+
+

आर्मीमा भर्ती हुने तयारीमा दौडिँदा खेलाडी बनेका मुकेशको एसियाड लक्ष्य

कुशल तिमल्सिना कुशल तिमल्सिना
२०७९ असार १५ गते १०:०६

१५ असार, काठमाडौं । अमरबहादुर पाल नेपाली सेनाका सुबेदार हुन् । पिताको फौजी विरासत धान्न उनका छोरा मुकेश १२ कक्षा उत्तीर्ण गरेलगत्तै नेपाली सेनामा भर्ती भए ।

तर, उनको क्षमताले त अर्कै क्षेत्र खोजिरहेको थियो । नेपालका फौजी संगठनले पनि खेलकुद टिम बनाउने गरेकाले मुकेशले आफ्नो क्षमताको क्षेत्र सेना भित्रै भेटे ।

४४औं राष्ट्रिय एथलेटिक्समा १५ सय मिटर दौडतर्फ गत शुक्रबार स्वर्ण जितेका मुकेश अमरबहादुरका माहिला छोरा हुन् । सन्तानले फौजी संगठन रोजेकोमा सन्तुष्ट अमरबहादुर आइतबार छोराले पदक लिने समारोहमा दशरथ रंगशालामा उपस्थित थिए ।

‘मैले छोराको खेल हेरेको यो नै पहिलोपल्ट हो । छोराको पहिचानबाट चिनिन पाउनु हरेक बाबुका लागि गर्वकै क्षण हो नि,’ पत्नी राजमती देवीसँगै छोराको खेल हेर्न रंगशाला पुगेका ४४ वर्षीय अमरबहादुरले अनलाइनखबरसँग खुसी साटे ।

आमा–बुवासँग मुकेश पाल

दौडमा मुकेशको मुख्य विधा ५ हजार र १० हजार मिटर दौड हो । राष्ट्रिय प्रतियोगितामा यी विधा समावेश नभएपछि उनले १५ सय मिटर र ३ हजार मिटरमा सहभागी हुने निर्णय लिए । ३ हजार मिटरतर्फ एपीएफका गोपीचन्द्र पार्कीसँग मिलिसेकेण्डले पछि रहँदै रजतमा सीमित भए । १५ सय मिटरमा उनले एसियन युथ एथलेटिक्सका स्वर्ण विजेता अजितकुमार यादवलाई पछि छोडेका थिए ।

आफ्नो लयप्रति सन्तुष्ट मुकेश भन्छन्, ‘म एक हिसाबले नयाँ खेलाडी हुँ । राष्ट्रियस्तरको प्रतियोगिता मेरो यो पहिलो हो । पहिलो प्रतियोगितामा १५ सय मिटरतर्फ मैले राम्रै टाइमिङमा स्वर्ण जितें । गुरुहरुले राम्रो गरिस् भन्नुभयो । ३ हजार मिटरमा पनि गोपी दाइलाई टक्कर दिन सकें । पल्स टाइमले हारेको हुँ ।’

राष्ट्रिय च्याम्पियनसिपभन्दा पहिला अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउने सीमित भाग्यमानी खेलाडीमा पर्छन्– मुकेश । उनले गत फागुनमा भारतको नागाल्याण्डमा आयोजित साफ क्रसकन्ट्री च्याम्पियनसिपमा १० किलोमिटरमा कांस्य पदक जितेका थिए । गत मंसिरमा नेपालगञ्ज म्याराथनको १० किलोमिटर विधामा उपाधि जितेपछि उनी साफका लागि छानिएका थिए ।

घरेलु एथलेटिक्समा लामो दूरीको स्पर्धा सबैभन्दा धेरै आयोजना हुने गरेको छ । म्याराथन र हाफ म्याराथनसहित १० किलोमिटर, ५ किलोमिटरको स्पर्धा वर्षमै दर्जनको संख्यामा आयोजना हुन्छन् । तीन वर्षअघि १३औं दक्षिण एसियाली खेलकुदमा म्याराथन, १० हजार मिटर र ५ हजार मिटर विधामा ठूलो सफलता हात पार्नुको पछाडि त्यही एक्स्पोजरले भूमिका खेलेको थियो ।

लामो समयदेखि गोपीचन्द्र पार्की, हरिकुमार रिमालहरुले धानेको विरासतमा आफूलाई अब्बल बनाउने तयारीसहित होमिएका मुकेशको सुरुवात उत्कृष्ट छ । २२ वर्षको उमेरमै उनी गोपीलाई टक्कर दिनसक्ने भइसकेका छन् । आसन्न एसियाली खेलकुदका लागि एथलेटिक्सको बन्द प्रशिक्षणमा परेका छन् उनी ।

एसियाडको छनोट प्रतियोगितामा उनले १० हजार मिटरको ट्रयाक दूरी आर्मीकै दीपक अधिकारीसँगै ३० मिनेट ३७ सेकेण्डमा पूरा गरे । प्रतिस्पर्धामा रहेका गोपीले एक सेकेण्ड छिटो दौड पूरा गरे । उनको टाइमिङ तीन वर्षअघि सागमा कांस्य जितेका दीपकको भन्दा १३ सेकेण्ड छिटो हो । यसअर्थमा उनी आगामी दक्षिण एसियाली खेलकुदमा आफ्नो विधामा स्वर्ण दावेदार हुनेछन् ।

‘अहिले हामी एसियाडको प्रारम्भिक तयारीमा छौं । मैले खेल्न पाउने निश्चित भइसकेको छैन । एसियाली स्तरमा पदक जित्न सहज छैन । तर, प्रयास गर्यो भने असम्भव पनि छैन जस्तो लाग्छ,’ आत्मविश्वासी मुकेश भन्छन्, ‘यसपालि नै मैले खेल्न पाएँ भने पदकको लागि प्रयास गर्नेछु, राष्ट्रिय कीर्तिमान सुधार गर्नेछु ।’

भारतीय एथलेटिक्स सफलताको उदाहरण दिँदै मुकेशले एसियाली खेलकुद र त्योभन्दा ठूला प्रतियोगितामा पदक जित्ने लक्ष्य पूरा गर्न नियमित र स्तरीय तयारी हुनुपर्ने बताए । ‘त्यो सफलताका लागि दीर्घकालीन योजना हुनु अनिवार्य हुनेछ,’ उनले भने ।

‘आर्मीमा भर्ती हुने तयारीले खेलाडी बनायो’

स्कुले समयमा मुकेशको लक्ष्य खेलाडी बन्ने थिएन । दौड त उनको मनपर्ने खेल पनि होइन । महेन्द्रनगरमा प्लस टू पढ्दै गर्दा उनले कराँते सिक्न थालेका थिए । उनको फिजिकल फिटनेसमा कराँतेले पनि ठूलो सहयोग गर्याे । कराँतेमा हुने ब्ल्याकबेल्ट प्राप्तसमेत हुन् । २०७३ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि परिवारको चाहनाअनुसार सेनामा भर्तीको तयारी सुरु गरेपछि हो मुकेशले दौडिन थालेको ।

‘दौड, पुसअप, सेटअपको तयारी गरिरहेको थिएँ । हाम्रो गाउँ (महेन्द्रनगर)मा एउटा दौड प्रतियोगिता भएको थियो । २÷३ किलोमिटर कति थियो, बिर्सिएँ । त्यो दौडमा म दोस्रो भएँ । २ हजार रुपैयाँ पुरस्कार पाएँ,’ मुकेश स्मरण गर्छन्, ‘दौडिएर पैसा पनि पाइँदो रहेछ भन्ने त्यतिबेला थाहा पाएँ ।’

आर्मीको सिपाहीमा छानिएपछि तालिममा पुगे । त्यतिबेलासम्म उनले व्यावसायिक धावकको छवि देखाइसकेका थिए ।

तालिमका हरेक दौड स्पर्धामा पहिलो हुन्थे । ब्याचमेट र गुरुहरुले दौडलाई निरन्तरता दिन सुझाए । उनले त्यसै गरे । मुकेश भन्छन्, ‘तालिम सकेर पल्टन गएपछि पनि दौडमै केन्द्रित हुन थालें । बिहान ड्युटी हुँदा बेलुका र बेलुका ड्युटी हुँदा बिहान दौडिने गर्थें । दौडिन चाहिँ कहिल्यै छाडिनँ । विस्तारै त्रिभुवन आर्मी क्लबमा प्रवेश पाउने मेरो उद्देश्य बन्न थाल्यो ।’

त्रिभुवन आर्मी क्लबमा प्रवेशको सपना तीन वर्षपछि पूरा भयो । २०७७ साल मंसिरमा नेपालगञ्ज म्याराथनमा देवीदल गणको प्रतिनिधित्व गरेर सहभागी भएका मुकेश छैटौं भए । उनले २ घण्टा ४७ मिनेटमा म्याराथन दूरी पूरा गरेका थिए ।

उनको क्षमताले सार्वजनिक पहिचान पायो । एथलेटिक्सका दिग्गजहरुले उनको सोधिखोजी गर्न थाले । ‘त्यतिबेला मलाई आर्मीकै सरहरुले बोलाएर कुन पल्टनबाट आएको, कता ट्रेनिङ गरेको भनेर जिज्ञासा राख्नुभएको थियो,’ मुकेशले भने, ‘उहाँहरुले नै मलाई त्रिभुवन आर्मी क्लबका लागि सिफारिस गरिदिनुभयो । त्यसपछि क्लबमा आएर नियमित र व्यवस्थित प्रशिक्षण गर्न थालें ।’

त्रिभुवन आर्मी क्लबमा ५ हजार र १० हजार मिटर च्याम्पियन ओलम्पियन हरिकुमार रिमाल करिअरको उत्तरार्द्धतिर छन् । उनको स्थान लिने खेलाडीको खोजी भइरहेका बेला आर्मीले एक क्षमतावान धावकको रुपमा मुकेशलाई पाएको छ । ट्र्याकमा मुकेशको शैली विजेताकै जस्तो हुन्छ । किनभने उनी हार्न रुचाउँदैनन् ।

अहिलेसम्म स्वास्थ्यले साथ दिएको छ । ‘हाम्रो इभेन्टमा धेरै प्रतियोगिताहरु आयोजना हुन्छन् । मैले चाहिँ रिकभरी समय राखेर प्रतियोगिता छनोट गर्दै सहभागी हुने सोचेको छु,’ उनले सुनाए ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
कुशल तिमल्सिना

तिमल्सिना अनलाइनखबरका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?