+
+
दिलमाया मृत्यु प्रकरण :

दिलमायाले फेसबुक चलाउने मोबाइल खोज्दै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १५ गते १८:४९

१५ असार, काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारको फेसबुक एकाउन्टमा शनिबार राति १ः१० बजे ‘कसैको माया पाउन जति कोसिस गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिनदिनै मर्न सकिन आमा’ भन्दै स्ट्याटस पोष्ट भयो ।

सोही दिन ११ बजेतिर कोठामा घोप्टो परिरहेको अवस्थामा उनको शव भेटियो । तर घरमा मोबाइल चाहिँ भेटिएन । प्रहरीले मंगलबार पनि घटनास्थलमा गएर फेरि खानतलासी लियो, यद्यपि मोबाइल भेटिएन ।

राति सँगै बसेका प्रेमी सूर्य श्रेष्ठले झुण्डिरहेको अवस्थामा देखेपछि सल निकालेर तल झारेको बताएका छन् । साथै, आत्तिएका कारण सल लिएर महाराजगञ्जको झाडीमा फ्याँकेको बयान दिएका छन् । सोही बयानको आधारमा सल पनि बरामद भएको छ ।

त्रिवि शिक्षण अस्पताल, महराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचले सुनारको मृत्यु ‘ह्याङ्गिङ’कै कारण भएको देखाएको छ । तर श्रेष्ठविरुद्ध चाहिँ प्रहरीले कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि अदालतबाट ५ दिन म्याद लिएको छ । काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनाली भन्छन्, ‘परिवारले दिएको जाहेरी लिन्न भन्न मिल्दैन, अनुसन्धानबाट जे देखिन्छ, त्यही अनुसारको प्रतिवेदन लैजान्छौं ।’

मोबाइल नभेटिनुले घटनालाई रहस्यमय बनाएको छ नै, दिलमायाका प्रेमी श्रेष्ठ माथि शंका पनि बढाएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार श्रेष्ठले सुरुमा दिएको झुटो बयान र स्ट्याटस लेखेको भनिएको मोबाइल नभेटिनुले उनीमाथि शंका बढेको थियो । ‘यदि उनले पहिल्यै झुठो बयान दिएका थिएनन् र मोबाइल पनि भेटिएको थिएन भने आत्महत्या दुरुत्साहनमा जाहेरी दिन प्रहरीले परिवारलाई कन्भिन्स गर्थ्यो,’ एक अनुसन्धान अधिकृत भन्छन् ।

बिहान साढे ५ बजेतिर बन्द भएको थियो मोबाइल

उनले राति १ः१० मा स्ट्याटस पोष्ट गर्दा मोबाइलको लोकेसन नेपालटार नै देखिएको छ । तर ओप्पो कम्पनीको उनको मोबाइल कोठामा बरामद भएन ।

प्रेमी श्रेष्ठ आफूले सल मात्रै बाहिर लगेको बताउँछन्, मोबाइलबारे खुलाएका छैनन् । मोबाइल भेटिएको भए फेसबुक, इमो, भाइबर, ह्वाट्सएप जस्ता एप्लिकेसनमार्फत भएका कुराकानी निकाल्न प्रहरीलाई सहज हुन्थ्यो ।

तर मोबाइल नभेटिनुले घटनालाई रहस्यमय बनाएको छ नै, श्रेष्ठ माथि शंका पनि बढाएको छ । स्रोतका अनुसार राति १२ः१० मा श्रेष्ठले औषधि किन्न बाहिर गएको बताएका छन् । त्यहीँबाट फर्किंदा उनले बाटोमा कतै मोबाइल फ्यालिन् कि भन्ने आशंका छ ।

घटना भएको कोठा सडकको छेउमा छ । त्यसैले स्ट्याटस लेखेर सुनारले नै मोबाइल झ्यालबाट फ्याँकिन् कि भन्ने आशंका पनि छ । यद्यपि, तल पनि प्रहरीले खोजी गरिसकेको छ । तल झरेको मोबाइल कसैले लग्यो कि भन्ने अनुमान पनि छ, तर हालसम्म फोन अफ छ ।

स्रोतका अनुसार शनिबार बिहान ५ः३७ बजे फोन बन्द भएको थियो । प्रेमी श्रेष्ठ ४ बजेतिर घटनास्थलबाट निस्किएका थिए । प्रहरीले उनीमाथि पनि आशंका गरेर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?