+
+

निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्नुपर्ने भयो : मन्त्री यादव

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १०:२०

१५ असार, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले रासायनिक मल अभाव हुनुमा ठेकदार दोषी रहेको बताएका छन् । मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएको बताए ।

१९ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा खुमलटारस्थित राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रको फार्ममा आज बिहान आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् ।

अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि हुनु र ठेक्का पाएका ठेकदारको बेवास्ताका कारण मल ल्याउन नसकिएको मन्त्री यादवले बताए । मन्त्री यादवले लागेको ठेक्काबाट पनि मल नआएको बताए । भारतले लामो समयपछि मंगलबार १५ हजार मेट्रिकटन रासायनिक यूरिया मल दिने भनेको पनि मन्त्री यादवले जानकारी दिए ।

अहिले कृषकलाई यूरिया मल अभाव भएको बताउँदै उनले डिएपी भने पुग्ने र आउने क्रममा रहेको मन्त्री यादवले बताए । मलको ठेक्का प्रणाली राम्रो नभएको भन्दै मन्त्री यादवले पेट्रोलियम पदार्थ आयात गरेजस्तै मल आयात गर्नुपर्ने बताए । उनले निजी क्षेत्रलाई मल ल्याउन दिने कि नदिने भनेर सोच्ने बेला भएकोसमेत बताए ।

कार्यक्रममा बाेल्दै राष्ट्रिय याेजना आयाेगका सदस्य दिलबहादुर गुरुङले कृषि उपज बढाउन
सिंचाइकाे उपलब्धता र किसानलाई आवश्यक मल, बिउ र यन्त्रीकरण सहज उपलब्ध हुने पर्नेमा जोड दिए । मुलुकमा खेतीयोग्य जमिनमा वास्तविकतामा ३० प्रतिशत मात्रै सिंचाइ पुगेको गुरुङले बताए । सिंचाइका आयाेजना निर्माणमा हुने ढिलाइ हटाउनुपर्ने भन्दै उनले सम्भावित खाद्य संकटको अवस्थाबाट सचेत हुनुपर्ने धारणा राखे ।

किसानले समयमा मल नपाउँदा सरकारले लिएको कृषि उत्पादनकाे लक्ष्य पूरा नहुने किसान आयाेगका अध्यक्ष प्रेमप्रसाद दंगालले बताए । जसरी पनि किसानलाई मल उपलब्ध गराउन उनले सरकारसँग माग गरे ।

कार्यक्रममा बाेल्दै कृषि सचिव डा. गाेविन्द शर्माले घट्दाे धान खेती चिन्ताको विषय भएको बताए । पहाडमा खेती छाड्ने, तराईमा खण्डीकरण बढ्ने र चामलको उपभोग गर्नेको संख्या बढ्ने अवस्था गम्भीर भएको भन्दै उनले कम क्षेत्रफल र सानाे जनशक्तिबाट धेरै धान फल्ने उपायबारे काम गर्नुपर्नेमा जाेड दिए । धेरै प्रयास गर्दा पनि मल अभाव टार्न नसकेको भन्दै सचिव शर्माले भारतबाट जीटूजीकाे सानाे परिमाणकाे मल छिट्टै आउने आश्वासन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?