालाई पार गरेर “म” र “अरु” को चेतनालाई विलीन गर्न सक्नु उन्नतिको गन्तव्यमा पुग्नु हो।

अमेरिकाको केश वेष्टर्न रिजर्भ विश्वविद्यालयबाट पीएचडी लेखक हाल सोही विश्वविद्यालयमा कम्प्युटेसनल वैज्ञानिक र सहायक प्राध्यापकको रुपमा कार्यरत छन्।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?